गौचन हत्याको अनुसन्धान सकियो, गुन्डा नाइके बस्नेतले भने– अढाइ करोड नदिएपछि हत्या गरेँ 

नवराज मैनाली 

Nepal Live

काठमाडौं– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैद सजायको मागदाबीसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो। प्रहरीले संगठित अपराध र कर्तव्य ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष र संगठित अपराध मुद्दामा थप १० वर्ष गरी सबै अभियुक्तलाई ३० वर्ष कैद सजायको माग गरिएको छ।

प्रहरीले हत्याका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित २० भन्दा धेरै व्यक्ति विरुद्ध मुद्दा दायरको सिफारिस गरेको हो। फरार रहेका गुन्डा नाइके मनोज पुनलाई पनि प्रतिवादी बनाइएको छ। 

साढे दुई करोड रुपैयाँ नदिएपछि हत्या गरेको हुँ : बस्नेत

हत्याका मुख्य योजनाकार बस्नेतले बयानका क्रममा आफूले गौचनको हत्या गर्न लगाएको स्विकारेका छन्।

गौचनले आफूलाई साढे दुई करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको उनले लिखित बयानमा बताएका छन्। अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गौचनको डाँफे कन्ट्रक्सनमा कुमार श्रेष्ठ (कुमार घैंटे)मार्फत आफूले पनि लगानी गरेको र घैंटे मारिएपछि आफूले पैसा फिर्ता मागेकोमा नदिएपछि हत्या गरेको बताएका छन्।

प्रहरीले पनि हत्यामा लेनदेन तथा फिरौती नै मुख्य कारण रहेको जनाएको छ। 

यसरी भएको थियो चिनजान 

हत्याका मुख्य योजनाकार बस्नेतले गौचनलाई करिब पाँच वर्षअघि गुन्डा नाइके कुमार घैंटे मार्फत चिनेका थिए। समिर घैंटेका सबैभन्दा विश्वासिला साझेदार थिए। ठेक्कापट्टामा भने गौचनसँग घैंटेको साझेदारी थियो। त्यही क्रममा घैंटेले नै समिरलाई गौचनसँग चिनजान गराएका थिए।

दुईबीचको कारोबार पनि समिरलाई थाहा थियो। ३ भदौ ०७२ मा कुमार प्रहरी मुठभेडमा काठमाडौंको कपुरधारास्थित घरै अगाडि मारिए लगत्तै डराएर समिरले काठमाडौं छाडे। प्रहरीले खोजी गरेको थाहा पाएपछि भारत भागेका उनलाई ठेक्कापट्टामा कमिसन खाने ‘लत’ परिसकेको थियो।

गौचन निर्माण व्यवसायी महासंघका अध्यक्ष थिए। अधिकांश ठूला ठेक्कापट्टामा उनको संलग्नता हुन्थ्यो। उनीसँग प्रशस्त सम्पत्ति पनि रहेको उनलाई जानकारी थियो। त्यसकारण उनलाई धम्क्याएर उनी पैसा हात पार्न चाहन्थे।

‘डाँफे कन्ट्रक्सनमा शेयर दिने भनेर कुमार घैंटेसँग गौचनले साढे दुई करोड रुपैयाँ लिएको भन्ने छ’, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)का निर्देशक डिआइजी पुष्कर कार्कीले गत महिना आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘त्यसमध्ये एक करोड आफ्नो भएको दाबी गर्दै त्यो पैसा फिर्ता दिन धम्क्याएका थिए।’

त्यही घटनाबाट दुईबीच दुश्मनी बढ्दै गयो। पछि हुलाकी राजमार्गको ठेक्काको २ प्रतिशत कमिसन पनि माग्दै उनले धम्क्याएका थिए। हुलाकी राजमार्गको २ प्रतिशत कमिसन करिब २२ करोड रुपैयाँ थियो। गौचनले पैसा नदिने बताएपछि समिरको समूहले उनको हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

गत २३ असोजमा घरबाट निस्किएर कार्यालय जाने क्रममा नयाँ वानेश्वर शान्तिनगरमा गौचनको हत्या भएको थियो।

हत्यामा संलग्न समिर लगायत ६ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दायरको सिफारिस गरेको छ। हत्यामा संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई डिआइजी गणेश केसी संयोजकत्वको छानबिन समितिले गत कात्तिक २८ गते सार्वजनिक गरेको थियो।

घटनामा संलग्न मुख्य सुटरहरु गंगा लिङदेन, श्यामबहादुर गुम्बे फरार छन्। त्यस्तै, समिरका निकट व्यक्तिहरु रोशन बुढाथोकी र लोप्साङ लामा पनि फरार छन्। उनीहरुलाई पनि फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने