ad

फिल्ममा १० लाखमा अनुबन्धित \'माग्ने बूढा\' भन्छन्- माग्नेका लागि ठूलो रकम भनेर हल्ला मच्चाइयो

Nepal Live

काठमाडौं– सानो पर्दा होस् या ठूलो, हास्य कलाकार केदार घिमिरे 'माग्ने बूढा' प्राय: गरिबको भूमिका र उस्तै दयनीय हुलियामा देखिन्छन्। त्यो चरित्रबाट कतिपय दर्शकले यथार्थमै उनको आर्थिक स्थिति गएगुज्रेको होला भनेर अनुमान लगाउलान्। तर, हालै यी माग्ने बूढाले एउटा फिल्ममा काम गर्न १० लाख रुपैयाँ पारिश्रमिक लिएका छन्। 

नायक-नायिका बाहेकका कलाकार यति ठूलो पारिश्रमिकमा अनुबन्धित भएसँगै फिल्मनगरीमा यतिबेला निकै चर्चा भइरहेको छ। 

अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गर्न लागेको फिल्ममा ‘माग्ने बूढा' दस लाखमा अनुबन्धित भएका हुन्। फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

महँगो पारिश्रमिक लिएको भनेर सिने वृत्त गर्माए पनि माग्ने बूढा भने यो खासै ठूलो विषय नभएको बताउँछन्। 

'दस लाख रुपैयाँ खासै मोटो रकम होइन। त्यसमा पनि १५ प्रतिशत कर तिर्दा बाँकी ८ लाख ५० हजार रहन्छ', उनले भने, 'त्यसैले यो खासै मोटो रकम हो जस्तो मलाई लाग्दैन।'

फिल्ममा उनी हास्य कलाकारकै रुपमा मुख्य भूमिकामा अनुबन्धित भएका हुन्। यति धेरै चर्चा भइरहनुको कारण केलाउँदै उनले हाँस्दै थपे, 'हुन सक्छ, माग्नेका लागि ८ लाख ५० हजार धेरै हो भनेर हल्ला मच्चाइएको होला।'

सानो पर्दाबाट स्थापित केदारले यसअघि दीपाश्री निरौला र दीपकराज गिरी निर्मित फिल्ममा मात्र काम गरेका थिए।   

नयाँ फिल्म निर्माणको तयारीमा लागेका सुदर्शन र पूजाले यसअघि 'म यस्तो गीत गाउँछु' फिल्म निर्माण गरेका थिए। जसले व्यावसायिक सफलता पनि पाएको थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार