रोहिंग्या मुसलमानको म्यानमार फिर्ती दुई वर्षभित्र

Nepal Live

बैंकक- सरकारी सेनाको ज्यादतीका कारण म्यानमारबाट विस्थापित भएर बंगलादेशका विभिन्न भागमा शरणार्थी जीवन बिताइरहेका रोहिंग्या मुसलमानले आगामी दुई वर्षभित्रमा स्वदेश फर्कन पाउने भएका छन्।

उनीहरुलाई दुई वर्षभित्र फिर्ता गर्ने लक्ष्यसहित सहमति भएको बंगलादेशका अधिकारीले जनाएका छन्। बंगलादेशको विदेश मन्त्रालयले शरणार्थी फिर्ता गर्न गठन भएको दुई देशको संयुक्त कार्यदलले आफूलाई दिएको काम सोमबार सम्पन्न गरेको र आगामी दुई वर्षभित्र रोहिंग्या शरणार्थीलाई फिर्ता गर्ने लक्ष्यसहित सहमति गरिएको बताएको छ। 

'शरणार्थी फिर्ता प्रक्रिया आगामी दुई वर्षमा सक्नेमा दुवै देशका प्रतिनिधि सहमत भएका छन्',  विदेश मन्त्रालयले जनाएको छ।

म्यानमार र बंगलादेशले शरणार्थी फिर्ताका लागि गत नोभेम्बरमा सहमति गरी कार्यदल बनाएर काम अघि बढाएका थिए। सहमति अनुसार म्यान्मारले हरेक हप्ता १५ सय जना रोहिंग्या शरणार्थीलाई फिर्ता लैजाने बंगलादेशले जनाएको छ। 

दुई वर्षभित्रमा शरणार्थीहरू फिर्ता भइसक्ने दुवै देशले आशा व्यक्त गरेका छन्। 

बंगलादेशको सीमाक्षेत्रका अस्थायी शिविरहरूमा साढे ६ लाखभन्दा बढी रोहिंग्या शरणार्थी बस्दै आएका छन्। (रासस/एपी)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्