ad

वीरेन्द्रसँग १७ दिन गोप्य भ्रमणमा गएका यी डाक्टर, जसले सत्य बोल्दा कारबाही भोगे

SHARES
Nepal Live

मानसिक समस्यालाई नेपाली समाजले हेर्ने दृष्टिकोण अहिले पनि रुढीबादी सोचमै आधारित छ भन्दा अतियुक्ति नहोला । तर डा देशराजबहादुर कुँवरले त्यो समय मनोरोगमा विशेषज्ञता हासिल गरे, जुन समय डाक्टरहरुले समेत यसलाई ‘बौलाहा विद्या’को संज्ञा दिन्थे । उनीअघि डा बिबी शर्माले वेल्सबाट मानसिक रोगमा डिपिएम (डिप्लोमा इन साइकोलोजिक मेडिसिन) गरेर आएका थिए । उनीमाथि चिकित्सा क्षेत्रले अनेक ‘जोक्स’ बनाएको थियो । डा शर्मा उनका गुरु थिए । डा कुवँरलाई होच्याउनु पर्‍यो भने अरु डाक्टर भन्थे, ‘तेरो गुरु (डा बिबी शर्मा) नाचघर जान हिँडेको रे, तर धरहरा पुगेछ हिजो ।’

चिकित्सा क्षेत्रले नै हेयभाव राख्ने भएपछि अधिकांश डाक्टरले यो विषयमा विशेषज्ञता हासिल गर्ने जोखिम उठाउन चाहेनन् । झन्डै १२ वर्ष (डा कुँवर विशेषज्ञ बनेर आउनुअघि) सम्म नेपालका एक्ला मानसिक रोग विशेषज्ञ थिए डा शर्मा । डा कुवँर पढेर फर्केको अर्को १२ वर्षसम्म पनि कसैले यो विषय रोजेनन् । उनी भन्छन्, ‘म पनि पढेर आएपछि चिकित्सा समाजमा बहुलाहा कहलिने दुई जना भयौं । अघिल्लो १२ वर्ष डा शर्मा एक्लैले मानसिक रोगको उपचार गर्नुभयो । त्यसपछिका १२ वर्ष दुईजना मात्रै भयौं ।’

मानसिक समस्याका लागि कहलिएका डाक्टर कुँवरले पनि यसप्रति रुची जागेर पढेका थिएनन् । परिस्थितिले यही विषय पढायो तर पढ्दै जाँदा उनलाई यति रुचीकर लाग्यो कि २ वर्षमा सक्नुपर्ने डिपिएम १८ महिनामै पूरा गरे । अनि ५ वर्षमा पूरा गर्नुपर्ने एमआरसिपी (मेम्बर अफ रोयल कलेज अफ साइक्याट्री) ४ वर्षमै पार लगाए ।

डाक्टरी पढ्न जुरेको संयोग

डा कुँवरको जीवनमा संयोगहरुले असहज परिस्थितिमा ठूलो योगदान गरेका छन् । तिनै संयोगहरुले उनलाई डाक्टर बनायो र फेरि मानसिक रोग विशेषज्ञ । 

डा कुँवरको जन्म पोखराको हेम्जामा १९९३ सालमा भएको थियो । कखरा गाउँमै जानेपछि ब्रिटिस लाहुरे उनका पिताले छोरालाई राम्रो शिक्षा दिन भारतको देहरादुन पुर्‍याए । जहाँ भारतीय गोरखा सैनिकका सन्तानका लागि गोरखा उच्च माध्यामिक विद्यालय खोलिएको थियो । त्यहाँ १० कक्षासम्म र हिन्दू नेसनल इन्टर कलेजमा आइएससीसम्म अध्ययन गरेपछि उनी काठमाडौं फर्किए । काठमाडौं फर्किनुमा उनी पढेकै स्कुलका सिनियर विद्यार्थी नारायणप्रसाद आचार्य (जो पछि राजाको मुख्य सचिव भए) को योगदान छ । आचार्य आइएससी अध्ययन गरेपछि नेपाल फर्के र नेपाल सरकारका तर्फबाट उनले दिल्लीमा अंग्रेजी पढ्न छात्रवृत्ति पाए । आचार्यले माया गर्ने जुनियर विद्यार्थी मध्येमा पर्थे कुँवर । छात्रवृत्ति पाएपछि देहरादुन फर्केका आचार्यले उनलाई भने, ‘तिमी पनि नेपाल फर्क । छात्रवृत्तिमा पढ्न पाउने सम्भावना छ ।’

उनी नेपाल त फर्किए तर न आइएससीको सर्टिफिकेट हातमा आइपुगेको थियो न राम्रो अंक थियो । उनीसँग देशराजबहादुर कुँवर, सेकेन्ड डिभिजन पास’ भन्ने प्रमाण मात्र थियो । ‘त्यसताका कोलम्बो प्लान अन्तर्गत सरकारले नेपाली विद्यार्थीलाई एमबिबिएस पढ्न पठाउँथ्यो,’ उनले भने, ‘मैले फारम भरेको थिएँ । तर, पर्ने सम्भावना न्यून थियो । किनभने २० जनाका लागि झन्डै ३ सय विद्यार्थीले फारम भरेका थिए ।’ 

यहीँनेर एउटा संयोग जुर्‍यो । उपत्यका बाहिरका विद्यार्थीको युनियनले कोलम्बो प्लानमा उपत्यकाभित्रका विद्यार्थी मात्रै छानिएको सुइँको पायो । त्यसपछि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको निवास घेर्न पुग्यो उपत्यका बाहिरका विद्यार्थीको समूह । युनियनमा रहेका विद्यार्थीले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू देश भनेको उपत्यका मात्रै हो?’ उनीहरुले उपत्यका बाहिरका विद्यार्थी कोलम्बो प्लानमा परेनन् भने आन्दोलन गर्ने चेतावनी दिएर फर्किए । उनी सम्झिन्छन्, ‘प्रधानमन्त्री आचार्यले तुरुन्तै नतिजा रोक्न लगाएर १० जना उपत्यका बाहिरका विद्यार्थी राख्न निर्देशन दिनुभएछ । उपत्यका बाहिरका विद्यार्थी खोज्ने क्रममा कास्कीबाट त्यो ब्याचमा फारम भर्ने म मात्रै रहेछु । मेरो नाम कोलम्बो प्लानमा निस्कियो ।’

गभरमेन्ट मेडिकल कलेज पटियाला, भारतमा उनले पढ्ने मौका पाए । २०१८ सालमा एमबिबिएस पूरा गरेका कुँवर १ वर्ष इन्टर्नसिप गरेर २०१९ को अन्तिमतिर नेपाल फर्किए । नेपाल फर्किएपछि उनी श्री ५ को सरकारको सम्पर्कमा आइपुगे । तर, सरकारका मान्छेले उनलाई उपयुक्त ठाउँमा खटाउन आनाकानी गरे । यता उनका पिताको इच्छा चाहिँ आर्मीको डाक्टर बनोस् भन्ने थियो । उनले भने, ‘भाइ इन्द्र कुँवर पनि आर्मीमै थियो । त्यो समय नेपाली राष्ट्रिय टोलीको फुटबल खेलाडी पनि थियो । तर, जमदारबाट ऊ बढुवा नभएकै ६ वर्ष भएको थियो । म आर्मीको डाक्टर हुँदा भाइलाई पनि सहयोग होला भन्ने बुवाको चाहना थियो ।’

युवराज वीरेन्द्रले मनपराएको जुँगा 

\"\"

आर्मीको डाक्टर हुन रुचाउनेको संख्या खासै नहुने भएकाले उनलाई त्यहाँको डाक्टर बन्न गाह्रो भएन । २०२० सालमा कुँवरले तत्कालीन शाही नेपाली सेनामा प्रवेश गरी डाक्टरी सेवा सुरु गरे । 
उनले तत्कालीन युवराज वीरेन्द्र वीरविक्रम शाहदेवसँग नेपालको पूर्वी भूभागको भ्रमण गर्ने अवसर पाए । १७ दिनको त्यो गोप्य भ्रमणमा पूर्वराज वीरेन्द्रसँगका केही सम्झना उनीसँग ताजा छन् । 

‘युवराज वीरेन्द्रले मेरो जुँगाको बखान गरेको र भैंसीगोठमा रात बिताएको सम्झना ताजै छ,’ उनले भने ।

त्यसताका उनी लामो जुँगा पाल्ने र बटारेर माथितिर फर्काउने गर्थे । उनले चाहेअनुसार जुँगाको डिजाइन दिएको कुराबाट युवराज वीरेन्द्र प्रभावित भएछन् । उनी सम्झिन्छन्, ‘युवराज वीरेन्द्रले आफ्नो जुँगा माथितिर बटार्ने सक्दो कोसिस गर्नुभयो । तर, उहाँको जुँगाले त्यस्तो आकार लिन सकेन । त्यसपछि मेरो जुँगाको बखान गरिरहनुभयो ।’

पूर्वी नेपालको भ्रमणकै क्रममा एकदिन अलपत्र परेको घटना पनि उनी कहिल्यै बिर्संदैनन्। ‘डाँडामाथिको गाउँमा बास बस्ने गरी उकालो लागेको टोली बीचतिर पुग्दा नपुग्दै झमक्क अँध्यारो भयो,’ उनले त्यो घटना सम्झिए, ‘भोकतीर्खा र जंगली जनावरका कारण थप हिँड्न सकिएन । नजिकै घर खोज्दै जाँदा एउटा भैंसीगोठ भेटियो । तर, गोठालोसँग खाने कुरा केही रहेनछ । युवराजलाई भ्रमणमा लिएर हिँडेको टोली बडो विखलबन्दमा पर्‍यो । भैंसीगोठमा सुत्नुको विकल्प नदेखेपछि पराल ओछ्याएर युवराज वीरेन्द्रलाई गोठमै सुत्ने व्यवस्था गर्‍यो । वीरेन्द्रले नै बोकेको हर्लिक्स पानीमा घोलेर खायौं ।’ 

हर्लिक्सको ठूलो डब्बा आफैंले राख्न लगाए पनि भ्रमण टोलीले भारी हुने भनेर लिन मानेका थिएनन् । उनल भने, ‘युवराज वीरेन्द्र बाठो हुनुहुन्थ्यो । आफ्नै भारीमा राख्न लगाउनु भएछ ।’ 

सत्य बोल्दा भोगेको कारबाही

पूर्वको भ्रमणमा युवराज वीरेन्द्रसँग उनको राम्रै हिमचिम भयो । विशेषगरी लागेको कुरा नघुमाई भन्ने डा कुँवरको बानीले वीरेन्द्रलाई प्रभावित पारेको थियो । तर, मनमा लागेको कुरा सिधै भन्ने बानीले आर्मीको जागिरमा भने उनलाई पटक–पटक अप्ठ्यारो परेको छ । 

उनी काममा डटिरहन्थे । दरवारसँग पनि राम्रै सम्बन्ध थियो । त्यसैले बेलायत सरकारका तर्फबाट विशेषज्ञताका लागि प्राप्त हुने छात्रवृत्तिमा जाने मौका मिल्ने विश्वास थियो उनको । काममा कम खट्ने तर चाकडी बजाउन सक्ने अरु दुई डाक्टरले आफूभन्दा चाँडो मौका पाएको जानकारी पाए उनले । त्यसपछि उनले आफ्नो हाकिम डा टिएन भट्टराईलाई सिधै गएर भने, ‘यस्ता अवसर त काम गर्नेको अधिकार होइन र ? चाकडी गर्नेलाई दिने ?’ उनलाई त्यस्तै लाग्यो र भनिदिए । तर, अनुशासन मिचेर आफूभन्दा उपल्लो दर्जाकासँग ठाडै प्रश्न गरेकोमा उनलाई कारबाही भयो, ३ वर्षका लागि भैरहवा सरुवा ।

\"\"

भैरहवामा काम गरिरहेका बेला काठमाडौंमा आयोजित एक सम्मेलनमा भाग लिन आएका थिए उनी । त्यही समयमा स्वास्थ्य मन्त्रालयले डिपिएम (डिप्लोमा इन साइकोलोजी मेडिसिन) का लागि ब्रिटिस सरकारको छात्रवृत्तिको कोटा आर्मीका डाक्टरका लागि दिएछ । उक्त कोटा बर्सेनि आउने भए पनि ‘बहुलाहा विद्या’ भनेर कोही जाँदैनथे । डा कुँवरलाई बोलाएर ‘जाने भए अवसर छ’ भनियो । उनलाई पनि खासै रुची थिएन । उता युवराज वीरेन्द्रसँग पनि सम्बन्ध राम्रो भएकाले मेडिसिनमा विशेषज्ञता हासिल गर्न पाए दरवारको फिजिसियन हुन पाइन्थ्यो कि भन्ने लोभ पनि थियो । उनले डिपिएम भनेकै राम्रोसँग बुझेका थिएनन् । उनलाई उक्त कोर्समा न्युरोलोजी, साइकोलोजी र मेडिसिन पनि हुन्छ भनियो । न्युरोलोजी र मेडिसिन भनेपछि उनी पढ्न जान राजी भए । 

कति समयमा ठ्याक्कै पढाइ सकिन्छ भनेर ब्रिटिस काउन्सिलका कन्सल्ट्यान्टलाई सोधेका थिए उनले । उत्तर थियो– २ वर्ष । ४ वर्षमा पास गर्‍यौ भने धेरै राम्रो!’ तर, उनले १८ महिनामै पास गरिदिए । त्यसमा उनको लगनको मात्रै भूमिका छैन । उनले २ जना यस्ता प्रोफेसर पाए, जसले पढाइमा रुची निकै बढायो । सुरुमा प्रोफेसर रोबर्ट क्यान्डल अन्तर्गत रहेर पढे, जसको साइन्समा दख्खल थियो । त्यसपछि उनी डा ग्रेगरी अन्तर्गत पुगे । जसलाई सिग्मन्ड फ्रायडले प्रतिपादन गरेको फ्रायडवादको राम्रो व्याख्याता मानिन्थ्यो । उनी भन्छन्, ‘हरेक कुराका अर्थ निकाल्न सक्ने खुबी थियो उहाँमा ।’

उनी डिपिएम गरेर फर्किन चाहन्थे तर उनका प्रोफेसरले उनलाई मानसिक रोगमै एमआरसिपी (मेम्बर अफ रोयल कलेज अफ साइक्याट्री) गर्न सुझाए । एमआरसिपी नगरी फर्किनु भनेको देशकै लागि घाटा भएको बताएपछि उनले थप ५ वर्ष अध्ययनमा बिताउने निधो गरे । ५ वर्षको उक्त कोर्स उनले ४ वर्षमै पूरा गरे तर समय ५ वर्ष नै पुर्‍याउनुपर्ने भएपछि उनी १ वर्ष त्यहीँ प्य्राक्टिस गरेर बसे । उतै बसेर प्य्राक्टिस गर्न त्यहाँका प्रोफेसरले उनलाई सुझाएका थिए । तर, घरपरिवारको मायाले उनलाई थप एक दिन पनि त्यहाँ रोकिन दिएन । 

पहिलो बिरामी दुर्व्यसनी

नेपाल आएपछि उनले २०३२ सालमै आर्मी हस्पिटलमा १५ बेडको न्युरो साइक्याट्री वार्ड बनाएर मानसिक समस्याको उपचार सुरु गरे । उपचार सेवा थाले पनि उनको वार्डलाई अस्पतालका अरु डाक्टरले हेयको दृष्टिले हेर्थे । आफूलाई रिफर गरिएको पहिलो बिरामीबारे उनी सम्झिन्छन्, ‘एकजना आर्मीकै मेजर थिए । अत्यधिक लागू औषध सेवनका कारण शारिरीक र मानसिक रुपमा सिकिस्त भएर उपचार गराउन आएका थिए । सुरुमा अरु डाक्टरसाहेबले उहाँलाई निको पार्न अनेक प्रयास गर्नुभयो । केही नलागेपछि त्यो बहुलाहाकहाँ पठाइदिऊँ भनेर रिफर गरियो ।’

त्यो समय केही आर्मीका रिटायर्ड हाकिमहरुमा मानसिक समस्या देखिएको थियो । आर्मीका रिटायर्ड हाकिमहरुको मानसिक स्वास्थ्यको उपचार गरेको सम्झिँदै भन्छन्, ‘रिटायर्ड भएपछि पैसा भयो तर कामबिहीन भए । दिनभरि तास खेल्ने, बेलुका जाँड खाने र राति श्रीमती कुट्ने समस्या धेरैमा थियो ।’

लागूऔषध दुव्र्यसनी र मदिरा सेवनको कुलतमा फसेका धेरै मानिस उपचारका लागि आउन थालेपछि उनले उपचार मात्रै होइन, अभियान नै चलाउन जरुरी ठाने । यसमा उनकी श्रीमती अन्नपूर्णा कुँवर र सेन्ट जेभियर्सका संस्थापक फादर ग्याफ्नीको सहयोग रह्यो । उनले दुव्र्यसनीलाई राष्ट्रिय समस्याका रुपमा सरकारले अंगिकार गरेर यसविरुद्ध कदम चाल्नुपर्ने आवाज उठाए । तर, धेरैले उनका कुरालाई ‘चर्चाको मसला’ बनाएको आरोप लगाए । तर, उनी विचलित भएनन्, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनुका साथै दुव्र्यसन विरुद्ध पनि आफूलाई अडिग बनाइरहे ।

काठमाडौं जेसिस, फादर ग्याफ्नीको सहयोगमा लागू औषध विरुद्ध पहिलोपल्ट उनले होटेल शंकरको प्रांगणमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरे । त्यो समय उनी सेनाको कर्णेल थिए । डा कुँवरले के बोल्दो रहेछ भनेर सबैको चासो थियो । ‘कार्यक्रम यति भव्य भयो कि, होटेल शंकरको प्रांगणमा मान्छेहरु भरिभराउ भए,’ उनले सम्झिए ।

लागूऔषध विरुद्ध डा कुँवरले नेपालमा खेलिरहेको भूमिकाप्रति अन्तर्राष्ट्रिय जगतले चासो राखिरहेको थियो । त्यसैले लागूऔषध विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उनलाई बोलाइयो । तर, १० दिन जति उनलाई विदेश जाने सिफारिस नै दिएन सरकारले । बल्लतल्ल सिफारिस पाएर सम्मेलनमा पुगेका उनलाई त्यो समय मनिला, हङकङ, थाइल्यान्ड लगायत घुमाएर लागू औषध विरुद्ध भइरहेका काम अवलोकन गराइयो । 

घरमा बम, गाडीमा ठक्कर

उनी त्यस्तो समय लागू औषधका विरोधी भएर देखिए, जतिबेला नेपालमा लागू औषधको कारोबार मौलाइरहेको थियो । काठमाडौंमा हिप्पीहरुको बिगबिगी थियो । हिप्पीहरुले धेरै नेपाली युवालाई लागू औषधको दुव्र्यसनमा फसाइरहेका थिए । लागू औषधका कारोबारीले एक रातमै लाखौं कमाइरहेका थिए । लागूऔषधको कारोबारमा रमाइरहेको सञ्जालले उनलाई बाधकका रुपमा देखिसकेको थियो । आपराधिक गिरोहको निशामा थिए उनी । उनले ती अप्ठ्यारा दिन सम्झिए, ‘मेरो घरमा बम फालिएको थियो। धन्न पड्किन पाएन । मेरो गाडीलाई ठक्कर दिने कोसिस पनि नगरेका होइनन् । तर, संयोगले दुर्घटना हुन पाएन ।’ 

\"\"

गाडीमा ठक्कर दिन खोजेको दृश्य उनको मानसपटलमा अहिले पनि  घुमिरहन्छ। ‘साँझको समय म बिरामी हेरेर जमलबाट भगवानपाउस्थित घर फर्किंदै थिएँ । एकदम भोक लागेको थियो । भित्री बाटोबाट ठमेल निस्केर जाउँ जस्तो लागेर गल्लीतिर गाडी मोडें,’ उनले घटना सम्झिए, ‘तर एक्कासी मनमा त्यता फटाहाहरु हुन्छन्, बाहिरबाटै जाऊँ जस्तो लागेर गाडी फनक्कै घुमाएँ। त्यही गल्लीमा ठक्कर दिनेगरी पछाडिबाट अर्को गाडी आइरहेको रहेछ । म घुम्नु पनि र उसले ठक्कर दिनु एकसाथ भयो। गाडीको पछाडिको भागमा मात्र छोयो । नजिकै प्रहरी थियो तर केही गरेन । गाडी भाग्यो ।’ 

‘त्यो घटना प्रहरीलाई थाहा भएकाले ठक्कर दिएकोबारे रिपोर्ट दर्ता गरिदिनु भनेर म हिँडे,’ उनले भने, ‘भोलि त्यसबारे बुझ्न जाँदा त रिपोर्ट गरिएकै रहेनछ । त्यसपछि बल्ल चाल पाएँ, त्यो त सेटिङमा गराउन खोजिएको दुर्घटना थियो ।’ 

कसले त्यस्तो योजना बनाएको होला भनेर उनको मनमा धेरै कुरा खेल्यो । ‘केहीदिनअघि पत्रकार हरिहर विरहीलाई एउटा अन्र्तवार्ता दिएका थिएँ। त्यहाँ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका एडिसी (जो लागू औषधका कारोबारी पनि थिए) को नाम लिएरै त्यस्ता कारोबारी यहाँ थुप्रै छन् भनेको थिएँ,’ उनले त्यो घटनामा आफूलाई तारो बनाइएको निष्कर्षमा पुग्नुको कारण सुनाए, ‘अरुको पनि पोल खोल्ने डरले लागूऔषधका कारोबारीले मलाई सिध्याउने योजना बनाएका रहेछन्।’

सेनाबाट जबर्जस्ती राजीनामा

दुर्व्यसनी विरुद्धको अभियानमा उनले आफूलाई रोकेनन् । त्यसपछि तत्कालीन शाही नेपाली सेनाले उनलाई सेनाबाट राजीनामा गर्न दबाब दियो । २०४४ सालमा सेनाबाट राजीनामा दिएर उनी मानसिक समस्या र लागूऔषध विरुद्धको पूर्णकालीन अभियन्ता भए । उनले यसका लागि गैरसरकारी संस्था खोलेर अघि बढ्न खोजे पनि दरवारियाहरु मिलेर त्यो योजना असफल बनाउने प्रयास गरे । जसका लागि कमल थापा (हाल राप्रपाका अध्यक्ष) लाई अघि सारेर उनकै संस्थाको विधान नक्कल गरेर उस्तै गैरसरकारी संस्था खुल्यो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजेट हत्याउँथ्यो तर काम गर्दैनथ्यो । 

निरन्तर बाधा खेप्नुपरे पनि उनी आफ्नो अभियानमा चुकेनन् । उनले बहुदल आएपछि नेपाल सरकारसँगै मिलेर सार्क स्तरीय लागूऔषध विरुद्धको कार्यक्रम चलाए । त्यसताका हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री थिए । यो कार्यक्रम गृह मन्त्रालय अन्तर्गत थियो । किनकि गृह मन्त्रालयमा त्यो समय लागूऔषध विरुद्धको महाशाखा थियो । डा कुँवरले गैरसरकारी क्षेत्रका तर्फबाट संयोजकको रुपमा काम गरिरहेका थिए । 

ढल्किँदो उमेर तर अत्यधिक दौडधुपका कारण उनको स्वास्थ्य कमजोर हुँदै गएको उनले पत्तै पाएनन् । मेरो साथी डा डिबी कार्कीले अझै केही वर्ष जिउने चाहना छ भने देश छाड्न सल्लाह दिए,’ उनले भने, ‘त्यसपछि म उपचार र आराम खोज्दै लन्डन पुगें र १ वर्ष त्यहीँ बसें ।’ उनी नेपाल फर्किंदा उक्त कार्यक्रम सकिसकेको थियो भने लागूऔषध महाशाखा पनि शाखामा परिणत भइसकेको थियो । 

अहिले पनि उनी लागूऔषध विरुद्ध आफूलाई उभ्याइरहेका छन् । डा कुँवरले धेरै वर्ष पहिले दुव्र्यसन नेपालको राष्ट्रिय समस्या भनेका थिए । सरकारले २०६८ सालमा यसलाई औपचारिक रुपमा महसुस गर्‍यो । आफूले चालेको कदम पछ्याउँदै अहिले धेरैले यो क्षेत्रमा काम गरिरहेकोमा उनी खुसी छन् । 

बाँकी सपना

उमेरले ८२ को उकालो उक्लिरहेका डा कुँवर थाकेका भने छैनन् । उनीसँग अझै लागूऔषध र दुव्र्यसन विरुद्ध काम गर्ने सपना छन् । उनी भन्छन्, ‘नेपाल सरकार अन्तर्गत लागूऔषध र दुव्र्यसनको समस्या समाधान गर्ने विभाग बनोस् भन्ने चाहना छ । यसका लागि बेला–बेला सिंहदरवार पुगेर झकझक्याइरहेको छु ।’

मानसिक समस्याको उपचार त उनको निरन्तरको कर्म भइहाल्यो । अहिले उनी हप्ताको दुई दिन महाराजगञ्जस्थित मेट्रो अस्पतालमा ओपिडी सेवा दिन्छन् । तर, बिरामी उनलाई खोज्दै अरु दिन पनि घरसम्म आइपुग्छन् । उनका कान्छा छोरा डा अरुण कुँवरले पनि उनकै पथ पछ्याएका छन् अर्थात् मानसिक रोगमै विशेषज्ञता हासिल गरेका छन् । आफ्नो सक्रियता घटेपछि मानसिक रोग विरुद्धको आफ्नो अभियान र सपना छोरालाई सुम्पिन सहज हुने उनको ठम्याइ छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार