सिंहदरबाभित्रकै चोरी पत्ता लगाउन सकेन प्रहरीले 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– सिंहदरभित्रको क्यान्टिनमा चोरी भएको ५ दिन भएको छ। तर, प्रहरीले अझै पनि घटनाको बारेमा केही पत्ता लगाउन सकेको छैन। 
गत पुस २३ गते राती सिंहदरबारभित्रको क्यान्टिनबाट ४२ हजार रुपैयाँ चोरी भएको थियो। 

  सिंहदरबार पुर्ननिर्माण कार्यालयको भवनमा ललितपुरका विश्वराज सिलवालले संचालन गरेको क्यान्टिनमा चोरी भएको थियो। देशकै प्रमुख प्रशासकिय केन्द्रमा चोरी हुने आफैंमा आश्चर्यजनक घटना छ, त्यसमा पनि घटनामा संलग्नहरु पक्राउ नपर्नुले सिंहदरबारभित्रको सुरक्षा अवस्था थप उदांगो भएको छ। 

सिंहरबारभित्रै रहेको सुरक्षा गण तथा महानगरीय प्रहरी वृत्त अनामनगरले घटनाको अनुसन्धान गरिरहेको छ। तर, चोरीमा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन। चोरीमा सिंहदरबारभित्रै बस्ने व्यक्तिको संलग्नताको आशंका गरिएको छ। 

उक्त क्यान्टिनमा विगतमा पनि दुई पटक चोरी भइसकेको छ। यसअघि दुई पटक भाडाहरु चोरी भएको क्यान्टिन संचालक सिलवालले बताए। ‘ग्रिल हालिदिन आग्रह गर्दा मानेनन्,’ सिलवाल भन्छन्,‘त्यहीकारण पटक पटक चोरी भयो, चोरी भएको यत्रो दिन बित्दा पनि केही पत्ता लागेन ।’ महानगरीय प्रहरी वृत्त अनामनगरका डिएसपी अपिल बोहराले घटनाको अनुसन्धान भइरहेको बताए। 

२४ अ‍ैं घन्टा प्रहरी र सेनाको घेरामा रहने सिंहदरबारभित्र बारम्बार चोरी हुँदै आएको छ। 

गत पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडिका चार वटा टायर चोरी भएको थियो। सरकारी गाडि चालक चन्द्र बहादुर मोक्तानले नै टायर चोरेको खुलेको थियो। मोक्तान हालसम्म फरार छन्। 

कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै बारम्बारका चोरी घटनाले सिंहदरबारभित्रको सुरक्षा प्रबन्धमाथि नै प्रश्न उठेको छ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने