भारतले लगाएको बाँध भत्काउनुपर्ने नेमकिपाको प्रस्ताव, इजरायलको राजधानी जेरूसेलम घोषणा गरेकोमा विरोध

Nepal Live

भक्तपुर- नेपाल मजदुर किसान पार्टीको २८औं केन्द्रीय परिषद् बैठक विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५ देखि सुरु भएको परिषद् बैठक बिहीबार सकिएको हो। 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, भूकम्पपीडितको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पुँजीलाई दिने, शीतलहरको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव परिसद्‌ले पारित गरेको छ। त्यस्तै, नेमकिपाले नेपालको सिमानामा भारतीय पक्षले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्ने राष्ट्रिय प्रस्ताव पारित गरेको छ।

इरानको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, क्युवा र उत्तर कोरियाविरूद्ध अमेरिकाले लगाउँदै आएको नाकाबन्दी, संयुक्त राष्ट्रसंघको निर्णय विपरीत अमेरिकी साम्राज्यवादले इजरायलको राजधानी जेरूसेलम घोषणा गरेकामा पनि नेमकिपाले विरोध गरेको छ। 

परिषद्‌ले पार्टीको ४४औं स्थापना दिवस (माघ १०) लाई पार्टीको इतिहास, गतिविधि, प्रकाशन अध्ययन गरी छलफल र गोष्ठीसहित मनाउने निर्णय गरेको छ। त्यस्तै, कार्ल मार्क्सको द्विशतवार्षिकी सन् २०१८ मई ५ को अवसरमा वर्षभरि नै युरोपको इतिहास र भूगोल, मार्क्स र एंगेल्सको जीवनी, कम्युनिस्ट घोषणापत्र, पुँजी लगायत अन्य मार्क्सवादी साहित्य अध्ययन तथा प्रकाशन गरी छलफल गोष्ठीसहित मनाउने निर्णय गरेको छ।

परिषद्‌ले मोहनप्रसाद प्रजापति र राजवीर डंगोललाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ भने सुरेन्द्रराज गोसाईं, सिर्जना सायजू र राजेन्द्र चवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ। परिषद्‌ले पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गरेको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित गरेको थियो।

बैठकमा अध्यक्ष बिजुक्छेले पुँजीवादी व्यवस्थामा देश र जनताको हित नहुने भएकाले मार्क्सवाद–लेनिनवादको उदय भएको दाबी गर्दै नयाँ पुस्तालाई यसबाट शिक्षित बनाउनुपर्नेमा जोड दिएका थिए।

पटकपटक सरकारको नेतृत्व गरेका तर देश र जनताको लागि केही नगर्ने पार्टीहरूले नै चुनावमा आचारसंहिता उल्लङ्घन गरेको टिप्पणी गर्दै उनले जनताले दिएको मत खेर गएको जिकिर गरे। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्