ad

ओशोले भने– राजाले चाहे मलाई नेपालमा बस्न आपत्ति छैन

SHARES
Nepal Live


ओशोले मलाई नेपाल आउने पहिलो मिति दिनुभएको थियो, सन् १९७० मा। म त्यतिबेला विहारको पटना विश्वविद्यालयमा इञ्जिनियरिङ पढ्दै थिएँ। मैले उहाँलाई नेपाल आउन आमन्त्रण गरेको थिएँ। उहाँले पनि मार्च १९ देखि २२ सम्म ३ दिनका लागि नेपाल आउने आश्वासन दिनुभएको थियो। 

ओशोले भर्खरै आफ्नो अध्यापन कार्यबाट विश्राम लिनुभएको थियो। जबलपुरमा बस्नुहुन्थ्यो र प्रसिद्ध भइसक्नुभएको थिएन। उहाँको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन। म पनि विद्यार्थी थिएँ, परिवारको खर्चबाट चल्दै थिएँ। 

उहाँको सचिव अरविन्द कुमारले मलाई चिठी लेखेर गुरुको भ्रमणका लागि जबलपुरबाट बनारससम्म रेलको पहिलो श्रेणीको टिकट र बनारसबाट काठमाडौं आउन प्लेनको टिकट उपलब्ध गराउन आग्रह गर्नुभएको थियो। ओशोलाई त्यतिबेला भारतबाट काठमाडौं ल्याउन करिब ५–६ हजार खर्च लाग्ने भयो। 

विद्यार्थी भएको हुनाले मसँग त्यति ठूलो रकम थिएन। मेरो बुवा–आमासँग पैसा त थियो। तर, संन्यासतर्फको मेरो झुकाव उहाँहरूलाई सुरुदेखि नै फिटिक्कै मन परेको थिएन। छोरा पढाइ छाडेर जोगी बन्ला भन्ने डर भईभई त्यस्तो कुरामा पैसा दिने कुरै थिएन। 

१९७० मा ओशोलाई नेपाल भित्र्याउने मेरो सपना त्यत्तिकै तुहियो। यो घटनाले मलाई आफैंप्रति लज्जाबोध र ग्लानि हुन्थ्यो।  

***

पछि मैले इञ्जिनियरिङको पढाइ पूरा गरेँ। काठमाडौंमा केही समय काम गर्ने क्रममा मेरो पनि आर्थिक हैसियत चुलियो। मैले फेरि ओशोलाई नेपाल आउन आग्रह गरेँ। म बारम्बार उहाँलाई भेटेर नेपाल आउने निमन्त्रणा दिइरहन्थेँ।

ओशोको जीवनकथा निकै रोचक छ। उहाँ ‘इन्लाइटमेन्ट’ हुनुभयो, १९५३ मा। यसपछि उहाँले १९७० सम्म यति धेरै यात्रा गर्नुभयो, लाखौं व्यक्तिलाई प्रवचन दिनुभयो। त्यसपछि दीक्षा दिन सुरु गर्नुभयो। त्यस क्रममा हिँडडुल गर्ने कार्य ठ्याक्कै बन्द गर्नुभयो। उहाँ मुम्बई र पुना गएर ढुक्कै बस्नुभयो।

मैले यसबीचमा उहाँसँग थुप्रै अनुरोध गरेँ। तर, उहाँले भन्नुभयो– ‘मैले अहिले हिँडडुल गर्ने कार्यलाई विश्राम दिएको छु। जुन दिन सुरु गर्छु, नेपाल अवश्य आउँछु।’

उहाँले मलाई नेपाल आउने पहिलो आश्वासन १९७० मा दिनुभएको थियो। तर मौका जुर्‍यो, १९८६ को जनवरी ३ मा। त्यतिबेला नेपालमा व्यवस्थित रुपमा ओशोको कुनै आश्रम बनिसकेको थिएन। ताहाचलस्थित मेरो सानो घर नै ओशो आश्रम थियो। ओशो बाहिर निस्किँदा हजारौंको संख्यामा उहाँका अनुयायीहरूको लर्को लाग्थ्यो। त्यसैले आफ्नो घर उहाँको बसोबासका लागि निकै सानो हुने देखेपछि मैले होटल सोल्टीमा राख्ने व्यवस्था मिलाएको थिएँ।

\"\"
ओशो सोल्टी होटल परिसरमा


***

उहाँको काठमाडौं आगमनपछि काठमाडौंको रौनकै अर्को भयो। यति ठूलो संख्यामा पहिलो पल्ट विदेशी पर्यटक नेपाल भित्रिए, अहिले पनि यसको रेकर्ड छ। उहाँलाई पछ्याउँदै एक महिनाभित्र मात्र २५औं हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिए। नेपाली पर्यटन इतिहासमा यो आफैंमा एउटा अद्भूत घटना थियो। 

त्यतिबेला नेपालमा हवाई मात्र होइन, बाटोको सुविधा पनि उत्ति राम्रो थिएन्। तर पनि विदेशीहरू प्लेन चार्टर गरेर समेत नेपाल भित्रिए। तत्कालीन रोयल नेपाल एयरलाइन्स (आरएनएसी) को काठमाडौं–दिल्लीको उडान दिनमा एक पटक मात्र थियो। तर, ओशोलाई भेट्न आउनेहरुको चाप धान्न नसकेपछि दैनिक तीन उडान गर्नुपर्‍यो। पर्यटकको अत्यधिक चापका कारण भारतीय एयरलाइन्सले पनि दिनमा दुई पटक उडान गरेको थियो। 

काठमाडौंका सबै होटल पर्यटकले खचाखच थिए। होटल व्यवसायी मात्र होइन, ट्याक्सीवालाहरू मलाई भेटेर अनुरोध गर्थे, ‘स्वामीजी! ओशोलाई नेपालमै राख्ने व्यवस्था गर्नुपर्‍यो। बरु उहाँलाई राख्न कति खर्च लाग्छ, हामी बेहोर्छौं।’

लाग्थ्यो, काठमाडौं पहिलो पल्ट निकै चलायमान बनेको छ। उहाँ दिनमा दुई पल्ट प्रवचन दिनुहुन्थ्यो। बिहानको प्रवचनमा सीमित व्यक्ति हुन्थे, लगभग १५ जना जतिको। त्यो प्रवचन उहाँकै कक्षभित्र हुन्थ्यो।

\"\"

दिउँसो प्रवचनका लागि हामीले सोल्टी होटलमै ५ सय व्यक्ति अटाउने एउटा हल (हालको मेघा मलहार) व्यवस्था गरेका थियौं। यसका लागि दैनिक ५ हजार रुपैयाँ भाडा तिर्नुपथ्र्यो। यसको खर्च उठाउन मैले प्रतिव्यक्ति २५ रुपैयाँको दरले टिकटको व्यवस्था गरेको थिएँ। 

टिकट बिक्रीका लागि बिहान ८ बजे नै काउन्टर खुलिसक्थ्यो। रोचक कुरा, ९ बजेभित्र सबै टिकट बिक्री भइसक्थ्यो। उहाँलाई सुन्न मानिसहरू यति व्यग्र थिए, मैले पछि सुनेँ– २५ रुपैयाँको टिकट ‘ब्ल्याक’मा ५ सय रुपैयाँसम्म बिक्री भयो रे।

उहाँ ५ वर्ष अमेरिका बसेर भर्खरै भारत फर्किनुभएको थियो। त्यसैले अमेरिका र युरोपबाट नेपाल भित्रिने अनुयायीको संख्या ठूलो थियो।

***

ओशोको काठमाडौं आगमनले राजदरबारमा पनि कम्पन भयो। तत्कालीन राजा वीरेन्द्र विकासप्रेमी थिए। त्यसैले उनी ओशोलाई नेपालमा राख्ने मनस्थितिमा थिए। राजा वीरेन्द्रलाई मैले एउटा ‘प्रपोजल’ बनाएर दिएको थिएँ। त्यसमा मैले ‘ग्यारेन्टी’ गरेको थिएँ– ‘ओशो नेपाल बस्नुभयो भने लाखौं पर्यटक देश भित्र्याउने जिम्मा मेरो।’ 

राजा वीरेन्द्रको इच्छा थियो, अन्य विकास क्षेत्रको तुलनामा सुदूरपश्चिम धेरै पछाडि छ। त्यसैले त्यहाँको विकास द्रुत गतिमा होस्। उनले मलाई ओशो आश्रम सुदूरपश्चिमको कुनै ठाउँमा बनोस् भन्ने इच्छा जाहेर गरेका थिए। वीरेन्द्रको विशेष मोह सुर्खेतमा थियो। त्यसैले आश्रम पनि त्यही बनोस् भन्ने कामना थियो।  

***

ओशोको नेपाल आगमनपछि उहाँप्रति स्थानीयको बढ्दो आकर्षण र दरबारको सहयोगी भावबाट नेपालका कट्टरपन्थी हिन्दुहरू अत्तालिएका थिए। ओशोको विचारधारा विद्रोही स्वभावको छ। त्यसैले उहाँको विचार नबुझेका केही धार्मिक ठेकेदारहरूले स्थानीय पत्रपत्रिकामा लेख छपाएर विरोध सुरु गरे। केहीले ‘सेक्स गुरु’ भनेर होच्याउन खोजे। अमेरिकाबाट निर्वासित भएर फर्किनुभएकाले केहीका लागि उहाँ विरूद्ध लेख्ने मसाला पनि बन्यो। 

***

\"\"अमेरिका छाड्ने बेला ओशोलाई आफ्नो जीवनको उत्तरार्ध हिमालयको काखमा बिताउने ठूलो रहर थियो। त्यसैले उहाँ अमेरिकाबाट फर्किएपछि भारतको मनालीमा २–३ महिना बस्नु पनि भयो। त्यतिबेला म पनि उहाँसँगै थिए। तर, मनालीमा रमाउन सक्नुभएन। यसपछि उहाँले मलाई भन्नुभयो– ‘मलाई भारत, नेपाल, भुटान, सिक्किम, तिब्बतसँग कुनै सरोकार छैन। हिमालयमा बस्ने मेरो चाहना हो। तिम्रो नेपालको हिमालयमा बस्न मिल्छ भने म त्यहाँ ध्यान गरेर बस्न चाहन्छु।’

मैले यो प्रस्ताव दरबारमा राखेँ। ओशोको साहित्य र केही अडियो सुनेको हुनाले ओशोप्रति राजा वीरेन्द्रको केही झुकाव थियो। वास्तवमा दरबारकै स्वीकृतिपछि मैले ओशोलाई नेपाल भित्र्याएको हुँ। सोल्टीमा बस्नुभएको ओशोसँग राजा वीरेन्द्रको भेट गराउन मैले भरमग्दुर प्रयास गरेको थिएँ। तर, केही दरबारिया तथा कट्टरपन्थी हिन्दु जमातले वीरेन्द्रलाई भड्काए– हिन्दु राजा भएर पनि ओशोलाई भेट्न जान मिल्छ भनेर। उनीहरूको तर्क थियो, ‘ओशो पो राजालाई भेट्न आउनुपर्छ।’

वीरेन्द्रले विवाद र चर्चा केही मत्थर भएपछि ओशोसँग भेट्ने कुरा गरेका थिए। तर, त्यो समय कहिल्यै आएन। 

***

ओशोको गजबको बानी थियो। नेपालमा ४५ दिन सोल्टी होटलमा बस्दा उहाँ होटलको चौघेराबाट कत्तै निस्किनुभएन। बिहान १० बजे होटल बाहिर एकछिन बगैंचामा टहलिन निस्किनुहुन्थ्यो र अपराह्न ४ बजेतिर होटलकै वरिपरि घुम्नुहुन्थ्यो। बाँकी समय ध्यान र प्रवचनमै बित्थ्यो। 

उहाँलाई मैले लुम्बिनी, पोखरा र गोदावरी घुमाउन लैजाने निकै प्रयास गरेको थिएँ। नाइँ कहिल्यै भन्नुभएन। तर, घुम्ने अग्रसरता कहिल्यै देखाउनुभएन। 

उहाँ जसरी एयरपोर्टबाट होटल सोल्टी पुग्नुभयो, त्यसरी नै फर्किने बेला सोल्टीबाट एयरपोर्ट लाग्नुभयो। नेपालको अन्य कुनै ठाउँ घुम्नुभएन। प्लेनबाट काठमाडौं आउँदा नेपाली भूगोललाई जुन प्रकारले अनुभव गर्नुभयो, त्यो नै उहाँका लागि पर्याप्त थियो। नेपाल नघुमे पनि यहाँको सामाजिक संरचना, धर्म, साहित्य र संस्कृतिबाट उहाँ परिचित हुनुहुन्थ्यो। 

यसको झल्को मैले नेपाल आएको भोलिपल्टै होटल सोल्टीमा आयोजना भएको पत्रकार सम्मेलनमा पाएँ। उहाँले पत्रकार सम्मेलनमा नेपालको विषयमा सविस्तार कुरा गर्नुभयो। उहाँले त्यतिबेला अर्को कुरा पनि गर्नुभएको थियो, ‘नेपाली भाषा मैले प्लेनमा पहिलो पल्ट सुन्ने मौका पाएँ। असाध्यै मीठो लाग्यो।’

***

पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासा सकिएपछि मैले पनि एउटा प्रश्न राख्ने मौका पाएँ। मेरो प्रश्न थियो– ‘धनीहरूको घर निकै ठूलो हुन्छ, तर उनीहरूको घरमा अतिथिलाई राख्ने एउटा कोठा पनि हुँदैन। गरिबको झोपडी निकै सानो हुन्छ। तर पनि अतिथिलाई आफ्नो घरमा राख्ने ठूलो मुटु हुन्छ। तपाईंलाई अमेरिका जस्तो समृद्ध देशले राख्न सकेन। निष्कासित गर्‍यो। अहिले नेपाल जस्तो गरिब देशमा हुनुहुन्छ। हामी आत्मादेखि नै तपाईं यहाँ बस्नुहोस् भन्ने चाहन्छौं, के तपाई नेपाल बस्न चाहनुहुन्छ?’

उहाँले गजबको उत्तर दिनुभयो। भन्नुभयो– ‘बस्छु। यदि तिम्रो राजा चाहन्छन् भने। तर, यसमा पनि एउटा संकट आउन सक्छ। यदि म तिम्रो मुटुमा बसेँ भने तिम्रो जीवन यति आह्लादित बन्न सक्छ, जसका कारण तिम्रो राजाले तिमीसँग ईष्र्या गर्न सक्छन्।’ 

वास्तवमा उहाँले ठट्टा गर्दै यो उत्तर दिनुभएको थियो। तर, यसमा पनि केही दरबारिया र कट्टरवादी हिन्दु जमातले अनर्थ निकाल्ने प्रयास गरे। हल्ला फिजाए– ओशोले राजाको अपमान गरे। होच्चाउन खोजे।’

***

ओशो नेपालमा बस्न चाहनुहुन्थ्यो। तर, युरोपका उहाँका अनुयायीहरू कुनै पनि हालतमा उहाँलाई नेपालमा राख्न चाहँदैनथे। ओशो नेपालमा बस्नुभयो भने आनन्द अरुण उहाँको सबैभन्दा नजिकको शिष्य बन्छ भन्ने डर पनि थियो, केही अनुयायीलाई। फेरि नेपालमा पनि त्यतिबेला खासै भौतिक पूर्वाधारको विकास भइसकेको थिएन। न केही कुराको सुविधा नै थियो। ओशोसँग ४५ दिन काठमाडौं बस्दा त युरोपका अनुयायीहरूलाई गाह्रो परिसकेको थियो भने आजीवन उनीहरू नेपाल बस्ने कल्पना धेरै टाढाको कुरा थियो। यसैले पनि उनीहरूले ओशोलाई आफ्नै मुलुकतिर लैजान दबाब दिइरहे। 

त्यतिबेला नेपालमा आश्रम बनिसकेको थिएन। ओशो होटलमा बस्न नचाहने। बरु सानै भए पनि उहाँ ताहाचलस्थित मेरो घरमा बस्न चाहनुहुन्थ्यो। त्यतिबेला मेरो घर यति सानो थियो, उहाँले चाहेर पनि म राख्न सक्दिनँ थिएँ। घरमा कुनै किसिमको सुविधा थिएन। फेरि उहाँसँग थुप्रै चेलाचेली थिए। भेटघाटका लागि पनि ठाउँ निकै साँगुरो थियो।

यही बीचमा युरोपका शिष्यहरूले काठमाडौंबाट उहाँलाई सोझै ग्रिस लगे। मैले यही झोकमा कुनै दिन उहाँ नेपाल फर्किनुहोला भनेर घर ठूलो बनाएँ। तर, उहाँ फेरि फर्किनुभएन।

आजकै दिन सन् १९९० मा ५८ वर्षको उमेरमा उहाँले भारतको पूणेमा समाधि लिनुभयो। 

(नवीन अर्याल र जोतारे धाइबासँगको कुराकानीमा आधारित।)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार