ad

गत वर्ष ९० रुपैयाँ किलो बिक्री भएको अदुवा यस वर्ष २० रुपैयाँ दिने पनि आएनन्

SHARES
Nepal Live

धनकुटा- प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा गिरावट आएपछि धनकुटाका किसान निरास बनेका छन्। 

आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसान मारमा परेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका नरेन्द्र राई बताउँछन्। वन्यजन्तुले नखाने र बिनापानी पनि खेती गर्न सकिने भएकाले धनकुटाका किसानले अदुवाखेतीलाई प्रमुख नगदेबालीका रुपमा लिँदै आएका छन्। 

३ वर्षयता लगातार मूल्यमा आएको कमीका कारण किसान प्रभावित भएका हुन्। व्यापारीले प्रतिकिलो २० रुपैयाँमा पनि अदुवा लान नमानेपछि अदुवाखेतीमा गरेको लगानी र मिहिनेत नउठ्ने अवस्थामा पुगेको कृषक राईले गुनासो गरे। 'अदुवा बेचेर पहिला चामल किनेर खान पुग्थ्यो, अहिले त नुन, तेल टार्न पनि गाह्रो पर्न थाल्यो,' धनकुटा नगरपालिका–९ का दामोदर सुवेदीले भने। 

गतवर्ष भारतीय बजारमा प्रतिकेजी १ सयभन्दा बढी पुगेको अदुवाबाट अहिले परिश्रमको मूल्य नै उठ्न गाह्रो परेको छ। अदुवाको मूल्य गिरेकाले परम्परागत रुपमा वर्षौंदेखि अदुवा रोप्दै आएका उक्त क्षेत्रका सयौँ किसान वैकल्पिक खेतीको विषयमा सोच्ने अवस्थामा पुगेको साँगुरीगढी गाउँपालिका–७ डाँडाटोलका नारायण राईले बताए। 

बजारको पहुँच देखेर शिक्षण पेशा नै छाडेर अदुवाखेतीतर्फ आकर्षित भएका चौबीसे गाउँपालिका बूढीमोरङका ठाकुरमान लिम्बू अदुवा बिक्री नभएपछि समस्यामा परेको बताउँछन्। 

१० रोपनी जमिनमा लगाएको अदुवा प्रतिकिलो ९० रुपैयाँ सम्ममा बेच्दा वार्षिक ६ लाख रुपैयाँ कमाई गरेको सम्झँदै लिम्बूले मूल्यमा कमी मात्र होइन बिक्री नै हुन छाडेपछि यसवर्ष २ रोपनीमा मात्र अदुवा खेती गरेको बताए। 

मूल्यमा कमी आएपछि कुनै बेला अदुवा पकेट क्षेत्रका रुपमा रहेको यहाँका करिब ३ सय घरधुरी प्रभावित भएको बताउँदै उनले भने, 'अदुवाको भाउ फेरि आउला कि भनेर बीउ जोगाएर बसेका छौं।' 

भारतले अदुवाको गुणस्तर परीक्षणमा एकद्वार प्रणाली लागू गरेपछि पहिलाको जस्तो अदुवा भारत निकासी गर्न सहज नभएको र व्यापारीले अदुवा नै लैजान छोडेपछि साँगुरीगढी गाउँपालिका क्षेत्रका किसानले अहिले वैकल्पिक खेती गर्ने सोच बनाइरहेको अर्का कृषक रमेश राई बताउँछन्। 

गतवर्ष २ सय ५० हेक्टरमा भएको खेतीबाट उत्पादित ३ हजार ६ सय ९७ मेट्रिक टन अदुवा बिक्रीबाट १४ करोड ४८ लाख रुपैयाँ संकलन भएको थियो। गत वर्ष ३ हजार ५ सय १२ मेट्रिक टन अदुवा जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ। गतवर्ष अदुवा प्रतिकिलो ९० देखि १ सय ५० रुपैयाँ सम्म पुगेको थियो। मूल्यमा कमी आएसँगै अदुवाको उत्पादन र निकासी प्रभावित भएको जिल्ला कृषि कार्यालयका प्राविधिक सूर्यप्रसाद सापकोटाले बताए। 

मूल्य वृद्धि नभएपछि यसवर्ष जिल्लामा अदुवा खेती खुम्चिएर २ सय ३५ हेक्टरमा झरेको कार्यालय स्रोतको भनाइ छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार