ad

रुकुमको लालपाटनमा आगलागी : दुई जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

Nepal Live

नेपालगन्ज- जंगलमा डढेलो लाग्दा वनतरुल खोज्दै गरेका दुई जनाको ज्यान गएको छ। पूर्वी रुकुमको लालपाटनमा भएको घटनामा एक जना गम्भीर घाइते भएका छन्।

माघे संक्रान्तिका लागि तरुल खोज्न गएका बेला शनिबार पुथाउत्तरगंगा गाउँपालिका ३ नजिकैको लालपाटन जंगलमा डढेलो लाग्दा केशरमान मल्ल र शेरबहादुर बोहराको जलेर मृत्यु भएको हो। ३८ वर्षीय श्यामबहादुर बोहरा भने गम्भीर घाइते भएका छन्।

जंगलबाट समयमै अस्पताल पुर्‍याउन नसक्दा उनीहरुको ज्यान गएको हो। विकट ठाउँमा घटना भएकाले ढिलो गरी जानकारी आएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताए। जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

घाइतेलाई काठमाडौं पठाइयो
घटनामा घाइते श्यामबहादुर बोहरालाई सेनाको हेलिकप्टरबाट आइतबार दिउँसो नेपालगन्जको भेरी अञ्चल अस्पताल ल्याइएको थियो। उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पताल पठाइएको छ। आइसियुमा राखेर २ दिन उपचारपछि थप उपचारका लागि नेपाली सेनाको ४ नम्बर बाहिनी र अस्पतालको पहलमा कीर्तिपुर अस्पताल पुर्‍याइएको हो। चिकित्सकहरुले शल्यक्रिया गर्ने तयारी गरिरहेको बोहराका आफन्त महेश मल्लले बताए।

नेपालगन्जमै प्रभावकारी उपचार गर्न भेरी अञ्चल अस्पतालका चिकित्सकको टोलीले कीर्तिपुर अस्पतालका प्लास्टिक एवं बर्न सर्जन डा शंकरमान राईसँग भिडियो कनफ्रेन्समार्फत परामर्श गरेका थिए।

डा राईको सुझाव अनुसार कीर्तिपुर पठाइएको अञ्चल अस्पतालका निमित्त प्रमुख डा कृष्णप्रसाद आचार्यले बताए।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार