सप्तरीमा शीतलहरले मृत्यु हुनेको संख्या २४, दलित बस्तीमा सेनाले बाँड्यो कम्बल

Nepal Live

राजविराज– थप ५ जनाको मृत्यु भएपछि सप्तरीमा शीतलहरका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ। पछिल्लो पटक कञ्चनरुप नगरपालिका ४ का ४२ वर्षीय जडुली सदा, वडा नम्बर ५ (पिप्रा पुर्व) का ६० वर्षीय छोट्कन सदा, छिन्नमस्ता गाउँपालिका २ का ७० वर्षीया सरस्वतीदेवी साह र ५२ वर्षीया सरोदेवी मुखिया र हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहकी ६० वर्षीया शान्तिदेवी यादवको मृत्यु भएको छ।

सप्तरीमा चिसोका कारण मृत्यु हुने बालबालिकाको संख्या ३ पुगेको छ। 

चिसो बढेसँगै जिल्लामा कम्बल बाँड्ने र आगो ताप्ने व्यवस्था मिलाउन सरकारी निकायको टोली र विभिन्न संघसंस्था गाउँ–गाउँ जान थालेका छन्। चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको र जिल्लाभरि ७ हजार भन्दा बढी कम्बल वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिए।

नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वार्टर कार्यालयले महदेवा गाउँपालिकाका दलित र भूमिहीन परिवारलाई १ सय ५० थान कम्बल वितरण गरेको छ। सैनिक श्रीमती संघको सहयोगमा प्राप्त कम्बल ८७ परिवारलाई बाँडिएको पृतनापति उपरथी ईश्वर हमालले बताए।

आर्थिक अवस्था कमजोर रहेका दलित र सुकुम्वासी परिवारका लागि थप कम्बल र न्यानो कपडा उपलब्ध गराउन आफूले जिल्ला दैवी प्रकोप उद्दार समितिममा पहल गरिरहेको महदेवा गाउँपालिका अध्यक्ष दीपककुमार यादवले बताए।

सेनाको टोलीले चिसो पीडितलाई लक्षित गरी स्वास्थ्य शिविर पनि सञ्चालन गरेका छन्। डा विमिता महतको चिकित्सक टोलीले ३ सय ५० जनाको स्वास्थ्य चेकजाँच गरेको थियो। अधिकांशमा दम, रक्तचाप, रुघाखोकी, कोल्ड डाइरियाको समस्या देखिएको राजविराजस्थित भीम दल गणका निमित्त गणपति सेनानी चन्द्रबहादुर थापाले जानकारी दिए। बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो। 

शितलहरले सप्तरीमा हालसम्म मृत्यु भएकाहरुको नामवली

\"\"

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार