ad

मनोज पुनको दबदबा र त्रासको व्यापार 

SHARES
Nepal Live

रुपन्देही फेरि एकपटक अक्रान्त बनेको छ। 

दुर्गा तिवारी हत्याको त्रास सेलाउन नपाउँदै अर्का व्यापारी अपरिचित समूहको गोलीको निसाना बनेका छन्। ३५ वर्षीय वसन्त पौडेलको शुक्रबार गोली हानी हत्या भएको छ। यो पीडा पश्चिम तराई त सर्यो तर धेरै अघिदेखि नै पूर्वी मधेसमा चलेको यसखाले त्रास अझै जारी छ। 

पौडेलको हत्यापछि मनोज पुन फेरि चर्चामा आएका छन्। उनको समूहले छाती फुलाएर हत्याको जिम्मेवारी लिएको घटना यतिबेला हेडलाइन बनेको छ। यसअघि उनी तिवारी हत्याकाण्डपछि एकाएक सतहमा आएका थिए।

तराई-मधेसमा सशस्त्र समूह, सीमापारिका गुन्डा नाइके र माफियासम्मको आडमा त्रासको धन्दा चलिरहेको कसैमा छिपेको छैन। 

व्यस्त काठमाडौंको सुरक्षा चौघेरामा निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य आरोपी मनोजको खोजी तिवारी हत्यापछि निरन्तर छ। तर प्रहरीलाई चुनौती दिँदै मनोज र उनको समूह त्रासको खेतीमै व्यस्त छ। 

काठमाडौंमा गौचन उपर गोली चलाउने युवा समूह निश्चित समूहको इसारामा चलिरहेको प्यादामात्र थियो। दिग्भ्रमित भइरहेका केही युवा यसरी योजनाबद्ध अघि बढिरहेको आपराधिक समूहको कठपुतली बन्ने क्रम रोकिएको छैन।
 
नेपालमा पछिल्लो समय देखिएको यो त्रासको 'व्यापार'ले अपराधको उदाहरण बनेको भारत मुम्बईको सुरुवाती दिनलाई स्मरण गराउँछ। मुम्बई अपराधमा उदाएका सबैको मुख्य व्यापार त्रास थियो/छ। भयावह वातावरण त्रासको व्यापारबाट असुली अहिलेसम्मकै भारतीय अपराध क्षेत्रको मुख्य आम्दानी मानिन्छ। 

भारतमा अपराध माफियाले अपनाएको असुली धन्दामा कहीँ न कहीँ सुरक्षा निकायका अधिकारी, राजनीतिक नेतृत्व र न्याय क्षेत्रको हिस्सेदारी रहेको विभिन्न समयमा भएका घटनाक्रमले पुष्टि गरेका छन्। आधा दर्जनभन्दा बढी प्रहरी अधिकारीको माफियासँग प्रत्यक्ष सम्बन्ध रहेको त्यहाँको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) ले फरकफरक घटनामा गरेको अनुसन्धानमा पुष्टि भएको छ।
 
नेपालको सन्दर्भमा एकपछि अर्को हत्या शृंखला भइरहने तर घटनाको जिम्मेवारी लिने मुख्य आरोपी प्रहरी फन्दाभन्दा बाहिर रहनुले शंका मात्र उब्जाएको छैन। अब अनुसन्धान गर्ने निकायले आफ्नै अधिकारीलाई समेत शंकाको दृष्टिकोणले हेर्नुपर्ने समय आएको छ। यस्तै घटनालाई अतिरञ्जित बनाउने सञ्चारमाध्यम र यसमा सक्रिय समूहको विषयमा समेत सम्बन्धित निकाय सोचनीय हुन जरुरी छ।

हत्या शृंखला, युवा र सुरक्षा अधिकारी
गत वर्ष पुस ४ मा अज्ञात समूहले हानेको गोली लागि दुर्गा तिवारीको हत्या भयो। तिवारी उपर २०७२ फागुन ६ गते समेत गोली प्रहार भएको थियो। त्यसबेला बाँच्न सफल तिवारीलाई गोली प्रहार गर्ने मनोजको समूह रहेको प्रहरी अनुसन्धानको निष्कर्ष थियो। अनुसन्धानमा कुनै समय नेकपा एमाले निकट युवा संघमा सँगै राजनीति गर्ने मनोजको व्यक्तिगत रिसिइबी र लेनदेन घटनाको मुख्य कारण थियो। 

प्रहरीले २०७२ फागुनको घटनामा मनोज सहित १० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश गरेको थियो। प्रहरीले घटनामा संलग्न ८ जनालाई तत्काल पक्राउ गरे पनि मनोज र अर्का एक फरार भए। प्रहरी अनुसन्धानले मनोज भारतमा रहेको तथ्य सार्वजनिक गरे पनि तिवारी उपर दोस्रो पटक गोली प्रहार हुँदासम्म उनी भेटिएनन्।

तराई-मधेसमा गोली चलाउने युवा ढिलोचाँडो पक्राउ पर्छन्। तर घटनाका मुख्य योजनाकार सधैं पर्दापछाडि सुरक्षित नै हुन्छन्। यसले युवामा देखिएको आर्थिक लोभ, विलासी जीवनशैली, मनोरञ्जनका नामा मौलाएको बेथिति र लागूऔषधलाई समेत कारकका रुपमा हेर्नुपर्ने अवस्था आएको छ। 

तिवारीको हत्याको समय हाल काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी रविन्द्र धानुक रुपन्देही प्रहरी प्रमुख थिए। तिवारी हत्यापछि रुपन्देही र आसपासका जिल्लामा मनोजको नामको बोलबाला रह्यो। प्रहरीले स्थानीयलाई आश्वस्त बनाउन नसकेको घटना त्यसबेला सार्वजनिक भएको जब त्रसित व्यापारीले मनोज समूहबाटै एकपछि अर्को धम्की आइरहेको तथ्य सार्वजनिक गरे।

समयसँगै रुपन्देही र आसपासका जिल्लामा मनोज र उनको समूहको त्रासलाई स्थानीय भुल्ने प्रयास गर्दै थिए। तर काठमाडौंमै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या भयो। हत्यालगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी धानुकलाई फोन गरेर हत्याको जिम्मेवारी लिइयो। 

मुख्यगरी तराई-मधेसका जिल्लाको नेतृत्व गरेर जाने सुरक्षा अधिकारीमध्ये अधिकांश बदनामीबाट जोगिन सकेको देखिँदैन। लागुऔषध, अवैध तस्करी र राजनीतिक घटनाक्रममा केही सुरक्षा अधिकारीसमेत हत्या र अपहरण जस्तो जघन्य घटनामा जोडिएका घटना नयाँ होइनन्। 

गौचन हत्यापछि चौतर्फी दबाबमा रहेको प्रहरीले तत्काल हत्या अनुसन्धानको जिम्मेवारी महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीलाई दियो। तर निर्माण व्यवसायीको विरोधपछि महानगरीय प्रहरी कार्यालयका डिआइजी गणेश केसीको नेतृत्वमा अनुसन्धान समिति बन्यो। केसी नेतृत्वको अनुसन्धान समितिले घटनाको एक महिनापछि हत्यामा प्रत्यक्ष संलग्न ५ जनालाई पक्राउ पनि गर्यो। समितिले मनोज, लोप्साङ र समिरमान सहित अन्य ८ जना फरार रहेको विवरणसहित पत्रकार सम्मेलन गर्दै घटनाको जानकारी गराएको थियो।

गौचनको हत्यासँगै फरार समूहले अन्य केही घटनासमेत गराएको अनुसन्धान समितिको निष्कर्ष थियो। 

घटनास्थलमा सक्रिय रहेका व्यक्तिहरुले निभाएको भूमिकाका विषयमा प्रहरी अनुसन्धान रनभुल्लमा देखियो। यति मात्र होइन घटनाका प्रत्यक्षदर्शी तराईमूलका एक युवासमेत प्रहरी अनुसन्धानपछि काठमाडौंबाटै पलायन हुने अवस्थामा पुगे। कारण थियो, अनुसन्धानमा समितिभित्रकै अधिकारीको सोधपुछ र निरन्तरको दबाब। 

समितिको प्रतिवेदनपछि निर्माण व्यवसायी केही शान्त बने। तर मुख्य आरोपीहरु पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई उत्तिकै दबाब थियो। 

व्यवसायी र राजनीतिक नेतृत्वबाट चौतर्फी दबाब खेपिरहेको प्रहरीले अन्तत: केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्र लेख्दै घटना अनुसन्धानको औपचारिक जिम्मेवारी सुम्पियो। 

घटनाक्रम र नेतृत्व हत्याउने होडबाजी 
तिवारी हत्या भइरहँदा प्रहरीभित्र नयाँ नेतृत्वका लागि चलखेल सुरु भइसकेको थियो। प्रहरी महानिरीक्षकका प्रमुख दाबेदार मानिएका पूर्व डिआइजी नवराज सिलवाल त्यतिबेला ब्युरोको नेतृत्वमा थिए। सिलवालले तत्कालीन एसएसपी मनोज न्यौपानेको नेतृत्वमा अनुसन्धान टोली रुपन्देही खटाएका थिए। सो टोलीमा त्यसबेला प्रहरी निरीक्षक रहेका रुगँमबहादुर कुँवरसमेत थिए। 

सिलवालले आफ्नो कार्यकाल अवधिमा उनै कुँवरले त्यसबेला मनोज, लोप्साङ र समिरमानसिंह बस्नेतको खोती तीव्र बनाएका थिए। 

हाल डिएसपी रहेका कुँवर र रुपन्देही प्रहरीमा कार्यरत धर्मराज भण्डारी पटकपटक भारत गए पनि नतिजा शून्य आएको थियो।

ब्युरो प्रमुख रहेका डिआइजी पुष्कर कार्कीको भाग्य वा अनुसन्धान बलियो; उनको नेतृत्वमा घटनाका मुख्य आरोपी समिरमानसिंह बस्नेत अन्तत: पक्राउ परे। अनुसन्धान समिति, अपराध महाशाखा र रुपन्देही प्रहरीसहित देशभरका प्रहरी युनिट मनोज र समिरमानका विषयमा जानकार थिए। आफ्नो कार्यक्षेत्रमा सबै प्रहरी अधिकारी यो समूहको जानकारी लिने र पक्राउ गर्न उत्साहित थियो। तर सफलता भने ब्युरोलाई हात लाग्यो।

ब्युरोले समिरमानसिंहको गिरफ्तारीमा अनुसन्धान समिति, अपराध महाशाखासहित देशभरका प्रहरी युनिटको सहयोग लिएको सार्वजनिक रुपमै बताएको थियो। यसले प्रहरी संगठनकै शिर उच्च भयो। 

तर, प्रहरी नेतृत्वको लिगलिग दौड सुरु भएको यो मौसममा ब्युरोको असल नियतलाई समेत विवादमा ल्याएर त्रासको खेती मलजल गर्न केही प्रहरी अधिकारी नै सक्रिय रहेको घटनाक्रमले देखाएका छन्। 

प्रहरीका सबै युनिटमध्ये विशेष अनुसन्धान दक्षता र साधानस्रोत सम्पन्न इकाइका रुपमा ब्युरोको स्थापना भएको हो। ब्युरोले घटनाको अनुसन्धानमा स्थानीय प्रहरी इकाइ र समयसापेक्ष गठन भएका अनुसन्धान समितिको सहयोग लिँदै आएको छ। 

तर एकाएक हाल आएर गौचन हत्याकाण्डका लागि गठित समिति र ब्युरोका बीच विवाद रहेको मनगढन्ते चर्चा चलाएर त्रासको खेतीलाई बढुवा दिन स्वयं प्रहरी सक्रिय रहेको त होइन? आशंका उब्जिएको छ। 

प्रहरीले त्रासको वातावरण बनाएर माफियातन्त्र स्थापनामा सक्रिय मनोज र उनको समूहलाई तत्काल कानुनी कठघरमा उभ्याउनु मुख्य दायित्व र जिम्मेवारी हो। यसमा काम गर्ने अमुक प्रहरीले काम अनुसारको वाहवाही पाउँछन् र पाउनु पनि पर्छ। तर आफ्नो असफलतालाई ढाकछोप गर्न अनावश्यक बखेडा झिक्दा त्रासको खेतीले भने प्रश्रय पाई नै रहनेछ।

(लेखक स्वतन्त्र पत्रकार  तथा अपराध र राजनीतिकका शोधकर्ता हुन्।) 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार