डिभिजन २ : मोन्टी देसाई नेपाल नआउने, वैदेशिक प्रशिक्षणको टुंगो केही दिनमा लाग्ने 

Nepal Live

काठमाडौं– एक महिनापछि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपालले प्रस्ताव गरेका कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक मोन्टो देसाई नआउने भएका छन्। नेपालले देसाईलाई प्रस्ताव गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले अन्य तीन जनालाई कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनाउन नाम पठाएको छ। 

आइसिसीले पठाएका कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षकमा मुम्बईका उमेश पटुवाल, सुरक्षण कुलकर्नी र हैदरावादका अभिजित चटर्जी छन्। अब नेपालले पटुवाल, कुलकर्नी र चटर्जी मध्ये एकलाई कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक नियुक्त गर्नेछ।

यसअघि नेपाली युवा टिमको कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक भएर काम गरिसकेका देसाईलाई नेपाल ल्याउन लागिएको नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले बताएका थिए। 

नेपाली टिममा यसअघि पनि काम गरिसकेकाले देसाईलाई ब्याटिङ प्रशिक्षक बनाउन नेपालले प्रस्ताव गरेको थियो। भारतीय प्रशिक्षक देसाईले नेपाली यू–१९ टिमको ब्याटिङ प्रशिक्षण सम्हालेका थिए। देसाईको ब्याटिङ प्रशिक्षणमा नेपाली युवा टिमले यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता र एसिया कप खेलेको थियो। देसाईले सन् २००८ देखि २०१३ सम्म इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको प्रशिक्षण सम्हालेका थिए।

२०७३ बैसाखमा नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपाली क्रिकेट टिमको सम्पूर्ण व्यवस्थापन आइसिसीले हेर्दै आएको छ। आइसिसीको अनुमोदानबिना नेपालले प्रशिक्षक मात्र नभई वैदेशिक प्रशिक्षणका पनि जान सक्दैन। यसर्थ डिभिजन २ का लागि वैदेशिक भ्रमणको टुंगो पनि लाग्न सकेको छैन। 

नेपालले दक्षिण अफ्रिका र दुबईमा वैदेशिक प्रशिक्षण गर्न आइसिसीसँग प्रस्ताव गरेको प्रशिक्षक टमाटाले बताए। टमाटाले केही दिनमै आइसिसीले नेपालको प्रस्तावलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे। 

मंगलबारबाट सुरु भएको पहिलो चरणको तयारीमा २१ खेलाडी सहभागी छन्। नेपालमा १५ दिन प्रशिक्षण गरेपछि २१ खेलाडीबाट राष्ट्रिय टिम घोषणा गरिनेछ। त्यसपछि नेपालले अन्तिम तयारी विदेशमा गर्नेछ। विदेशमा कम्तीमा ३ वटा अभ्यास खेल खेलेपछि नेपाल नामिबिया प्रस्थान गर्नेछ।   

डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

नेपालसहित युएई, नामिबिया र केन्या विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपबाट शीर्ष ४ मा पर्न नसकेपछि डिभिजन–२ मा झरेका हुन्। क्यानडा र ओमान भने डिभिजन–३ बाट उक्लिएका टिम हुन्।

पहिलो चरणको टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, करण केसी, ज्ञानेन्द्र मल्ल, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, रोहित कुमार पौडेल, रसिद खान, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सुनील धमला, सुशन भारी।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्