कथा : रामलीला 

एमपी केयरलेस

Nepal Live

'चुलभुलले चुनाव नै जिते जस्तो गर्छन् त हो थारुहरु', एउटा साथीले बडो नमज्जाले भन्यो।

'अचेल त थारुहरु त्यसै निहुँ खोज्छन् त हो!' अर्कोले थप्यो। 

'किन?', मैले सोधेँ।

'आज त्यसको घरमा रामलीला देखाउने रे', उसले अमिलो मुखले मीठो कुरा सुनायो।

मैले खुसी हुँदै भने, 'त्यसो भए त  हेर्न जानुपर्छ।'

अर्को साथीले गेम शो गर्‍यो। केही पैसा हारियो।

केटाकेटीको दशैं आँगनमा थियो। आइमाईको दशैं भान्सामा थियो। लोग्नेमान्छेको दशैं कि भट्टी पसलमा थियो कि जुवाको खालमा। म पनि लोग्नेमान्छे र  मेरो दशैं पनि जुवाको खालमै थियो।

'बेबिका पनि आउँछे होली नि?' मैले सोधेँ। 

'आउँछे होली', उसले अलि शान्त स्वरमा भन्यो।

'अर्काकी स्वास्नी हो, अब चैं विचार गरेस्', उसले नै भन्यो। कोठामा  अलिकति हाँसो गुञ्जियो।

अर्कोले थप्यो, 'हुन नसकेकी वार्ड  अध्यक्षकी छोरी हो, याने कि अर्को पालिकी वार्ड अध्यक्ष।' हाँसोले उग्र रुप लियो। त्यो हाँसोमा मेरो हाँसो पनि सामेल  थियो।

साथीले  ओठ मिठ्याउँदै फेरि थप्यो, 'बच्चा जन्मेपछि झन् राम्री भएकी छे यार!'

'को?' मैले सानो जिज्ञासा राखेँ।

'बेबिका', उसले छोटो उत्तर दियो।

'है!' भन्दै म चुप लागेँ।

फेरि उसले मलाई जिस्काउँदै भन्यो, 'तेरी त  लीला हो  नि  बेबिका,  तँ त जान्छस् होला नि?'

म चुप बसेँ।

बेबिका र मेरो कथामा न  कुनै नयाँपन छ, न कुनै  फरकपन नै छ। लगभग मसँगै जन्मेका पहाडियाका छोरा र थारुकी छोरीबीचको कथा जस्तै छ हाम्रो कथा पनि। एक-दुईको फरक होला, त्यो पनि नजिकबाट हेर्योक भने  मात्र।

गाउँमा रामहरु थिए र लीलाहरु तोकिन्थे।

कसैकी लीला भ्याभ्ली होली त कसैकी लीला फूलकुमारी थिई। मलाई जिस्काइरहेको साथीकी लीला हसिना थिई। म बेबिकाको राम  थिएँ।

एउटा सानो उपकथा छ, कसरी रहन गयो थरुनीको नाम  'बेबिका'। त्यो विस्तारमा भन्नेछु।

***

बेबिकाका बा-आमा हाम्रो घरमा कमैया थिए। मैले सुने अनुसार मभन्दा ठीक एक महिना अगाडि बेबिका जन्मेकी थिई रे।  आजसम्म पनि बेबिका मलाई 'बाबु' नै भनेर बोलाउँछे र उसले मेरो नाम लिएर  मलाई बोलाएको याद छैन। तर, मैले बेबिकालाई दिदी भनेर बोलाएको मलाई याद छैन। ऊ मेरा लागि बेबिका हो। उसका लागि म 'बाबु' हुँ।

मैले र बेबिकाले क, ख सँगसँगै सिक्यौं। फरक यति हो, मैले स्कुलमा सिकेँ, बाध्यताले सिकेँ। सरले सिकाए, बाध्यताले सिकाए। बेबिकाले मेरो घरमा सिकी, रहरले सिकी।  मैले सिकाएँ,  रहरले सिकाएँ।

बेबिकालाई र मलाई उसकी आमा 'बड्की' ले नै हुर्काई। मेरा बा-आमाले  मलाई हुर्काउने जिम्मा बड्कीलाई नै दिएका थिए रे। बड्की हामीलाई नाङ्गै पार्थी र नुहाइदिन्थी। त्यो दिनसम्म नाङ्गै नुहाइ दिई, जुन दिनसम्म हाम्रो  परिचय  लाजसरमसँग भएन।

हामीलाई एउटै नलको पानीले नुहाइन्यो्ग। फरक यति हो, मेरो जिउमा साबुन लगाइन्थ्यो, बेबिकाकोमा पिना। सम्झनलायक कुरा के हो भने, कहिलेकाहीँ बड्कीले  मेरा आमाबुबाको आँखा छलेर बेबिकाको जिउमा पनि साबुन दलूँ भनेर मलाई  सोध्थी। म टाउको तलमाथि  गर्थेँ  र 'हुन्छ'  भन्थेँ। साबुनले नुहाएको दिन बेबिका भकारीमा झुन्याध्एको ऐना  दिनमा तीन-चार पटक हेर्थी।

बेबिकाले ममाथि  एउटा आरोप लगाउँथी, 'तै साबुन से नुहाके गोहर हुइले।'

अनि मेरो हातको एक झापड खाएपछि केही दिनका लागि त्यो आरोप हराउँथ्यो। 

***

गेम शो मैले गरिदिएँ।  केटाहरुले खाउँला झैं आँखाले मलाई हेरे। म मुस्कुराएँ। किनकि उनका आँखाले भनिरहेका थिए, मैले कुनै पत्ती चोरेको छु। उनीहरुको शंका  ठीक हो, किनकि मलाई साथीहरुले बच्चैदेखि बुझेका छन्। तर, यो सब आयोडिनयुक्त नुनको कमाल हो भन्ने कुरा उनीहरुले बुझ्नै  सकेनन्। 

***

पहिलो पल्ट हाम्रो बयलगाडा चढेर हाम्रो घरमा ठूलो कालो ब्याट्री आयो, ब्याट्रीसँगै टिभी पनि आएको थियो। त्यो दिन बाभन्दा बढी  खुसी चुलभुल थियो।

टिभीभित्र त के-के आउँथे, भनिसाध्य छैन। 

टिभीको लहैलहैमा लागेर बाले भान्छामा आयोडिन नुन भित्र्याए। तिकुनियाका देशीले ल्याउने ढिक्केनुन हाम्रो भान्छाबाट गोठमा पूर्णरुपले सरुवा भयो। त्यो दिनदेखि गोठको माथि बस्ने बेबिका  र बेबिकाका  बुबाआमा अनि तल बस्ने तारेभैंसी र दुइटा राँगाले मात्र  ढिक्केनुन खान थाले।

आयोनुन भान्सामा आएको एक महिना त म यति बाठो भएँ, टिभीमा आउने  फुच्चाफाच्ची मभन्दा लाटा छन् जस्तो मलाई लाग्थ्यो। म पहिलेभन्दा चाँडो बेलौतीका रुख चढ्न सक्थेँ, भकुन्डो लातले हिर्काएर पहिलेभन्दा टाढा पुर्‍याउन सक्थेँ, दौडेर सबैलाई पछि पार्न नसके पनि पहिलेभन्दा चाँडो दगुर्छु- यस्तो मलाई  लाग्थ्यो। उसो त म दिउँसो घरमा कोही नभएको मौका पारी आयोनुन एक चम्चा खाइहाल्थेँ।

एकदिन  दिउँसो  घरमा कोही नभएको मौका पारी मैले बेबिकाको हातमा अलिकति आयोनुन राखिदिएँ र आफ्नो हातमा पनि अलिकति राखेर सँगै खायौं। त्यही दिन बेलुका अचम्मै भो। बेबिकाले चार वटा घामकिरी समाती। त्यो  दिनपछि  मैले बेबिकालाई कहिल्यै आयोनुन दिइनँ।

अनि ममाथि बेबिकाले अर्को आरोप थपी, 'तै प्याकेट के नुन खाके  चलाख हुइले।' उसले आफैंले दुश्मनीको मात्रा बढाएकी थिई। मैले ऊमाथिको गोदाइको मात्रा बढाउनैपर्ने भो।

***

फेरि त्यही साथीले सोध्यो, 'तैंले बेबिकालाई त्यसै त छोडिनस् नि?'

म केही बोलिनँ। हातमा मिलिसकेका तीन वटा रमि जमिनमा फ्याँकिदिएँ। माल हेरेँ,  मिस्सी  (बेबिका) थिई। माल अलिक बढी परेकाले म मुस्कुराएँ। 

साथीले भनिहाल्यो, 'के छाड्दो होस्!

***

नैतिक शिक्षा र स्वास्थ्य तथा जनसंख्या  शिक्षाले मलाई समयभन्दा चाँडो जवान बनाइदिएका थिए। स्वास्थ्य तथा जनसंख्या शिक्षा मेरा उमेरका सबै साथीको  विशेष रुचिको विषय थियो, किनकि विषय नै रुचिकर थियो। यौन शिक्षा भन्ने पाठले एउटा सभ्य भाषा सिकाएको थियो- 'यौनसम्पर्क'। तर, गाली गर्दा यो सभ्य भाषा आजसम्म काम आएको छैन।

स्वास्थ्य तथा जनसंख्या शिक्षाको असर ममाथि  यतिविघ्न थियो, म स्वास्थ्य तथा जनसंख्या शिक्षाभित्र राखेर बजारमा पाइने अनेकथरी 'डाँफे' बुक पढ्थे।  ती 'डाँफे' बुक उपल्ला कक्षाका दाइहरुबाट झिसमिसे अँध्यारोमा  पढ्नका लागि मात्र दिइन्थे।

दशैंमा देखाइने रामलीलामा रुचि घट्दै गएको थियो। हनुमानले पहाड ल्याए भन्दै परालको पहाड ल्याउँदा हाँस्न चटक्कै छाडिदिएको थिएँ। रावणको हाँसोले डर लाग्न छाडिसकेको थियो। मुख्य कुरा  रामलीलापछि आइमाई, केटाकेटी घर जान्छन्, हिजडाहरु नाच्छन् र पुरुषहरु हेर्छन् भन्ने थाहा पाइसकेको थिएँ। यी सब कुराले गर्दा म रामलीला देखाइने ठाउँसम्म जान्थेँ, तर उद्देश्य रामलीला हेर्ने हुन्थेन।

मेरो बैंस हुर्किन लागेकै वर्ष हो सायद।

म बेबिकासँगै रामलीला हेर्न गएको थिएँ। भीड पहिलेभन्दा केही बढी थियो। ती दिनहरुमा हाम्रो गाउँमा  कालिकोटेहरु बसाइँ सरेर आएका थिए। तर, उनीहरुको टोलको नाम थियो, जुम्ली टोल। ती दिनहरुमा जुम्लीहरु पनि रमिता हेर्न आउने भएकाले दर्शकको संख्या बढेको थियो। म र बेबिका भीडलाई धकेल्दै अलि भित्र पस्यौं।  हामी त्यस्तो ठाउँमा थियौं, जहाँ हाम्रो अगाडिका  सब दर्शक बसेका थिए भने पछाडिका सब दर्शक उभिएका थिए। बेबिकाले बसौं भन्दै थिई, मैले नै उभिएर हेरौं भने। त्यो बेला पनि बेबिकाले मैले भनेको मानी।

रावण ठूल्ठूलो स्वरले हाँसिरहेको थियो, सीता सुँक्कसुँक्क रोइरहेकी थिई।

बेबिका निराश भएर एकोहोरो सीतालाइ हेरिरहेकी थिई। मैले साथीहरुले सिकाए झैं पछाडिबाट हात लगेर बेबिकाको बायाँ छातीलाई च्याप्प समातेँ र  हातमा आगो पर्दा जति चाँडो छोडिन्छ नि,  त्योभन्दा चाँडो छाडिदिएँ। मैले एउटा मर्दले गर्ने काम गरेँ! साथीको जुक्ति सफल भयो, मेरो कला अद्भूत रह्यो। 

बेबिकाले टाउको घुमाएर पछाडी हेरी। तर, केही बोलिन। केहीबेरमै मतिर हेर्दै भनी, 'बाबु, आघे जाके बैठी।'

उसको नाजुक प्रस्तावलाई मैले सीधा इन्कार गरिदिएँ। उसले अलि दृढ भएर भनी, 'बाबु, आघे जाके बैठी टो ठीक बा,  नि टो मै घरे जाइटु।'

'जाने भए जा न त। म त कहीँ जान्नँ', मैले भनेँ। बेबिकाले मलाई एक पल्ट पुलुक्क हेरी अनि आफू चाहिँ अलि अगाडि गएर कोचिँदै भुइँमा बसी।

मेरो एउटा रहर पूरा भयो।

त्यस वर्षपछि गाउँमा रामभन्दा बलिया माओवादी आए। हनुमान जस्ता पुलिसले पनि रामलीला नदेखाउनू भनेर गए। त्यही वर्ष रामलीला सकियो, हिजडा सकिए।

*** 

गेम शो गरिदिएँ। साथीहरुका आँखाले उही पुरानी प्रश्न गरिरहेका थिए, 'फेरि पत्ती चोरिस्?'

मैले हाँस्दै जवाफ दिएँ, 'आयोडिन नुन खाने गर केटा हो! चनाखो भइन्छ।'

झिसमिसे अँध्यारो  भइसकेको थियो। साथीहरुको साझा प्रस्ताव आयो, 'खाना खाएर फेरि खेल्न आउने।'

बिहेपछि साथीहरु ज्ञानी भइसकेका रैछन्। मलाई रामलीला हेर्ने मन थियो।

खेल्ने प्रस्ताव विपरीत मैले भनेँ, 'म चैं रामलीला हेर्न जाने हो।'

एउटा साथीले भन्यो, 'सीधा भन् न, बेबिकालाई भेट्न जाने हो।'

अर्कोले भन्यो, 'नजा हो, अचेल चुलभुललाई तपाईं भन्नुपर्छ।'

हाँस्दै मैले सोधेँ, 'किन तपाईँ भन्नुपर्छ र तेसलाई?'

उही साथीले जवाफ फर्कायो, 'पहिले पो हाम्रो कमैया थियो, अचेल त हुन नसकेको वार्ड अध्यक्ष हो नि!'

'तँ पनि तपाईं भन्छस्?', मैले उसैलाई प्रश्न तेर्स्याएँ।

'म त भन्दैन मु*लाई, चुनावको बेला चैं  चुलभुल सर भन्थेँ। के था कतै मु*ले जितिदिएको भए?'

मैले चाख लिँदै सोधेँ, 'अचेल के भन्छस् त?'

'अचेल चैं तिमी भन्दिन्छु, खुसी हुन्छ जाँ* !'

म खाना खाइसकेर चुलभुलको घरतिर जाँदै थिएँ। अप्ठ्यारो लागिरहेको थियो, चुलभुललाई तँ भन्नु कि तिमी भन्नु कि, तपाईं भन्नु?

चुलभुलको घर अगाडिको सडकलाई अलिकति च्यापेर  स्टेज बनाइएको थियो। स्टेजको मोहडा हेरेर थाहा हुन्थ्यो, दर्शक चुलभुलको आँगनमा बस्नुपर्नेछ। स्टेजको रुपरङ हेरेर थाहा हुन्थ्यो, रामलीलापछि हिजडा नाच्ने छैनन्।

चुलभुलको आँगनमा सिएफएल चिमको उज्यालो  छरिएको थियो। म आँगनमा पुग्नासाथ चुलभुल बोल्यो, 'बाबु, राम राम बाबु!'

'नमस्ते चुलभुल सर।'

'मिझ्नी खाइलो कि नाइ बाबु?'

'खाएँ, तिमीले?'

'नाइ खाइले हुइबो हो  टो एहोरी खाइ।'

'खाइसकेँ हो, खान्नँ।'

'सिकार खिबो?'

'खान्नँ, छाडिदेऊ।'

'इत्ति' भन्दै उसले थोरैको इसारा गर्योम। 

'छाड्देऊ न हो।'

म खाटमा बस्न खोज्दै  थिएँ।

'रुको बाबु' भन्दै बेबिकाको स्वर सुनियो। उसको हातमा गुन्द्री थियो। मुखमा दाँत माझ्ने  ब्रस थियो।

'अरे वाह! ब्रस गर्दै छस् त', बस्दै अलिकति  जिस्काउँदै भनेँ। 

'आज सिकार खाइल उहि मारे।'

'अनि आजभोलि के गर्छेस् त नि?'

ऊ केही बोलिन। चुलभुलले अछामीमा  बोल्यो, 'टीकापुर एक  बोर्डिङनौ काम हद्दी छु भन्नी  छिइ।' 

'तेरो पोइल त्यतै होइन र?'

'हां।'

चुलभुल र बड्कीले दाँत माझेको मलाई याद छैन। तर, बेबिका माझ्थी। सानो छँदा म दाँत माझ्न लाग्दा बेबिका मेरो छेउ आउँथी।

म उसको चोरऔंलामा टुथपेस्ट राख्दिन्थेँ। ऊ औलाले माझ्थी। एक मंसिरको महिना उसले धानखेतमा धान उठाइसकेपछि खेतमा छुटेका धानका बाला टिपेर ब्रस किनिछे। अर्को बिहान मैले दाँत माझ्ने बेला ऊ टुथपेस्ट माग्न आई। ऊ एकदम खुसी थिई,  त्यति खुसी त रामलीलाको रावण पनि सीतालाई  पाउँदा पनि खुसी  देखिन्थेन। 

उसको ब्रस नयाँ थियो, मेरो पुरानो। मैले टुथपेस्ट दिनुको साटो उसको सामु एउटा सर्त राखेँ, बर्स साटे मात्र टुथपेस्ट दिने। उसले त्यो दिन  ब्रस साट्न मानिन। मैले टुथपेस्ट दिइनँ। तर, अर्को दिन बिहानै ऊ मेरो हिजोको सर्त मान्न राजी भई। म पनि टुथपेस्ट दिन राजी भएँ।

त्यसपछि हामी सँगसँगै ब्रस गर्ने गर्थ्यौं। यो अलग कुरा हो, आमाले बेबिकालाई आरोप लगाउनुहुन्थ्यो, 'बेबिका टुथपेस्ट खाएर सक्छे।'

बेबिकाले फेरि आग्रह गरी, 'बाबु, सिकार खिबो?'

'केको हो?', मैले सोधेँ।

'छेगृके।'

'बुंगुरको छैन?'

'मजाक नाइ करो बाबु। टु बुंगुरके सिकार कब्बु नाइ खिबो।'

'बुंगुरको भए खान्थेँ, खसीको त घरमै खाएर आको', मैले हाँस्दै भनेँ। 

फेरि चुलभुलतिर हेर्दै हाँस्दै  अछामीमा भनेँ 'बड्डाउ, थोक्काइ  नभए वार्ड अध्यक्ष भैजाने रैछौ त!'

उसले हाँस्दै अछामीमा भन्यो, 'आफ्नाइले भोट हालेन्न।'

'कसले हालेन र?'

'टीकापुर घटनाले चिड्को पाड्यो।'

मैले फेरि हाँस्दै भने, 'के भन्छस् हो  चुलभुल?'

'परार माप राडी लड्या त, यही साल मैकी घाटा लाग्यो।'

चुलभुलको आँगनमा तीन  जना थारु जवान आइपुगे। सायद रामलीलाका कलाकार हुनुपर्छ। अलि मातेका थिए।

मतिर हेर्दै उनीहरुमध्येको एउटाले  सोध्यो, 'यी कौन मनैया हो?'

'हामार बाबु हे, एहर आघे घर बा।'

'के कर छावा हो?'

चुलभुलले बुवाको नाम भनिदियो।

उसले प्याच्च मुख छोड्यो, 'बुर चोदिक पर्बटिया! डोटेल झाट हामार सक्कु घर जलाइदेटो!'

म जुरुक्क हिँडेर रोडमा निस्किएँ। म  आफ्नो बाटो  लाग्दै थिएँ।

चुलभुल मेरो पछिपछि आयो। चुलभुलको पछिपछि बेबिका पनि थिई।

'बाबु, बाबु,  तमि कुडा त सुन।'

म टक्क अडिएँ र भनेँ , 'भन्, के भन्न आको होस्?'

'बाबु , ती मेरा जवाइँ हुन्, परार टीकापुर घटनामा तिनको पनि घर जलाइदिए। ती आफू भागेर बम्बै छिया। यही दशैंका लागि अस्ति  आका हुन्।'

मैले बेबिकातिर हेर्दै भनेँ, 'अनि थोडै मैले जलाएको हुँ र तेरो घर?'

'बाबु, रक्सी खाए बेला मान्छेको बुद्धि गु खान गएको हुन्छ। बाबु तम्रा खुट्टामा ढोग छ। केहि लफडा नहरे है', चुलभुलले एकै सासमा यति भन्यो।

'अनि तैंले बिहे कहिले गरेकी थिस् नि?' मैले बेबिकालाई सोधेँ।

तर, उत्तर चुलभुलले दियो।

'तै साल जेठमा बिहा भया छियो, पछे भदौ त त्यसो भैगो। त्यसपछि बेबिका टीकापुर गयाकी छैन, यहीँ छ।'

त्यसपछि म आफ्नो बाटो  लागेँ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने