बच्चालाई कुन कुन खोप लगाउनुपर्छ ?

डा. दिनेश धरेल

Nepal Live

‘मेरी छोरी एक वर्षकी भइन् । मैले खोप केन्द्रबाट सिफारिस गरिएका सबै खोप लगाइसके । अरु खोप कुनै बाँकी छ डाक्टर ? सोचेकी छु, मैले मेरी छोरीलाई दिन सक्ने सबैभन्दा अमूल्य उपहार खोप हो।’

 केही दिनअघि मेरो क्लिनिकमा आएकी एउटी साधारण महिलाको असाधारण भनाइ हो यो । अभिभावकका रुपमा हामी सबै जनाले कुनै न कुनै बेला सोच्ने र एउटा स्वास्थ्यकर्मीको नाताले कैयौँपटक जवाफ दिनुपर्ने आम प्रश्न हुन्, मेरो बच्चालाई कुन कुन खोप लगाउनुपर्छ ? किन यति धेरै थरीका खोप लगाउनु परेको होला ? खोपको सुईले मेरो बच्चालाई केही असर त हुँदैन ? आदि इत्यादि । बालबालिकालाई विभिन्न खालका गम्भीर रोग लाग्नबाट बचाउन खोपका बारेमा हामी सबैले जान्नैपर्ने केही कुराको चर्चा यस लेखमा गरिएको छ ।

हामीलाई जुनसुकै उमेरमा पनि गम्भीर खालको सरुवा रोगले आक्रमण गर्न सक्छ र ज्यानै लिन पनि सक्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र रोगसँगै लड्ने प्रतिरोध क्षमता कम भएकाहरुलाई डर बढी हुन्छ । जसलाई असर गर्ने र दीर्घ प्रकृतिका रोगहरु लागेको कुनै पनि व्यक्ति त्यस्ता प्राणघातक सरुवा रोगहरुका कमजोर निसाना हुन् । तीमध्ये कतिपय रोगविरुद्ध शरीरको प्रतिरोध क्षमता विकास गर्ने उपाय हो खोप । खोप भनेको प्रायःजसो सुईबाट लगाइने विशेष खालका औषधि हुन्, जसले जुन किटाणुविरुद्ध खोप लगाइएको हो, त्यो किटाणु अन्य व्यक्तिबाट खोप लगाएको व्यक्तिमा सर्नबाट रोक्छ ।

यदि समुदायका धेरैभन्दा धेरै व्यक्तिले खोप लगाएर कुनै रोग सर्नबाट बचाउने प्रतिरोध क्षमता विकास गरिसकेका छन् भने बाँकी व्यक्तिहरु पनि लाभान्वित हुन्छन् । तर, धेरैजसोले खोप लगाएका छैनन् भने त्यो रोग महामारीको रुपमा फैलिने जोखिम रहन्छ, यो हार्ड डायुसिटीले गर्दा हो ।

नेपालले सन् २०१५ सम्म पाँच वर्षमुनिको बाल मृत्युदर सन् १९९० को तुलनामा दुई–तिहाइले घटाएर प्रति हजार जीवित शिशुमा ३८ मा सीमित गरी सहस्राब्दी विकास लक्ष्य पूरा गरिसकेको छ । नवजात शिशुको उच्च मृत्युका बाबजुत त्यो लक्ष्य हासिल गर्नमा बाल मृत्युका महत्वपूर्ण कारकका रुपमा रहेका दादुरा, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, क्षयरोगलगायत प्राणघातक सरुवा रोगमा उल्लेखनीय कमी आउनु हो । जुन विगतमा धेरै वर्षदेखि अनवरत चलिरहेको खोप कार्यक्रमको प्रत्यक्ष प्रभाव हो ।

नेपालबाट सन् २०१५ देखि पोलियो उन्मूलन भइसकेको छ र दादुरा पनि सन् २०१९ सम्ममा निर्मूल हुने अवस्थामा आइसकेको छ । हाल सबैभन्दा बढी संख्यामा बालबालिकाको ज्यान दिने सरुवा रोग निमोनियाविरुद्ध पनि खोप सुरु भइसकेको छ ।

नेपालको राष्ट्रिय खोप कार्यक्रमअनुसार एउटा बच्चा जन्मेको ४५ दिनभित्र पहिलो सम्पर्कमा क्षयरोगविरुद्धको खोप लगाइन्छ । जसले मूलतः साना नानीहरुमा ज्यानै लिनसक्ने मेनेन्जाइटिसलगायत शरीरभरि फैलने क्षयरोगबाट बचाउँछ । त्यसपछि ६, १०, १४ हप्ताको उमेरमा पोलियो थोपासँगै भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हिमोफिल्स इन्फ्लुएन्जाको किटाणुले गराउने गम्भीर संक्रमण र हेपाटाइटिस बी रोग गरी पाँचवटा रोगविरुद्धको पेन्टाभ्यालेन्ट खोपको सुई लगाइन्छ ।

गत वर्षदेखि ६ हप्ता र १० हप्तामा निमोनियालगायत गम्भीर संक्रमणबाट बचाउने पिसीभी खोप र १४ हप्तामा पोलियोविरुद्धको सुई पनि थपिएको र त्यसपछि नौ महिना पुगेपछि दादुरा र रुबेलाविरुद्धको एमआर खोप र पिसीभीको तेस्रो डोज लगाइन्छ । यसरी ६, १० र १४ हप्तामा र नौ महिनाको उमेरमा अब दुई÷दुईवटा सुई लगाउनुपर्ने भएको छ । प्रायः जिल्लामा लामखुट्टेबाट सर्ने जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप १२ महिनाको उमेरमा लगाइन्छ र १५ महिनामा दादुरा–रुबेलाको दोस्रो डोज लगाउने तयारी भइसकेको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत परेका यी खोप सबै तहका स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा उपलब्ध छन् ।

बच्चा गम्भीर रुपमा बिरामी छैन वा खास खास खोप दिन नहुने भन्ने रोग बच्चामा छैन र खोपको वा खोपमा प्रयुक्त कुनै तत्वको गम्भीर प्रतिक्रिया पहिले भनेको छैन भने बच्चाको नियमित खोप छुटाउन हँुदैन । साधारण बिरामी पर्दा वा खोप लगाउने पालोभन्दा केही दिन अघिपछि भयो भन्दैमा निर्धारित खोप छुटाउन हुन्न । त्यस्तै, नियमित रुपमा खोप लगाएर त्यसको रेकर्ड सुरक्षित राख्नुपर्ने हुन्छ, जुन कुनै बेला काम आउन सक्छ ।

नियमित रुपमा माथि उल्लेखित खोप लगाएको छ भने तपाईंको बच्चा धेरै हदसम्म ती रोगबाट सुरक्षित हुन्छन् तर शतप्रतिशत सुरक्षित भने हुँदैनन् । त्यसैले बच्चा बिरामी पर्दा सम्बन्धित डाक्टरलाई देखाएर कुन रोग हो, निक्र्याैल गरी उपर्युक्त उपचार लिनुपर्छ । डाक्टरलाई भेट्दा खोप कार्डसँगै लिएर जान वा खोपको विवरण दिनु अनिवार्य र महत्वपूर्ण हुन्छ । खोपबाट बचाउन सकिने यी रोगहरु भेटिए सम्बन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले सम्बन्धित निकायमा रिपोर्ट गरेर उपयुक्त कदम चाल्नुपर्ने हुन्छ ।

यदाकदा खोप लगाएपछि विभिन्न खालका अवाञ्छित घटना भएको समाचार हामीले सुन्ने गरेका छौँ ।

जुन घटना खोपको कारणबाट हो भन्ने विश्वास गरिएको छ र जनसमुदायको चासोको विषय बनेको छ, त्यस्ता स्वास्थ्यसम्बन्धी घटनालाई एइएफआई भनिन्छ, जुन सबै खोपकै कारणबाट भएको भने नहुन सक्छ । त्यस्ता घटना सम्बन्धित निकायमा रिपोर्ट भएपछि विज्ञहरुको टोलीले अनुसन्धान गरेर खोपको प्रतिक्रिया वा असर हो वा खोप भण्डारण गर्दा, घोल्दा वा सुई लगाउँदा हुने गल्ती हो वा खोपसँग असम्बन्धित संयोग मात्रै हो भन्ने कुरा निर्धारण गर्छ । यदि खोपकै कारण घटना भएको प्रमाणित भएमा उचित क्षतिपूर्ति दिने कानुनी व्यवस्था नै गरिएको छ र खोप लगाउँदा हजारौँ वा लाखाँैमा देखिन सक्ने कम्पन, बेहोसी वा एनाफाइक्सिसजस्ता अवाञ्छित घटना भएमा उपयुक्त उपचार गरी निर्धरित प्रक्रियामा जान सकिन्छ ।

खोप नलगाउँदा रोगको कारण हुन सक्ने मृत्युको तुलनामा यस्ता घटना नगन्य र साधारण हुन् । त्यसैले कुनै पनि कारण बच्चालाई खोपबाट निरुत्साहित गर्नु हँुदैन ।

यदि तपाईंले नेपालको राष्ट्रिय खोप कार्यक्रमअनुसारको सबै खोप आफ्नो बच्चालाई लगाउनुभएको छ र अन्य खोपबाट बचाउन सकिने सरुवा रोगविरुद्ध आफ्नो बच्चालाई सुरक्षित राख्न चाहनुहन्छ भने उत्तर त्यति सहज छैन । केही अतिरिक्त खोप अवश्य छन् । जसको प्रभावकारिता प्रमाणित भसकेको छ र अन्य देशमा नियमित खोपहरु पर्छन् ।

उदाहरणका रुपमा ठेउलाविरुद्धको भ्यारिसेला खोप कम्तीमा एक वर्षपछि ६ महिनाको अन्तरमा दुई डोज लगाउन सकिन्छ । त्यही बेला हेपाटाइटिस ए विरुद्धको पनि खोप दिन सकिन्छ । खाना र पानीबाट सर्ने अर्को रोग टाइफाइडबाट बचाउन दुई वर्षको उमेरबाट सुरु गरेर प्रत्येक तीन वर्षको अन्तरालमा खोप दिन सकिन्छ । मौसमी रुपमा फैलिने फ्लुविरुद्ध ६ महिनादेखि नौ वर्षसम्म एक महिनाको फरकमा त्यसपछि एक डोज प्रत्येक वर्ष लगाउनु सकिन्छ ।

विद्यालयलगायत समूहमा बस्दा सर्न सक्ने प्राणघातक मेनिन्जोकोकल रोगबाट बचाउन जोखिममा भएका दुई वर्षमाथिका बच्चाहरुलाई एक डोज लगाउन सकिन्छ ।

महिलामा पाठेघरको मुखको क्यान्सरबाट बचाउन ११–१२ वर्षका किशोरीहरुलाई एचपिभी खोप लगाउन सकिन्छ, जुन नेपाल सरकारले कार्यक्रमकै रुपमा ल्याइरहेको छ । शिशुहरुमा देखिने रोटाभाइरल डायरियाविरुद्ध पनि खोप उपलब्ध छ । जुन ढिलोमा आठ महिनाभित्र दुई वा तीन डोज लगाउन सकिन्छ । प्राणघातक रेबिजविरुद्धको खोप भने रेबिज सार्न सक्ने कुकुर, चमेरालगायत जनावरहरुको टोकाइपश्चात् पाँच डोजमा लगाउनुपर्छ ।

यसरी नियमित बाहेकका धेरैवटा प्रभावकारी खोप पाइने भए पनि ती सधँै बजारमा उपलब्ध हुँदैनन् र किनेर लगाउनुपर्छ । कतिपय खोपको गुणस्तर निर्धारणमा पनि समस्या देखिने सक्ने भएकाले पनि उपयुक्त ठाउँबाट मात्र लगाउनुपर्ने हुन्छ र केहीको प्रभावकारिता पनि त्यति धेरै नहुन सक्छ ।

खोपबारे बुझ्नु र आफ्नो बच्चालाई आवश्यक खोप उपयुक्त समयमा दिनु भनेको अभिभावकको जिम्मेवारी मात्र नभई आफ्ना बच्चाप्रतिको चासो र मायाको कडी पनि हो । त्यसैले आफ्ना बच्चालाई खोपको उपहार दिनुहुनेछ भन्ने आशा छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने