ad

घरविहीन सोनारीवासीलाई चिसोमा ओत (फोटो फिचर)

SHARES
Nepal Live

नेपालगन्ज- बाढी र डुबानका कारण घर भत्किएपछि कष्टपूर्ण अवस्थामा बस्दै आएका बाँकेको राप्ती सोनारी गाउँपालिकाका बाढीपीडितले अस्थायी टहरा पाएका छन्। शीतलहर र कठ्यांग्रिने चिसोमा टहरा पाएपछि उनीहहरुले केही हदसम्म राहत महसुस गरेका छन्। उनीहरु पाँच महिनादेखि घरविहीन भएर बस्न बाध्य थिए।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले ह्याबिटाट फर ह्युमानिटी, युनिक नेपाल र महिला उपकार मन्च लगायतका संघसंस्थासँग समन्वय गरी २ सय ३८ घरविहीन बाढीपीडितका लागि टहरा निर्माण गरिदिएको हो। ‘बाढी र डुबानका कारण घर भत्किएपछि गोठ तथा त्रिपालको टहरामा कष्टपूर्ण बस्दै आएका थियौं,' सोनारी गाउँपालिका ४ धामपुरका चुल्हवा थारुले भने, 'सुत्न र बस्न धेरै गाह्रो थियो। अस्थायी भए पनि टहरा पाएपछि चिसोमा निकै राहत भएको छ।'

विपद् व्यवस्थापन समितिको अगुवाइमा पहिलो चरणमा राप्ती सोनारीका २ सय ३८ पीडितहरुका लागि टहरा निर्माण गरिएको हो। एउटा टहरा निर्माणका लागि करिब ३२ हजार रुपैयाँ लागेको ह्याबिटाट फर ह्युमानिटीका परियोजना संयोजक  सजन महर्जनले बताए। गाउँमै उपलब्ध बाँस, खर, माटो तथा बजारबाट ल्याएको टिन लगायतका सामग्रीबाट टहरा निर्माण गरिएको हो।

\"\"

राप्ती सोनारी गाउँपालिकाको चाँचाफर्का, धामपुर, पर्शुरामपुर, लालपुर लगायत  गाउँका बाढीपीडितहरुले टहरा पाएका हुन्। 

‘टहरा पाएपछि चिसोमा बस्न सहज भएको छ। अझै निर्माणकै क्रममा छौ,’ स्थानीय उत्तरकुमारी बुढा भन्छिन्, ‘हाललाई यसैमा दिन काटौंला। चिसो हटेपछि अर्को विकल्प खोज्नुपर्ला।’

बाढीका समयमा पनि घर डुबान नहुने गरी जमिनदेखि २ देखि ३ फुट अग्लो बनाएर टहरा निर्माण गरिएको परियोजनाका संयोजक महर्जनले बताए। 

\"\"

लामो समयसम्म घर नहुँदा पीडित परिवारका सदस्यहरु साँघुरो ठाउँमा कोचिएर कष्टपूर्ण अवस्थामा बस्दै आएका थिए।

'संघसंस्थाले अलि बलियो टिक्ने घर बनाइदिएको भए राम्रो हुने थियो,' सोनारी गाउँपालिका ५ चाँचाफर्का गाउँका आशाराम थारु भन्छन्, 'नहुनुभन्दा यतिले भए पनि राहत पाएकै छौं।'  

\"\"

गत साउन २७ गते आएको बाढीले बाँकेमा ९ हजारभन्दा बढी परिवार विस्थापित भएका थिए। पूर्ण रुपमा क्षति भएका पीडितहरु अझै पनि घरविहीन छन्। कतिपय बाढीपीडित सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन्। आफ्नै जग्गामा बसेका पीडितहरुका लागि टहरा निर्माण गर्न थालिएको हो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार