साढे २ करोडको भ्रष्टाचार मुद्दामा विद्युत् प्राधिकरणका महाप्रबन्धक श्रेष्ठ ३० लाख धरौटीमा रिहा 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– विशेष अदालतले नेपाल विद्युत् प्राधिकरण, उत्पादन सञ्चालन तथा सम्भार विभागका पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठले २ करोड ८८ लाख बराबरको अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि विशेषले तोकेको धरौटी ३० लाख बुझाएर श्रेष्ठ रिहा भएका छन्। 

श्रेष्ठले पदमा रहँदा २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो। उनी नेपाल विद्युत् प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिस्टेन्ट इञ्जिनियरका रुपमा ०३६ सालमा नियुक्त भई कामु कार्यकारी निर्देशक र महाप्रबन्धक हुँदै ०७० सालमा सेवा निवृत्त भएका थिए। 

अख्तियारको आरोपपत्रमा श्रेष्ठले परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल–अचल सम्पत्ति रहेको दाबी गरिएको थियो। उनलेस्रोत नखुलेको चल–अचल सम्पत्तिहरु श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्र लाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा लुकाएर राखेको पाइएकाले जफत गर्न अख्तियारको आरोपपत्रमा माग गरिएको थियो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजायको माग गरेको थियो।

यसैगरी, विशेषले घुससहित पक्राउ परेका यातायात कार्यालय एकान्तकुनाका नायव सुब्बा ईश्वरबन्धू गौतमलाई ५० हजार धरौटीमा रिहा गरेको छ। 

ट्याक्सी दर्ता शाखामा कार्यरत गौतमले निजी गाडीलाई ट्याक्सी बनाउने क्रममा ५० हजार रुपैयाँ घुस लिने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको थियो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने