काठमाडौं महानगरले ल्यायो कक्षा ८ को परीक्षालक्षित अनलाइन सफ्टवेयर

नेपाल लाइभ

Nepal Live

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कक्षा ८ को परीक्षालाई लक्षित गरी अनलाइन आधारित सफ्टवेयरको शुभारम्भ गरेको छ। 

बिहीबार सफ्टवेयर सार्वजनिक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सफ्टवेयरको शुभारम्भ गरे।

उक्त सफ्टवेयरमा हरेक विद्यालयको नाम र व्यवस्थापनको समग्रताका बारेमा लेख्नुको साथै तत्कालको लागि आठ कक्षा पढ्ने विद्यार्थीको व्यक्तिगत विवरण र संरक्षकको नाम समावेश गरिनुपर्ने बताइएको छ। 

शिक्षामा आइटीको प्रयोग बढाउन तथा तथ्यांकहरु एकत्रित गर्नका लागि अनलाइनको प्रयोग आवश्यक रहेकाले कामपाले यस किसिमको कामको थालनी गरेको प्रमुख शाक्यले बताए।

मुलुक संघीय संरचनामा गइसकेपछि विद्यालयको आधारभूत तह स्थानीय तहमा गइसकेको अवस्थामा स्थानीय तहले कक्षा ८ को परीक्षालाई अनलाइन संरकरणमा लैजान यस्तो गरेको उनले जानकारी दिए।

सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै परीक्षालाई मर्यादित, व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न कामपा तयार रहेको कामपाको प्रशासकीय अधिकृत धनीराम शर्माले बताए। अनलाइन प्रयोग गर्नका लागि सम्बन्धित विद्यालयलाई युजर नेम र पासवर्ड उपलब्ध गराउने छ। 

परीक्षाको नतिजा, प्रकाशन मार्कलेजर तथा मार्कसिट यसै प्रणालीबाट तयारी गरी विद्यालयलाई उपलब्ध गराइने छ, महानगरका शिक्षा विभागका प्रमुख प्रह्लाद आर्यालले जानकारी दिए।

हाल कामपामा ९४ सामुदायिक तथा ६५० संस्थागत विद्यालय छन्। जसमा एक लाख ७५ हजार विद्यार्थी अध्ययनरत छन्। तीमध्ये सामुदायिक विद्यालयमा ३८ हजार र संस्थागत विद्यालयमा एक लाख ३७ हजार विद्यार्थी अध्ययनरत छन् भने ११ वटा स्रोत केन्द्र छ।रासस 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने