पोखरा महोत्सव : २३० व्यापारिक कक्ष, हात्ती सफारी गर्न पाइने

Nepal Live

पोखरा- युनाइटेड क्लबद्वारा आयोजित आठौँ संस्करणको ‘पोखरा महोत्सव’ अमरसिंह चौरमा सुरु भएको छ। 

महोत्सवबाट संकलित रकम चिडियाखाना निर्माण लगायत शिक्षा, स्वास्थ्य, खेलकुद, प्राकृतिक स्रोतको संरक्षण, सडकमा सौर्यबत्ती जडानका साथै पर्यटन प्रवर्द्धन जस्ता सामाजिक क्रियाकलापमा सहयोग गर्ने क्लबले जनाएको छ। 

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले महोत्सवको बिहीबार उद्घाटन गर्दै चिडियाखाना निर्माणमा राज्यको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिए।

सामुदायिक वनमा चिडियाखाना सञ्चालन गर्दा देखिने कानुनी अड्चनलाई संघ र प्रदेशसभाले सहज बनाउने बताउँदै उनले त्यसका लागि सम्बन्धित निकाय र विभिन्न सामाजिक संघसंस्थाबाट सुझावको अपेक्षा गरिएको धारणा व्यक्त गरे।

चिडियाखाना विज्ञ जुद्धबहादुर गुरुङले सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एउटा चिडियाखाना निर्माण गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिने अभियान सुरु गरिएको बताए।

पोखराको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ स्थित पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वनलाई समेटेर खुल्ला चिडियाखाना निर्माणका साथै सेती नदी सरसफाइ अभियानमा जुट्दै आएको क्लबका पूर्वअध्यक्ष हिमालय बख्रेलले जानकारी दिए।

२३० वटा व्यापारिक कक्ष रहेको सो महोत्सवमा दर्शकका लागि हात्ती सफारीको समेत व्यवस्था गरिएको छ। प्रदर्शनीमा खानाका विभिन्न परिकारसहित ‘फ्रि वाइफाई’का साथै राष्ट्रिय कलाकारका विभिन्न मनोरञ्जनात्मक प्रस्तुति अवलोकन गर्न पाइनेछ । 

करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो महोत्सवबाट रु एक करोड १४ लाख आम्दानी र रु ७९ लाख खर्च भई रु ३५ लाख बचत गर्ने लक्ष्य रहेको क्लबका महासचिव राजु श्रेष्ठले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार