नेत्रहीन क्रिकेटरलाई राज्यले कष्ट दियो तर मानेनन् हार

Nepal Live

पाकिस्तानकी आइरन लेडी भनेर प्रख्यात मुनिबा मझारीले एक कार्यक्रममा आफ्नो जीवनगाथा सुनाउँदै भनेकी थिइन्, 'धेरैले मलाई अशक्त महिला भने। तर मैले उनीहरुलाई जवाफ फर्काएर भनेँ, म फरकपनबाट काबिल छु। तिमीहरु जे कुरालाई अभिशाप ठान्छौ, म त्यसमा अवसर देख्दछु। तिमीहरु जे कुरालाई कमजोरी भन्छौ, त्यसलाई म आफ्नो शक्ति ठान्दछु। तिमीहरु जे कुरालाई बेकाम ठान्छौ, यसमा म आफ्नो क्षमता देख्दछु।'

ह्वीलचेयर गुडाएर स्टेजमा उनले यस्तो भाषण गरेकी थिइन्। यो सुनेर धेरैको आङ सिरिंग भयो। हो, उनैको भनाइलाई सापेक्ष रुपमा हेर्दा नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिममाथि वैचारिक न्याय हुन्छ। हाल नेत्रहीन एकदिवसीय विश्वकप खेल्न पाकिस्तान पुगेका खेलाडीहरुले उद्घाटन समयमा उठाएको राष्ट्रिय झन्डाले कुन चाहिँ नेपालीको शिर निहुर्यायो र? तर स्वभिमानको प्रतिविम्बित गर्ने टिमले पाकिस्तान पुग्न ४ दिन कष्टकर यात्रा गर्नुपर्‍यो। 

\"\"प्लेनको सुविधा उपलब्ध नभएपछि उनीहरु बस, ट्रेन हुँदै पाकिस्तान पुगे। धेरैले आर्थिक समस्या भने पनि नैतिक समस्याले गर्दा राज्यको ध्यान नपुगेको देखिन्छ। विश्वकपमा टिम मात्रै होइन, देश नेपालको नाम जाँदै थियो। कप्तान कीर्तन दुवालको फेसबुक पोस्ट हेरेर यात्रा कति कष्टपूर्ण थियो भन्ने स्पष्ट हुन्छ। व्यवस्थापक निरोज गिरीको भनाइ सापटी लिने हो भने पाकिस्तान पुगेपछि उनीहरुले कष्ट बिर्सिने कोसिस गरे, किनभने लक्ष्य आइपुगिसकेको थियो, पाकिस्तानी भूमिमा नेपाली झन्डा फहराउने।

फरक क्षमतावान नेपाली क्रिकेट टिमको साहसलाई विश्वले सलाम गर्नुपर्ने हुन्छ। राज्य निकायबाट उचित व्यवस्था नहुँदा पनि उनीहरुले हार मानेनन्। कष्टकर यात्राको उदाहरण त छँदै छ, उद्घाटन समारोहमा नेपाली कप्तानको ट्राउजर र ज्याकेटमा थियो। तर बंगलादेश र पाकिस्तानका खेलाडी टाइसुटमा उपस्थित थिए। सारा संसारले हेर्ने समारोहमा राज्य निकायबाट हुनुपर्ने व्यवस्थापनका हिसाबले हाम्रो उपस्थिति कमजोर देखियो जसले सबैलाई दु:खित तुल्यायो। कपडामा स्वाभिमान हुँदैन भन्ने एकथरी विचार पनि होला। तर म भन्छु– मेरो देशको प्रधानमन्त्रीज्यु नगारिकलाई चिसोको बेला न्यानो र तातोको बेला चिसोको व्यवस्था राज्यले नै गर्नुपर्छ।

राज्यले कम्तीमा आफ्ना स्वाभिमानका तरंगहरुलाई माया, स्नेह र साथको धुनले मिठो संगीत भरेर राष्ट्रवादी गीत गाओस् भन्ने सबैको चाहना छ। घाम जसले देखेन, उसले घाम चिन्दैन। जसले पानी छोएन, उसलाई पानी के हो थाहा हुँदैन। जसले धुलो महसुस गर्दैन, उसलाई थाहा हुन्न धुलो के हो। जसले माटो टेक्दैन, उसल माटो बुझ्न सक्दैन। जो मानवभाषाको वरिपरि रहँदैन, उसले त्यो भाषा जान्न सक्दैन। 

दृष्टिविहिन क्रिकेट टिमले अन्धकारकाबीच उज्यालो पुकार गरिरहेका छन्, पाकिस्तानी भूमिमा नेपाली झन्डा फहराएर विश्वकपमा सहभागिता जनाउँदै छन्। जनताले 'स्वाभिमानको NCSS अभियान' ग्रहण गर्दै देशविदेशबाट सहयोगको वर्षा गरिरहेका छन्। स्वाभिमानको सवालमा जनता सधैं जनादर्न भए, यो फेरि पुष्टि हुँदैछ। 

'सुनिदेऊ मेरा अन्धकारबीचका उज्याला पुकारहरु।' यही भन्दैछन् दृष्टिविहीन क्रिकेट टिम, जसलाई अब सरकारले पनि सुन्नुपर्छ। 

(लेखक NCSS का संस्थापक सदस्य हुन्।)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्