आइफोन, आइप्याड र म्याकमा त्रुटि भएको एप्पलले स्विकार्‍यो

नेपाल लाइभ

Nepal Live

एजेन्सी - अमेरिकी प्रविधि कम्पनी एप्पलले चिपका रहेका दुई त्रुटि स्पेक्टर र मेल्टडाउनका कारण आफ्ना उत्पादन आइफोन, आइप्याड र म्याक कम्प्युटर प्रभावित भएको बिहीबार स्विकारेको छ। एप्पलका उत्पादनमा प्रयुक्त चिपमा हालैमात्र यी दुवै फेला परेका हुन्। 

एप्पलले यी दुवै त्रुटिको फाइदा उठाएर ह्याकर्सलाई आइफोन, आइप्याड र म्याकलगायत उत्पादन ह्याक गर्न नदिन र मेल्टडाउनबाट जोगाउन आइओएस ११.२, म्याकओएस १०.१३.२ र टिभीओएस ११.२ ‘प्याच’ जारी गरिसकेको पनि घोषणा गरेको छ ।

एप्पलले छिट्टै स्पेक्टरबाट जोगाउन सफारी ब्राउजरमा अर्को ‘प्याच’ पनि जारी गर्ने जनाएको छ।

प्रयोगकर्ताले थाहा नपाएका अन्य त्रुटि सुधारमा काम गरिरहेको उसले जनाएको छ।

चिपका त्रुटिबाट जोगिन प्रयोगकर्ताले एप्पलका आइफोन, आइप्याड र कम्प्युटर तथा आफूले प्रयोग गरिरहेका एपलाई अपडेट गरे अरुले गर्नसक्ने ह्याकबाट जोगिने बताइएको छ।
एप्पलले कम्पनी यस्ता अन्य त्रुटि हटाउन लागिपरेको र ती सबैका लागि छिट्टै अपडेट जारी गर्ने पनि उल्लेख गरेको छ।

उसले अन्य खराब एपबाट विभिन्न जोखिम आउन सक्ने भएकाले विश्वसनीय स्रोत वा कम्पनीका सफ्टवेयर वा एप मात्र डाउनलोड गर्न पनि प्रयोगकर्तालाई सुझाव दिएको छ।
यी त्रुटिले तत्काल कुनै खतरा वा जोखिम ननिम्त्याएको पनि उसको भनाइ छ । मेल्टडाउनले एप्पल वाचलाई असर गरेको छैन। 

प्रविधिविज्ञहरूले चिपका दुई  त्रुटिले सबै कम्प्युटर प्रोसेसरमा असर पारेको बुधबार सार्वजनिक गरेका थिए।

उनीहरूले लगभग सबै डेस्कटप, ल्यापटप, स्मार्टफोन र क्लाउड सर्भरसमेत स्पेक्टर बगबाट प्रभावित भएको बताएका थिए। मेल्टडाउन भने इन्टेल कम्पनीले निर्माण गरेको चिपमा मात्र देखिएको छ।

एप्पलबाहेक माइक्रोसफ्ट, अमेजन र गुगलजस्ता अन्य प्रविधि कम्पनीहरू पनि त्रुटि हटाउनमा जुटेका छन्।

तर केही प्रविधिविज्ञले भने चिपका त्रुटिबाट पूर्णतया छुटकारा पाउन त्यसबाट प्रभावित प्रोससर नै बदल्नुपर्ने दाबी गरेका छन् । तर यो उपाय पनि तत्काल उपयोगी नहुने लक्षण देखिएको छ । किनभने अहिले बजारमा उपलब्ध सबै प्रोसेसरमा पुरानै चिप प्रयोग गरिएको छ । तिनमा पनि अहिलेकै समस्या आउन सक्छ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने