सशस्त्र मुख्यालय आगजनीको सिआईबीद्वारा अनुसन्धान सुरु 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– सशस्त्र प्रहरी बलको मुख्यालयभित्र चार साताअघि भएको आगलागी घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान सुरु गरेको छ। गृह मन्त्रालयको निर्देशनमा सिआईबीले अनुसन्धान गरेको हो। 

गृहका सह सचिव कृष्ण राउत संयोजकत्वको छानबिन समितिले आगजनी घटना नियोजित भएकाले गम्भीर अनुसन्धान गर्नुपर्ने सिफारीस गरेपछि गृह मन्त्रालयले सिआईबीलाई छानबिन गर्न निर्देशन दिएको हो। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीका अनुसार सुनियोजित तरिकाले महत्वपूर्ण श्रेस्ता तथा कागजपत्रहरुहरु नष्ट गरी प्रमाण नष्ट गराउने उदेश्यले सशस्त्र प्रहरी कर्मचारीबाटै आगो लगाइएको छानबिनमा खुलेको छ। 

घटनामा उच्च सशस्त्रका उच्च अधिकारीहरु समेत संलग्न हुनसक्ने आशंका सिआईबीलाई अनुसन्धानको जिम्मेवारी दिइएको हो। 

 गृहले आर्थिक प्रशासन निर्देशनालयका कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन सुरु भएपछि सशस्त्र प्रहरी कर्मचारीले कागजपत्र नष्ट गरेकाले आयोगलाई पनि गृहले त्यसबारे पत्राचार गरेको छ। 

यसअघि महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरी सई हुत बहादुर थापा र हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरिसकेको छ। एक सइ फरार छन्। 
गत पुस ४ गते राती साढे १ बजे सशस्त्रको स्टोर रहेको भवनमा आगो लागेको थियो। भ्रष्टाचार मुद्दामा पर्ने देखेपछि आफुले नै मट्टितेल छर्किएर आगो लगाएको हवल्दार श्रेष्ठले बताएका छन्। 
आगजनी घटनामा संलग्न कोही पनि उम्कन नपाउने सशस्त्र प्रहरीका डिआईजी बाबुराम पाण्डेले बताए। 
 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने