ad

दमकमा गुन्जियो नेपथ्य, अमृतले भने- \'गोविन्द केसीलाई साथ\'

SHARES
Nepal Live

दमक (झापा)- स्थापनाको रजत महोत्सव मनाउँदै गरेको लोक-रक ब्यान्ड नेपथ्यले दमकमा सांगीतिक प्रस्तुति दिएको छ। सरस्वती उच्च माविको प्रांगणमा शुक्रबार भएको कार्यक्रममा ब्यान्डका गायक अमृत गुरुङले दर्शक-श्रोतालाई भरपूर मनोरन्जन दिलाए। दमकमा नेपथ्यको यो चौथो उपस्थिति हो।

म्युजिक भिडियो ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर कार्यक्रमको थालनी गरिएको थियो। भिडियोलगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीले सरुभक्त रचित ‘कुरुप अनुहार’, ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’,  ‘आँगनैभरि’ लगायत गीत पस्कियो। बीचबीचमा गायक अमृतले ब्याण्ड स्थापनाको समयलाई स्मरण गरेका थिए। अमृतले ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’, ‘जोगले हुन्छ भेट’ समेत सुनाउन भ्याए।

‘तिमी पनि नेपाली’, ‘यो जिन्दगानी’, ‘कोसीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’, ‘रेशम’ र ‘तालको पानी’ गुञ्जिँदा दर्शक मच्चिई मच्चिई नाचेका थिए।

\"\"

अनसनरत डा गोविन्द केसीको प्रसंग जोड्दै गायक अमृतले चिकित्सा क्षेत्र सुधारका लागि केसीको पक्षमा सबैतिरबाट जनमत प्रकट गर्ने यो नै महत्वपूर्ण क्षण रहेको भनाइ राखे।

दमकका फ्यानको आग्रहमा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ गीत पनि प्रस्तुत गरिएको थियो। स्थानीय युवाहरुको समूह थ्री इन्क भिजन, जय मिडिया र पूर्वाञ्चल रक्सले कार्यक्रमको संयोजन गरेको हो।

सांगीतिक यात्रामा निस्किएको नेपथ्य टोली अब माघे संक्रान्तिका दिन चितवनस्थित नारायणी नदीको किनारमा प्रस्तुत हुनेछ। भैरहवामा भने माघ ४ गते ब्यान्डले प्रस्तुति दिनेछ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार