निबन्ध : एक सेकेन्डको जिन्दगी

गणेश पौडेल (अकबरे)

Nepal Live

जो कोहीले भन्न सक्छ, हप्तामा ७ दिन हुन्छन्। १ दिनमा २४ घन्टा। १ घन्टामा ६० मिनेट र १ मिनेटमा ६० सेकेन्ड। समयको लेखाजोखा यसरी नै गर्छ दुनियाँ।

मलाई लाग्छ, समय भनेको मात्र १ सेकेन्ड हो। जिन्दगीको आयु मात्र १ सेकेन्ड हुन्छ।

***

यतिबेला म एक बन्द परिधिमा छु। बन्द हुनु भनेको निश्चित परिधिभित्र कैद हुनु हो। मलाई बन्धक बनाउने २ कोठा छन्। एउटा कोठा, जहाँ म काम गर्छु। अर्को कोठा, जहाँ म आराम गर्छु। 

मलाई हरेक कुरामा स्वतन्त्रता छ। तर, यही बन्द परिधिभित्र। भोकले मलाई यो परिधिमा बाँधेको छ।  हुन त यो सिंगो संसार पनि बन्द नै छ। यसको पनि परिधि छ। त्यही परिधिभित्र हामीले जिन्दगी रंग्याउँछौं।

विज्ञान भन्छ, पृथ्वी गोलाकार छ। त्यही गोलाकारभित्र सबैथोक छ। गोलाकारबाहिर जाने ठाउँ छैन। गइहाले पनि आउने बाटो छैन। सबै शून्य छ।

पृथ्वीभित्रकै एउटा सानो परिधिभित्र म बन्द छु। बन्धक हुनु भनेको सबैथोकको अन्त्य हुनु होइन। नयाँ सिर्जनाका लागि ढोका खुल्नु हो। नयाँ सम्भावनाहरूको खोजी हुनु हो। एउटा परिधिभित्र नै हामी बाँच्छौं। त्यही परिधिभित्र सम्भावनाहरू खोज्छौं।

समयमापक यन्त्र हो घडी। यो मानवनिर्मित हो। घडीको संकुचित घेराबन्दीमा हामी बाँचिरहेका छौं। समय चलायमान छ भनिन्छ, तर मलाई लाग्छ समय शून्य छ। समय चलायमान छैन। समय निश्चित बिन्दुमा टक्क अडिएको छ। समय मात्र सेकेन्ड हो। हाम्रो मुटु एक पटक धड्किँदा कति समय लाग्छ, त्यति मात्र हो समय।

मानव जीवन र समयको आयु बराबर छ। मानव जन्मेपछि समय सुरू हुन्छ र मृत्युमा अन्त्य हुन्छ। प्रत्येक प्राणी र वनस्पतिको आ-आफ्नो समय छ। सजीव प्राणी र वनस्पतिले आफ्नो समय बाँच्छन्। त्यही समयभित्र आफ्नो भिन्न रूप देखाउँछन्। हामी त्यही भिन्न रूपलाई समय भन्छौं। त्यही भिन्न रूपलाई मापन गर्छौं। परिधि बनाउँछौ र भ्रममा बाँच्छौं। निर्जीवहरू शून्य हुन्। शून्य हुनु भनेको केही नहुनु होइन। केही भएर पनि नगन्य हुनु हो। गन्य भए पनि स्वचलायमन नहुनु हो। हाम्रो जीवन अर्थात् एक सेकेन्ड समय रहुन्जेल हामी सजीव हुन्छौं, त्यसपछि हामी निर्जीव हुन्छौं। निर्जीवको मात्र रूप छ। अस्तित्व छ, तर शून्य।

समयको रूप एउटै मात्र छ- 'अन्धकार'। विज्ञान भन्छ- सूर्य नहुँदो हो त पूरै वायुमण्डल अन्धकार छ। सूर्यको प्रकाश नपर्दो हो त यहाँ न दिन हुन्छ न रात। हुन्छ त केवल अन्धकार।

मलाई बन्धक बनाउने दुई कोठामध्ये एकमा कहिल्यै अन्धकार हुँदैन। अर्कोमा कहिल्यै उज्यालो हुँदैन। कहिले रात पर्छ? कहिले उज्यालो हुन्छ? मलाई थाहा हुँदैन। उज्यालो दुनियाँ उज्यालै मात्र छ। अँध्यारो दुनियाँ अँध्यारो मात्रै। यी दुवै कृत्रिम हुन्। मानवनिर्मित हुन्। प्राकृतिक दिनरातसँग यिनीहरूको सरोकार छैन।

मेरो कार्यक्षेत्र सधैं उज्यालो हुन्छ। जहाँ एउटा मेसिन छ, जुन प्रतिसेकेन्डमा एक पटक चल्छ। भित्तामा एउटा घडी छ। घडीमा सेकेन्ड मात्र बज्छ। जसले मेसिनलाई मनिटर गर्छ।

मेरो मुटु, मेसिन र घडी तीन वटाकै चाल एक छ 'टक टक टक टक।' यद्यपि म भित्ताको घडीलाई रोक्न सक्छु। सामुन्नेको मेसिनलाई रोक्न सक्छु। तर, मेरो मुटुलाई रोक्न सक्दिनँ। त्यसैले मसँग समय छ। मसँग जिन्दगी छ। जुन दिन मेरो धड्कन रोकिन्छ, सारा कुरा रोकिन्छ। समय... जिन्दगी... सबै सकिन्छ।

यो सानो परिधिमा बन्धक हुने म र अर्को एक साथी छ। तर, हामी दुईको भेट कहिल्यै हुँदैन। मेरो समयले रात पार्दा उसको समयमा दिन आउँछ। उसको समयमा रात पर्दा मेरो समयमा दिन आउँछ। भन्नुको मतलब ऊ सुतेको बेला म जाग्छु। म सुतेको बेला ऊ जाग्छ। म कार्यक्षेत्रमा भएको बेला ऊ आराम कक्षमा हुन्छ। ऊ कार्यक्षेत्रमा भएको बेला म आराम कक्षमा हुन्छु।

हामी दुवैलाई रिमोर्ट गर्ने एक यन्त्र छ, घन्टी। दिन होस् या रात, निश्चित परिधिमा त्यो बज्छ। हामी मानव समुदायले निर्माण गरेको परिधि दिन र घन्टाको आधारमा त्यो बज्छ। तर, त्यसले यति बज्यो, यो बार हो केही भन्दैन। एउटा निश्चित परिधिमा बज्छ मात्र। टिङ टिङ टिङ...

म काममा प्रवेश गर्ने बेला घन्टी बज्छ। तर, त्यो घन्टीको आवाजलाई साथी र मैले ठिक विपरीत अर्थमा बुझ्छौं। म काममा जान्छु, साथी आराम गर्न आउँछ।

पहिलो घन्टी लागेको निश्चित परिधि पश्चात् दोस्रो घन्टी लाग्छ। त्यो मलाई खाना खाने जनाउ हो। तेस्रो घन्टीमा म पुन: काममा पुग्छु। चौथो घन्टीमा म चिया, कफी पिउँछु। पाँचौं घन्टीमा पुन: काममा फर्कन्छु। छैटौं घन्टीमा पुन: खाना खान्छु। सातौंमा काममा फर्कन्छु। आठौं घन्टीमा मेरो काम सकिन्छ र आराम गर्ने समय सुरू हुन्छ। आराम कोठामा मात्र पहिलो र अन्तिम घन्टी बज्छ।

हामी ८ घन्टीको संख्यालाई एक दिनको रूपमा मान्छौं। चाहे जतिसुकै घन्टा होस्, जतिसुकै मिनेट होस्, जतिसुकै सेकेन्ड होस्। ८ घन्टी बराबर ८ सेकेन्ड।

हामीलाई आइतबार छुट छ। आइतबार छुट्टी हुन्छ। तर, यहाँ आइतबार पनि फरक-फरक आउँछ। मलाई आएको आइतबार साथीलाई आउँदैन। साथीलाई आएको आइतबार मलाई आउँदैन। रात्रि र दिवा सिफ्ट भएकाले हाम्रो छुट्टी पनि त्यही मुताबिक छुट्याइएको हुन्छ। मानिलिनुस्, सोमबार, मंगलबार या अरू जुन कुनै बार पनि आइतबार हुनसक्छ हाम्रो लागि।

हाम्रो लागि हप्तामा मात्र १ दिन हुन्छ। आइतबार। आइतबार मात्र घन्टा, मिनेट र बाँकी समय चल्छ। आइतबार मात्र यो दुनियाँले सास फेर्छ। बाहिरी दुनियाँ देखिन्छ। आइतबार हाम्रो लागि जम्मा एक सेकेन्ड जस्तो हो, छिनभरमै बितिजान्छ।

महिनामा हाम्रो लागि जम्मा चार दिन हुन्छ। वर्षमा ५२ दिन। यद्यपि यी दिनहरू, महिनाहरू, वर्षहरू सबै मान्छेले आफ्नो सहजताका लागि बनाए। यही भ्रमभित्र दुनियाँ भुलेको छ।

मैले तथा साथीले महिनामा ख्याल गर्ने एउटै दिन छ। १० तारिख। १० तारिख हाम्रो तनखा आउँछ। साथी र मेरो समानता भनेको यही हो। दुवै जनाको एकै समयमा तनखा आउँछ। तनखा आएपछि हामी सम्झन्छौं, आज १० तारिख रहेछ। अरू दिनहरूको मतलब हाम्रो मस्तिष्कले गर्दैन। गर्नुपर्ने जरूरत पनि ठान्दैन।

दुनियाँमा आफ्नो मस्तिष्कले मतलब गर्ने मात्र खास लाग्छन्। कुनैबेला थियो, म विद्यालय जान्थेँ। त्यतिखेर मलाई छुट्टीको घन्टीको मात्र मतलब थियो। अलि बढेँ जवानी, अलि बढेँ जिम्मेवारी, अहिले कामको मतलब छ। तनखाको मतलब छ। प्रत्येक सेकेन्डमा चल्नुपर्ने भएकाले सेकेन्ड महत्वपूर्ण छ। त्यसैले सारा संसार सेकेन्ड जस्तो लाग्छ। त्यसैले १० तारिख सम्झना आउँछ।

अगाडि के हुन्छ, आइ डन्ट नो। हुनसक्छ बुढ्यौलीको पीडा, हुनसक्छ रोगहरूसँगको लडाइँ, हुनसक्छ मृत्युको कुराइ ... ऐजन ऐजन।

अँ साँच्चि समयको कुरा गर्दै थिएँ।

तपाईंलाई लाग्छ, म मूर्ख हुँ समयलाई नाप्ने। समयलाई नाप्न सकिँदैन। समय निरन्तर बगिरहन्छ। यो समय छ र त दुनियाँ छ। समय नहुँदो हो त केही छैन। समय चलायमान छ, र त दुनियाँ चलायमान छ। समय छ, र त दिनरात छ। समय छ, र त जन्म मृत्यु छ।

हो, समय छ। तर, मलाई यस्तो लाग्छ, अघि पनि भनिसकेँ, समय सबैको एक होइन फरक-फरक छ। एउटा वृद्धले प्राण त्याग्दै गरेको बेला अर्को बालक जन्मँदै हुन्छ। भनिन्छ, समय समान छ। एउटै छ। एउटै समय भएको भए वृद्ध र बालकको अन्तर नहुनुपर्ने। पृथ्वीका सबै सजीवहरू एकैचोटि जन्मनुपर्ने, एकैचोटि मर्नुपर्ने। एउटालाई चोट लाग्दा अर्कालाई खुसी नहुनुपर्ने।

मलाई लाग्छ, म जन्मेदेखि मेरो समय सुरू भयो। मेरो मृत्युमा समय सिद्दिन्छ। अर्थात् मेरो समय सिद्दिन्छ। अर्थात् म सिद्दिन्छु। खैर जेसुकै होस्, ड्याम केयर!

प्राप्त प्रतिकृयाहरू

भवानि दत्त भट्ट( भुवन) लेख्नुहुन्छ २o७४ पौष २८ शुक्रबार ०९:०७ 

समयको वास्तविकता लाई चित्रण गराइएको मा आभारि छु । हो पनि समय चलायमान छ , व्यक्ति पिच्छे अगल छ । समय र व्यक्तिको मिलन नै वास्तविक संंसार हो । चिन्ताले चितामा पु¥याउछ भने झै समयमा भईगरेका सम्बन्धहरु तथा कृकर्महरु परिस्थिति अर्थात समयले नै निर्धारण गर्दछ , समय बाटनै मानिस परिवर्तन हुन सक्दो हो । हो ,अगाडि के हुन्छ, आइ डन्ट नो । हुनसक्छ बुढ्यौलीको पीडा, हुनसक्छ रोगहरूसँगको लडाइँ, हुनसक्छ मृत्युको कुराइ ... ऐजन ऐजन ।

यसमा तपाइको मत



पढ्नै पर्ने