ad

पर्यटन विकासमा तात्यो धरान, पदमार्ग र होमस्टेबारे अध्ययन सुरु

SHARES
Nepal Live

इनरुवा- सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवर्द्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन। स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन सुरु गरेको छ। 

समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन थालेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बाबु काफ्लेले जानकारी दिए।

पदमार्ग अध्ययन टोलीले धरान–४ वसन्तटारस्थित अर्गानिक गाउँदेखि दानाबारी गढी थुम्की हुँदै सेर्गेसम्म स्थानीयवासीसँग छलफल गर्दै अध्ययन गरेको छ। दानाबारी, हर्दियादेखि सेर्गे गाउँ हुँदै नाम्जेको बीचमा इको ट्र्याक र क्यानोनिङका लागि उपयुक्त स्थल पनि फेला पारेको पर्यटन प्रवर्द्धन समिति, धरानका सदस्य लेखमणि जिमीले बताए।

दानाबारी पछिल्लो समयमा धरानेका लागि हाइकिङ गन्तव्य बन्दै गएको छ। यहाँको भ्यू प्वाइन्टबाट मौसम खुल्दा धरानका साथै तराईको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ।

यो पदमार्गमा दानाबारी सम्मको एक दिनको हाइकिङ गर्न सकिन्छ भने दुई दिन एक रात वा तीन दिन दुई रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ। पदमार्गमा पहिचान भएका क्षेत्रमा पर्यटन सम्बन्धि सचेतना कार्यक्रमसहित भौतिक संरचना निर्माण गरिने पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक किशोर थुलुङले बताए।

पर्यटन प्रवर्द्धन समितिले गन्तव्यस्थलको पहिचान र साहसिक खेल प्रवर्द्धन गर्ने कार्ययोजना बनाएर अघि बढ्न सके धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास सँगै पर्यटन व्यवसायलाई आर्थिक स्रोतको मूल आधार बनाउन सकिनेमा कुनै दुई मत देखिँदैन। धरान उपमहानगरपालिकाले थालेको कामलाई प्रचारका लागि प्रचार मात्र नगरी यसलाई अन्तिम रुप दिन जरुरी देखिन्छ।रासस
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार