ad

फुटबल इतिहासमै भिएआरमार्फत पहिलो पटक गोलको मान्यता, लेस्टर सिटी २ गोलले विजयी

Nepal Live

एजेन्सी- फुटबलको इतिहासमा भिडियो एसिस्टेन्स रेफ्री (भिएआर) ले पहिलो पटक गोलको मान्यता दिएका छन्। क्रिकेटमा यसअघि नै रिभ्यु लिन पाउने व्यवस्था भए पनि फुटबलको हकमा भने त्यो लागू भएको थिएन। 

एफए कपको तेस्रो चरणको खेलअन्तर्गत बुधबार बिहान लेस्टर सिटीले फ्लेटवुड टाउनलाई २–० गोल अन्तरले पराजित गर्दा एक गोललाई भिडियो एसिस्टेन्स रेफ्री माइक जोन्सले मान्यता दिएका थिए। 

सिटीका रियाद मह्रेजको थ्रो बलमा म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकर केलिची इह्यान्चोले गरेको गोललाई सुरुमा लाइन्स म्यानले आफ साइड दिए। तर मुख्य रेफ्री जोनाथन मोसले भिडियो अफिसियलबाट प्रमाणित गराएपछि खेल रोकिएको करिब ६७ सेकेन्डपछि मात्रै गोल भएको सिटी बजाए। दोस्रो हाफको ७७ मिनेटमा यस्तो गोल सम्भव भएको हो। 

यसअघि खेलको पहिलो हाफमा नै सिटीले इह्यान्चोकै गोलबाट अग्रता लिएको थियो। 

पहिलो हाफको खेल सकिन मात्र २ मिनेट बाँकी रहँदा इस्लाम सिल्मानीको पासमा इह्यान्चाले निकै सुन्दर गोल गरेका थिए। करिब एक पक्षीय देखिएको खेलमा सिटीले समग्रमा २-० को सहज जित हात पार्दै अर्को चरणमा आफ्नो स्थान बनाएको छ। ६ जनवरीमा भएको पहिलो लेगको खेल भने गोलरहित बराबरी सकिएको थियो। 

महिनाभर ट्रायल
भिएआर नियम ट्रायलका लागि यो महिनाभर इंग्लिस फुटबलमा प्रयोग गरिने बताइएको छ। यसअघि एफए कपअन्तर्गत नै ब्राइटन र क्रिष्टल प्यालेस तथा काराबाओ कपमा चेल्सीले आर्सनलको सामना गर्दा यो नियमको लागू गरिएको थियो। तर दुवै पटकको रिभ्यु सफल हुन सकेको थिएन। 

पहिलो पटक अतिरिक्त खेलाडीको प्रयोग तथा फोर्ड लाइटमा खेलाइएको खेल जस्तै भिएआर नियम सफल भएको आजको दिनलाई इंग्लिस फुटबलको इतिहासमा मानक मानिनेछ। 
यसैबीच एफए कपअन्तर्गत गएराति नै भएका अन्य खेलहरुमा कार्डिफ सिटीले म्यान्सफिल्ड टाउनलाई ४–१, सेफिल्ड वैनस्डेले कार्लिस्ले युनाइटेडलाई २–०, वेस्टह्याम युनाइटेडले स्रिउसबरी टाउनलाई १–० गोल अन्तरले पराजित गर्दा स्टेभेनाजमाथि रिडीङले ३–० को जीत दर्ता गर्यो । 

आज ३ खेल हुँदै 
एफए कपको तेस्रो चरणमा बाँकी रहेका ३ खेलहरु आज हुँदैछन्। स्टामफोर्ड ब्रिजमा स्थानिय समयअनुसार बेलुका पौने ८ बजे सूरु हुने खेलमा चेल्सीले नर्विच सिटीको सामना गर्दैछ। सोही समयमा नै स्वान्सी सिटी र वल्भरह्याम्प्टन वान्डर्रस लिवर्टी स्टेडियममा भिड्दा डिडब्लु स्टेडियममा विगान एथलेटिक र एएफसी वर्नमाउथबीच खेल हुनेछ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार