ad

भारत र चीनद्वारा उत्तर-दक्षिण कोरियाबीचको वार्ताको स्वागत

SHARES
Nepal Live

बेइजिङ- दुई कोरियाबीच उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन्। 

कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीच मंगलबार भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन्। 

भारतले कोरिया प्रायद्वीपको स्थिरता, शान्ति, संवृद्धि र मेलमिलापका लागि सहयोग गर्न तयार रहेको जनाएको छ। 

विदेश मामिला मन्त्रालयका प्रवक्ता रभिश कुमारले वार्ताबाटै आपसी विवाद र द्वन्द्वको अन्त्य गर्न दुई देश सफल हुने विश्वास व्यक्त गरे।

त्यसैगरी चीनले पनि वार्ताबाटै उत्तर कोरिया र दक्षिण कोरियाले ठिक बाटो पत्ता लगाउनु पर्नेमा जोड दिएको छ। 

कोरियाली प्रायद्वीपमा शान्ति र सद्भाव स्थापना गर्न उच्चस्तरमा भएको वार्तालाई अत्यन्त सकारात्मक रुपमा लिइएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङले बताए।

हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेका थिए।

वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने जनाएको छ। छलफलमा विशेषगरी यसै खेलकुदका विषयमा बढी कुराकानी भएको थियो।

लामो समयदेखि नै शत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलो पटक उच्चस्तरमा औपचारिक वार्ता भएको हो।रासस/सिनह्वा
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार