सेयर दलालको कमिसन कटौती गरिँदा घट्यो नेप्सेको मुनाफा

Nepal Live

काठमाडौं- सेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को मुनाफा खस्किएको छ।

नेप्सेले आर्थिक वर्ष २०७३/७४ मा ३७ करोड २० लाख ८५ हजार ९ सय ९२ रुपैयाँ खुद मुनाफा गरेको छ। आर्थिक वर्ष २०७२/७३ मा भने नेप्सेले ४७ करोड ४९ लाख ६० हजार ८ सय २२ रुपैयाँ नाफा गरेको थियो। ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको मुनाफामा कमी आएको हो।

नेपाल धितोपत्र बोर्डले सेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको मुनाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए। 
नेप्सेले गत आवमा ४६ करोड ७८ लाख २३ हजार ६७ रुपैयाँ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष ६९ करोड ६१ लाख ९४ हजार ४ सय ७३ रुपैयाँ आम्दानी गरेको थियो।

गत आर्थिक वर्षमा १ सय १ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी ५९ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको पूँजी परिचालन गरेका छन्।

प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ भने पुँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३ दशमलब ६४ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, दोस्रो बजारमा आर्थिक वर्ष २०७२/७३ मा रु एक खर्ब ६३ अर्ब ९५ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४ दशमलब ९० प्रतिशतले वृद्धि भई रु दुई खर्ब चार अर्ब ७९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

परिणामस्वरुप दैनिक औसत कारोबार अघिल्लो वर्षको तुलनामा ७० करोड ३६ लाखबाट बढेर ८९ करोड तीन लाख रुपैयाँ पुगेको छ। कारोबार संख्यातर्फ आर्थिक वर्ष २०७२/७३ मा आठ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता सेयर खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५ सय ८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा ६९ दशमलब ९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको सेयर कित्तामा गणना गर्दा २९ दशमलब ९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ। (रासस)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार