होटलमा खाना खाएको पैसा भ्वाइलिन बेचेर तिरेँ : जय देवकोटा

Nepal Live

‘सोच्छन् सबै विदेशमा पैसा फल्छ रुखमा,
एकै घुट्की पानी दिने हुँदैन कोही दुःखमा
शरीरभरि मेरै देशको माटो घस्न पाए
बरु एक छाक नखाई बस्थे घरमै बस्न पाए।
थिएन बाबा विदेशिने मन, थिएन आमा विदेशिने मन। 

यस्तो मर्मस्पर्शी शब्दमाथि स्वर भर्दै गर्दा अनामनगरको एक स्टुडियोमा भेटिएका गायक जय देवकोटा साढे एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षशील नाम हो। ‘जीवन भयो उराठ बगर’ बोलको गीति एल्बमबाट नेपाली संगीतमा पाइला राखेका देवकोटाले त्यसयता दर्जनौं गीतमा स्वर भरिसकेका छन्।

निक्खर झ्याउरे, टप्पा, कौडा, रोइला लगायतका लोकभाकामा स्वर भरेका देवकोटा सिजन अनुसार तीज गीत र दशैं–तिहारका गीतमा निकै छाउने गरेका छन्। उनै देवकोटासँग मनोज न्यौपानेले गरेको कुराकानीः 

गायकको रुपमा परिचय बनाउन कति गाह्रो भयो?
म सानैबाट केही न केही बन्नुपर्छ भन्ने सोच भएको मान्छे। गायक बन्ने भित्रैदेखिको सपना थियो। त्यसैको प्राप्तिका लागि ०६१ सालतिर मैले निकै संघर्ष र मिहिनेत गरेर ‘जीवन भयो उराठ बगर’ नामक एल्बम निकालेँ। त्यस एल्बमले श्रोतामाझ मलाई चिनायो। 

नेपाली संगीत क्षेत्रलाई के कुरा दिएँ जस्तो लाग्छ? 
मैले यसै गरेँ या यति गरेँ त मैले भन्न मिल्दैन। तर, विशेषगरी नेपाली लोकभाका र त्यसमा पनि टिपिकल झ्याउरे, टप्पा, कौडा, रोइला, सालैज्यू जस्ता विभिन्न भाकामा धेरै स्वर भरेको छु। टप्पा भाकाका २८ वटा गीत गाएको छु। मैले यही नै दिएको छु भन्दा पनि नेपाली लोकभाका र संस्कृतिको जगेर्नामा केही न केही इँटा थपेको महसुस भने गर्छु। खासगरी स्टेज प्रोग्राममा जब म यिनै भाकामा गीत गाउन थाल्छु, त्यसपछि मलाई दर्शक र उपस्थित फ्यानहरुले बोकेर घुमाउनुहुन्छ। त्यतिबेला भने मैले केही चाहिँ दिएको रहेछु भनेर गर्व लाग्छ। 

अहिलेसम्म गाएकामध्ये सबैभन्दा सफल गीत कुन हो?
यही नै हिट भन्ने छैन। किनकि मैले विभिन्न लोकभाकामा गीत भएकाले पनि हुन सक्छ, कतै मलाई टप्पा गीतहरुले चिन्नुहुन्छ, कतै  झ्याउरे भाकाले चिन्नुहुन्छ र दशैं–तिहारका गीतहरुलाई दर्शकले निकै रुचाइदिने गर्नुभएको छ। आ–आफ्नै भाकाका आ–आफ्नै श्रोता र दर्शक हुनुहुन्छ र सबैको माया मेरा लागि उत्तिकै हो। त्यसैले यो र त्यो चर्चितभन्दा पनि मेरा लागि सबै गीतको भूमिका उत्तिकै लाग्छ। 

तपाईंले यति धेरै गीत गाउनुभएको छ। शब्द र संगीत सिर्जना पनि गर्नुहुन्छ। तर, तपाईं चर्चित गायकहरुको सूचीमा पर्न नसक्नुको कारण के होला? 
पपुलर गायक–गायिकाको सूचीमा अट्नुभन्दा पनि मेरो चाहना नेपाली लोकलयमा स्थापित भएर श्रोता, दर्शकको मन–मस्तिष्कमा अट्ने हो। अहिले नेपाली गीत–संगीतको क्षेत्रमा व्यापक विकृति आएको छ। छाडा गीतलाई दर्शकले पनि बारम्बार हेरिदिनुहुन्छ। यस्तो गलत प्रवृत्ति पछिल्लो समय हाबी बन्दै गएको छ। तर, मेरो उद्देश्य भनेको छाडापन र अर्काको खुट्टा मोलेर अगाडि आउने होइन। मौलिकपन र संस्कृति जोगाउँदै निरन्तर लागिरहने हो, अवश्य कुनै दिन चर्चितको लिस्टमा पनि परिन्छ होला।

पछाडि फर्केर हेर्दा आफ्नो संघर्षका दिनहरु कसरी सम्झनुहुन्छ? 
रुकुमको एक ग्रामीण परिवेशमा हुर्किएको म, काठमाडौं आएर बस्ने कोठा नपाउँदाको क्षण निकै कष्टकर लाग्छ। होस्टल बसेर होटलमा खान्थेँ। खाएको पैसा तिर्न सुको नहुँदा आफ्ले सधैं बोकेर बजाउँदै हिँड्ने भ्वाइलिन बेचेरै भए पनि होटलमा तिरेको छु। सायद सुरुवाती क्षणमा यो निकै पीडादायक परिस्थिति थियो। तर, जब भ्वाइलिन बेचेर होटलको पैसा तिरेको होटलकै दिदीले थाहा पाउनुभयो, त्यसपछि भने उहाँकै सहयोग र प्रेरणाले आज जय देवकोटा भनेर सबैले चिन्नुभएको छ। उहाँको आर्थिक सहयोग र भावनात्मक प्रेरणा मेरो जीवनको हिस्सा हो। आज पनि उहाँको त्यो सहयोग र प्रेरणा सम्झँदा आँखा रसाएर आउँछ। 

नेपाली लोकगायक र गायिकाहरुमा तपाईंलाई उत्कृष्ट लाग्ने नामहरु कुन–कुन हुन्?
हुन त लोकगीतको मामलामा नेपालमा धेरै सर्जक र प्रेरणाका खानीहरु हुनुहुन्छ। कसैलाई तल–माथि पारेर भन्ने अधिकार त मलाई छैन। तर पनि मेरो मनले खाएका, मेरो प्रेरणाका स्रोत र नेपाली लोकभाका र संस्कृतिको सम्मानमा अग्रजका रुपमा राजु परियार, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, नारायण रायमाझी, विष्णु माझी लगायत अग्रजहरुको नाम लिन चाहन्छु।

तपाईं जत्तिको गायक–गायिकाले गीत गाएर मात्र जीविकोपार्जन गर्न सक्ने अवस्था छ?
जीविकोपार्जनका सम्बन्धमा बोल्ने हो भने अवश्य गीत गाएर या गीतबाट बाँच्ने अवस्था पटक्कै छैन। यहाँ यदि कुनै कन्सर्ट या स्टेज प्रोग्राममा कसैले बोलाएन भने बाँच्न सक्ने अवस्था नै छैन। हो, गीत सफल हुन्छ, रेडियो टिभीदेखि युट्युबमा गीत चले पनि खर्चको हिसाबमा आम्दानी निकै कम मात्र हुन्छ। मेरो प्रसंगमा भने मैले दर्शकको माया, साथ र सहयोगले धेरै कार्यक्रमको अफर पाइरहेको छु। त्यसैले बाँचिएको छ। त्यसमा पनि म गायक मात्र नभई शब्द रचनादेखि संगीत कम्पोजसम्म गर्छु। मेरो अर्को रुचिको क्षेत्र चित्रकला पनि हो। मेरा चित्र अहिलेसम्म निकै प्रयोग पनि भइसकेका छन्। अर्कातिर, म तेक्वान्दो खेलाडी पनि भएकाले जीविकोपार्जनको प्रश्न त नउठ्ला। तर, सांगीतिक क्षेत्रमा जीवन बिताउने लक्ष्य भने अझै पनि जीवितै छ। 

भर्खर आउँदै गरेका गायक–गायिकालाई आफ्नो अनुभवको आधारमा के सन्देश दिनुहुन्छ? 
नेपाली गीत–संगीतको बजार निकै खस्किसकेको छ। यहाँ ठग प्रवृत्ति मौलाएको छ। विशेषगरी नयाँ प्रतिभाहरु निकै ठगिएको पाएको छु। यसरी ठगिनबाट बच्नुहोस्। एक ठाउँमा मात्र नभई धेरै ठाउँमा  धेरै ठाउँमा बुझेर मात्र गीत रेकर्ड गराउनुहोस्। लगानी धेरै लाग्ने होइन। तर, आफूले काम गर्न लागेको क्षेत्रमा राम्रो तालिम र तयारीका साथ ज्ञानको भण्डार लिएर मात्र पाइला राख्नुहोस्। मिहिनेतको फल पक्कै पनि मीठो हुन्छ। 

गायन यात्राका बिर्सनै नसकिने कुनै क्षण? 
सांगीतिक यात्रामा भएका धेरै घटना कति भुलिसकियो, कति स्मृतिमा ताजै छन्। तीमध्ये दुई वटा घटना कहिल्यै भुल्न सक्दिनँ। स्टेज कार्यक्रमको माहौल तातिएका बेला स्टेज भाँच्चिएर मेरो खुट्टा नै भाँच्चिएको घटना मेरा लागि ताजा छ। अर्को अविस्मरणीय क्षण, एक ठाउँमा म स्टेजमा गीत गाइरहेका बेला एक महिला फ्यान आएर ‘म तपाईंलाई किस गरुँ’ भनिन्। मैले गायनकै सुरमा हुन्छ भन्दिएछु। उनले च्वाप्प म्वाइँ खाइन्। त्यसपछि भने म लाजले कालोनीलो भएको थिएँ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार