सिन्धुपाल्चोकदेखि चीन जोडिने नाकासम्मको बाटो कालोपत्र हुँदै

Nepal Live

कर्थली, सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै चीनसितको फलाटे नाका जोड्ने बाह्रबिसेदेखि कर्थलीसम्मको ९ किलोमिटर बाटो कालोपत्र हुने भएको छ।

बाह्रबिसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो सडकमार्ग अन्तर्गत कालोपत्र हुने भएको हो। बतासे, खागदलदेखि ठाँटीचौर, क्षमादेवी, कर्थली, दुरुमथली दोलङ्सा हुँदै दोलखाको विगुसम्म पुग्ने उक्त मोटरबाटो हाल बतासेदेखि दुरुमथलीसम्म कालोपत्र हुन लागेको छ। 

बाह्रविसे नगरपालिका–२ कर्थलीका ४१ वर्षीय मिङ्मा लामु शेर्पा चार घन्टा हिँडेर बाह्रबिसे बजार पुग्ने गरेकामा अहिले एक घन्टामा नै बजारबाट घर पुग्दा साह्रै खुसी छन्। 'धेरै मानिसले तपाईंको गाउँमा बाटो ल्याइदिन्छौँ भन्दै भोट माग्न आए, मलाई गाउँमा यसरी बाटो आउलाजस्तो लागेको थिएन, आज आयो,' उनले खुसी व्यक्त गरे।

दोलखा र चीनसम्म जोड्ने बाटो आफ्नै गाउँबाट जान लाग्दा सोही गाउँका २७ वर्षीय विकास लामा पनि खुसी छन्। 'यो ठाउँ यस्तो होला भन्ने लागेको थिएन। अब गाउँमा बस्दा पनि आनन्द लागेको छ,' उनले भने।

उक्त सडक दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने हालको विगु गाउँपालिका र साबिकका १३ गाविसलाई जोड्ने काठमाडौँदेखिको नजिकको मार्ग हो। बतासेदेखि लामाबगर हुँदै चीन नाकासम्मको दूरी झन्डै ५० किलोमिटरको हाराहारीमा रहेको छ। 

सो सडक गौरीशंकर हिमालको पदयात्राका लागि पनि महत्वपूर्ण मानिन्छ। उक्त सडकले छुने ठाउँमा चौँरीका साथै यार्सागुम्बा, पाँचऔँले, खोटेसल्लो र धुपीजस्ता महत्वपूर्ण वस्तु पाइन्छन्। 

निर्माणको जिम्मा पाएको जोइन्ट भेञ्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीका इन्जिनियर रोहित पौडेल खत्री आफ्नो कम्पनीले पहाडी क्षेत्रमा बनाएको बाटोमध्ये सो बाटो नमूना बाटो भएको दाबी गर्छन्।

हाल कालोपत्र हुन लागेको बतासेदेखि दुरुमथलीसम्मको यो सडक रु ३३ करोडमा निर्माण हुन लागेको हो।रासस
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार