सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण, एक करोड ७९ लाख मुआब्जा बाँडियो

Nepal Live

बाबियाचौर, म्याग्दी- मालिका गाउँपालिका–७ बिमस्थित डाँडाखेतमा सबस्टेशन निर्माण गर्न जग्गा अधिग्रहण गरिएको छ। 

जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि १३२ केभी क्षमताको सबस्टेशन निर्माण हुन लागेको हो। 

सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ। उन्नाइस जना जग्गाधनीलाई मंगलबारसम्म रु एक करोड ७९ लाख ७१ हजार मुआब्जा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार रु दुई करोड १७ लाख ५८ हजार बजेट प्राप्त भएकामा अब पाँच जना जग्गाधनीले मुआब्जा लिन बाँकी छ। मालिका र धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र सहायक खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय लाइनमा जोड्ने उद्देश्यले सबस्टेशन निर्माण हुन लागेको वडाध्यक्ष रेशम जुक्जालीले बताए।

विद्युत् प्राधिकरणले सबस्टेशनका साथै डाँडाखेतदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटसम्म २५ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गर्न लागेको छ। सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि रु दुई अर्ब बजेट आवश्यक पर्ने बताइएको छ। आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ। 

यसैगरी, कालीगण्डकी कोरिडोर प्रसारण लाइनको टावर रहने स्थानका जग्गाधनीलाई मुआब्जा वितरणको तयारी भएको छ। म्याग्दी खण्डमा पर्ने जग्गाधनीलाई मुआब्जा वितरणका लागि रु एक करोड प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।रासस
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार