'एकता हुन नदिन विभिन्न चलखेल हुन्छन् भन्ने हामीलाई थाहा छ' [भिडियो वार्ता]

नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता (माओवादी केन्द्र)

Nepal Live

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ वाम गठबन्धनका सूत्रधार समेत हुन्। युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कार्यमा पनि उनले उल्लेख्य भूमिका खेलेका थिए। तर, वाम गठबन्धनका सूत्रधार श्रेष्ठ आफैं भने प्रतिनिधिसभाको चुनावमा गोरखामा माओवादीकै पूर्व सहकर्मी नेता बाबुराम भट्टराईसँग पराजित भए। 

श्रेष्ठसँग वाम गठबन्धन, चुनावी परिणाम र पार्टी एकता लगायतका विषयमा किशोर दहालले गरेको संवादः

पछिल्लो चुनावमा वाम गठबन्धनप्रति देखिएको उत्साहको अर्थ के हो?

नेपाली जनताले चाहेको कुरा सामाजिक न्यायसहितको समृद्धि हो। नेपाल सुन्दर र सम्भावनायुक्त देश हुँदाहुँदै पनि अत्यन्तै अल्पविकसित देशको रुपमा चिनिनुपरिरहेको छ। ४० लाख श्रमजीवी युवा अदक्ष मजदुरका रुपमा बाहिरिनुपरिरहेको छ। हामीले लामो समयसम्म निरकुंशताको विरुद्धमा संघर्ष गर्नुपर्‍यो, स्वतन्त्रता नभएकाले त्यस्तो अवस्था आयो भन्यौं। हामीले ६ दशकभन्दा बढी समय लोकतन्त्रका लागि संघर्ष गर्नुपर्‍यो। लोकतन्त्र त प्राप्त गर्‍यौं। त्यसपछि हामीले भन्यौं, संविधान बनेको छैन। संक्रमणकाल पनि टुंगिएको छैन। त्यस कारणले समस्या पर्‍यो भन्ने गर्‍यौं। अन्ततः संक्रमणकाल पनि टुंगियो। त्यसपछि जनतामा अर्को चिन्ता पनि देखियो, यो चुनाव प्रणाली मार्फत स्थिर सरकार बन्दैन कि! पाँच वर्ष सरकार नबन्नेगरी राजनीतिक अस्थिरता नै कायम हुन्छ कि! विकास र समृद्धि नआउने र पार्टीहरुले पनि स्थायी सरकार नभएकाले सकेनौं भन्ने भन्ने अवस्था आउँछ कि भन्ने थियो। त्यसलाई पनि हल गर्नुपर्छ भनेर स्थायी सरकार बनाउने र विकास र समृद्धितिर मुलुकलाई लैजान जनताले वाम गठबन्धनलाई मत दिएका हुन्। 

अब जनताले स्थायी सरकार बनाउन भनेर किन वामपन्थीलाई नै मत दिए त भन्ने कुरा पनि आउँछ। त्यसका केही कारण छन्। अरु गठबन्धनले स्थायी सरकार दिनसक्ने अवस्था थिएन। त्यस्तै, नेपालमा यो संविधान जारी गरेर यो प्रकारको लोकतन्त्र स्थापना गर्न सबैभन्दा नेतृत्वदायी र महत्त्वपूर्ण भूमिका खेल्ने कम्युनिस्ट तथा वामपन्थी शक्तिहरु नै हुन्। त्यसैले तिनै शक्तिहरुले नेतृत्व लियो र सरकार चलायो भने यो संविधानलाई वास्तवमा प्रभावकारी ढंगले क्रियान्वयनको प्रक्रियामा लैजान्छन्। स्थायी सरकार दिन्छन् र समृद्धिको दिशातिर देशलाई लैजान्छन् भन्ने कुरा जनतालाई लाग्यो। त्यस्तै, नेपालमा सामाजिक न्यायको पक्षमा सबैभन्दा बढी संघर्ष गर्ने शक्ति पनि वामपन्थीहरु नै हुन्। त्यसैले समृद्धि मात्रै भनेर पनि भएन। गरिबले केही पनि पाएनन् भने के हुन्छ? त्यसैले सामाजिक न्यायसहितको समृद्धि चाहियो भनेर जनताले मत दिए। साथै, कम्युनिस्ट र वामपन्थीहरुको नेतृत्वमा संविधान र लोकतन्त्र आयो, त्यसलाई रक्षा गर्न मत दिए। नेपाललाई स्थायी सरकारसहित समृद्धिको दिशातिर लैजान र स्थायी सरकार वामपन्थीले मात्रै बनाउने आधार तयार भएकाले स्थायी सरकार दिन र अबको समृद्धि सामाजिक न्यायसहितको होस् भन्नका लागि वामपन्थी गठबन्धनलाई मत दिएका हुन्।

त्यसका साथै अर्को एउटा कुरा पनि छ। पछिल्ला दिनहरुमा यदाकदा राजनीतिक हस्तक्षेप बाहिरतिरबाट हुने र नेपालको बारेमा नेपालीले नै फैसला गर्न नसक्ने र नपाउने स्थिति भयो, कतिपय अवस्थामा। त्यसका विरुद्धमा हामीले संघर्ष गर्दै आयौं र त्यसको नेतृत्व पनि वामपन्थीहरुले नै गर्दै आयौं। नेपाललाई अब साँच्चीकै विकसिक र समृद्ध बनाउने हो भने नेपालको बारेमा नेपालीले नै फैसला गर्ने स्थिति बन्नुपर्छ र त्यसका निम्ति वामपन्थीहरुलाई भर गर्न सकिन्छ। यिनीहरु देशभक्त शक्ति हुन् भन्ने कोणबाट पनि नेपाली जनताले मत दिएका हुन्।

यसबीचमा तपाईंहरुले एमाले र माओवादीबीच पार्टी एकता नै गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो। तर, अहिले यो प्रयासमा आशंका देखिन थालेको छ। प्रक्रिया किन अघि बढ्न सकिरहेको छैन?

पार्टी एकता नै गर्ने प्रतिबद्धता हामीले व्यक्त गरिसकेका छौं। पार्टी एकता संयोजन समिति पनि बनाइसकेका छौं। वामपन्थी गठबन्धन बनाएर देशलाई स्थिरतासहित सामाजिक न्यायसहितको समृद्धि दिने भनेका छौं, हामी त्यो दिशातिर जाने पहलकदमीमा सतर्क भयौं। अर्थात् हामी सरकार बनाएर त्यो दिशातिर जान्छौं भने त्यो सरकारलाई प्रभावकारी ढंगले परिणाममुखी रुपमा सञ्चालन गर्न र सिंगो कम्युनिस्ट आन्दोलनलाई आगामी दिनमा गठबन्धनको तहबाट मात्रै नभएर एकीकरण गरेर अगाडि बढाउन हामी पार्टी एकता गर्छौं नै। पार्टी एकतामा आशंका गर्नुपर्ने केही स्थिति छैन। 

तपाईंले आशंका गर्नुपर्दैन भनिरहँदा पनि आशंका नै अहिले बहसमा आइरहेको छ। खासगरी एमाले र माओवादीकै नेताहरुको अभिव्यक्तिले आशंका थपिरहेको त हो नि!

हाम्रा वा एमालेका कुनै नेताले पनि पार्टी एकता हुँदैन वा सम्भावना छैन जस्तो छ भनेको चाहिँ मलाई लाग्दैन। पार्टी एकता गर्ने घोषणा हामीले गरेका छौं, गर्छौं। एकता गर्दा यो–यो चाहिँ हुनुपर्छ भन्ने छलफल आएको जस्तो लाग्छ। तर, त्यो पनि सांगठनिक र प्राविधिक कुरामा अनावश्यक छलफल नगर्न एमाले र माओवादीका सबै साथीलाई म विशेष अपिल गर्न चाहन्छु। पार्टी नेतृत्वमा अहिले छलफल चलिरहेको छ। पार्टी एकता संयोजन समितिको बैठक बस्छ। त्यसपछि यो समितिले आ–आफ्नो पार्टीका एजेन्डा ल्याउँछ, त्यहीँ छलफल गरौंला। अहिले प्राविधिक कुरामा, सांगठनिक मामलामा सर्तबन्दी जस्तो वा पूर्वसर्त जस्तो हुनेगरी कुनै कुरा नराख्न पनि म विशेष अनुरोध गर्न चाहन्छु।

पार्टी एकता गर्दैगर्दा तपाईंहरुको तर्फबाट र एमालेको तर्फबाट पनि पूर्वसर्त त आवश्यक हुन्छ होला नि!

संगठनात्मक मामलामा कुनै पूर्वसर्त नराखीकन हामी अगाडि बढ्छौं। हामी के कुरामा विश्वस्त छौं भने, नेपालको वस्तुगत आवश्यकताले नेपाली कम्युनिस्टको एकीकरण प्रक्रिया अगाडि बढाउन खोजिएको, पार्टी एकता गर्न खोजिएको कारणले छलफल गरेर समझदारीमा नै हल हुन्छ। सम्मानजनक एकीकरण हुन्छ। अहिले पूर्वसर्तको रुपमा कुनै कुरा गर्नु उपयुक्त हुँदैन।

चुनावपछि दुवै पार्टीमा आएको आकारको परिवर्तनले सम्मानजनक पार्टी एकीकरणमा असर पारिरहेको आशंका गरिन्छ नि!

ठूलो–सानोको कुरा नगरौं हेर्नुस्। ०६४ को चुनावमा माओवादी ठूलो हुँदा एमाले त सिद्धियो भन्ने परेको थियो मानिसलाई। अब कम्युनिस्टको विकल्प माओवादी भइगयो। त्यसमा पनि यत्रो क्रान्तिकारी परिवर्तनको नेतृत्व गरेर आएको पार्टी। एमाले तेस्रो शक्ति भएको थियो। माओवादीको यो अवस्था देखेपछि एमालेमा भएका सबै कम्युनिस्टहरु यहीँ आउँछन् भन्ने थियो। त्यो त भएन। त्यसैले शक्तिलाई निर्णायक बनाएर हामी अगाडि बढ्दैनौं। शक्तिको पनि आफ्नै ठाउँमा भूमिका हुन्छ। त्यसलाई पनि हामी ध्यान दिन्छौं। तर, मुख्य कुरा दुई ठूला कम्युनिस्ट पार्टी हुन् नेपालका। उनीहरु एकीकरण गर्दै छन्। उनीहरुको एकीकरणलाई सफल बनाउनुपर्छ र त्यो सिद्धान्तनिष्ठ र सम्मानजनक नै हुन्छ।

पार्टी एकता संयोजन समितिको बैठक पनि बस्न सकेको छैन। कारण के हो?

व्यावहारिक समस्या परेको हो। केपी कमरेड तीन–चार दिनदेखि बिरामी हुनुहुन्छ। हामीले पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनेको हो। पहिले के पर्‍यो भने, त्यो बैठक बसिहाल्नुभन्दा अगाडि दुई जना प्रमुख नेताहरुले समितिको एजेन्डामा गृहकार्य गरेर एजेन्डा तय गरेर आउँदा सहज हुन्छ भन्ने सोच अन्तर्गत दुई नेताको छलफल प्रक्रिया अघि बढाउन खोजियो। दुई राउन्ड उहाँहरुको छलफल पनि भइसक्यो। तर, अझै छलफललाई एजेन्डा निर्माणको तहसम्म पुर्‍याउनेगरी उहाँहरु छलफलमा अघि बढ्न खोज्नुभएको थियो। केपी कमरेडको अस्वस्थताले चार–पाँच दिन ढिला भयो। अब छिटै दुई नेताको छलफल हुन्छ। एजेन्डा तय गर्ने काम हुन्छ। अनि पार्टी एकता संयोजन समितिको बैठक पनि बस्छौं।

शीर्ष नेताको भेटमा तपाईंहरुको तर्फबाट लैजाने एजेन्डाहरु केके हुन्छन्?

हाम्रो एजेन्डा भनेको एकीकृत पार्टीको वैचारिक र राजनीतिक लाइन तयार गर्न सहमति हुनुपर्‍यो। त्यसमा छलफल गरौं। त्यस्तै, सांगठनिक एकीकरणका निम्ति सांगठनिक पक्षमा पनि छलफल हुनुपर्‍यो। यिनै दुइटा कुरामा हामीले छलफल गरौं भनेर शीर्ष नेताहरु छलफल गर्दै हुनुहुन्छ।

दुई पार्टीबीच एकता हुँदैगर्दा सुरुमा उनीहरुका सैद्धान्तिक, वैचारिक, सांगठनिक लगायतका कुरा मिल्दै आएपछि पार्टी एकता हुनुपर्थ्यो होला। तर, तपाईंहरु पहिले एकता गर्ने भनेर ती पक्षहरु मिलाउन थाल्नुभयो। उल्टो बाटो हिँडिएछ भन्ने लाग्दैन?

पार्टी एकीकरणको आदर्श प्रक्रिया अन्तर्गत यो गएको छैन। त्यो त हो। तर पनि वाम गठबन्धन गर्नुपर्ने देशले माग गरिसक्यो। गठबन्धनलाई प्रभावकारी बनाउन पार्टी एकता पनि गर्नुपर्ने भन्ने महसुस भएपछि पार्टी एकताको प्रक्रियामा अगाडि बढेका हौं। तर, केही पनि आधार नभईकन त्यत्तिकै हामी पार्टी एकतामा जानसक्छौं भनेको चाहिँ होइन। दुइटा आधार छन् हाम्रा र त्यो कुरा बुझेर नै पार्टी एकता गर्न सकिन्छ भनेर त्यो दिशातिर जाने निर्णय लिएका हौं। पहिलो आधार, मूल राजनीतिक कार्यनीति हो। त्यसमा हामी एक ठाउँमा छौं, समझदारीमा छौं। शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै अगाडि बढ्ने। यो संविधान क्रियान्वयन गर्ने र विकास गर्ने, शान्तिपूर्ण प्रक्रियाबाट सरकार बनाउने, सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने र समाजवादको आधार खडा गर्ने। यो मूल राजनीतिक कार्यनीति हो। यो दुई–चार वर्षका लागि मात्रै होइन, आठ–दस वर्षका लागि नेपाललाई दिशानिर्देशित गर्ने मूल राजनीतिक कार्यनीति हो। त्यसले हामीलाई अगाडि बढ्ने मूल आधार तयार गर्‍यो। 

रणनीतिक रुपमा पनि तीन वटा कुरामा हामी एक ठाउँमा छौं। एउटा, हामी दुवै पार्टीले मार्क्सवाद छाड्दैनौं। दोस्रो, कुरा कम्युनिस्ट पार्टीले नै क्रान्ति र परिवर्तनको नेतृत्व गर्न सक्छ र अब कम्युनिस्ट पार्टी नै निर्माण गरेर, चलाएर र शक्तिशाली बनाएर जाने हो। तेस्रो, हामी अन्ततः समाजवादमै पुग्ने हो। यसरी तीन वटा रणनीतिक मुद्दामा पनि सहमति भएकाले पार्टी एकताको आधार छ भन्ने आधारमा हामीले पार्टी एकता गर्न सक्छौं भन्ने निष्कर्ष निकाल्यौं र एकता गर्छौं भन्ने घोषणा गर्‍यौं। तर, त्यसलाई अझ गम्भीर रुपमा र सूक्ष्म रुपमा वैचारिक राजनीतिक लाइन तयार गर्ने, संगठनात्मक संरचनाको एकीकरणको आधार तयार गर्ने काम भने बाँकी नै छ। त्यसबारे दुई शीर्ष नेताले एजेन्डा तय गरेर हामी छलफल अगाडि बढाउँछौं।

एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र तपाईंहरुको एक्काइसौं शताब्दीको जनवाद र माओवाद लगायतका वैचारिक लाइनहरुको च्याप्टर क्लोज गरेर नयाँ वैचारिक लाइन खोज्ने हो?

यसबारेमा त छलफल हुन्छ। तर, एमालेले माओवाद मान्दैन भन्ने हामीलाई थाहा छ। त्यसैले माओवाद त तपाईंहरुले मान्नुपर्छ भनियो भने पार्टी एकता हुन्न होला। त्यस्तै, जबज पनि नेपाली क्रान्तिको सिद्धान्तका रुपमा राख्नुभएको छ। नेपाली क्रान्तिको सिद्धान्तको बारेमा जबजलाई त्यो स्तर दिएर त्यसरुपमा हामीले स्वीकार गर्ने कुरा आउँदैन भन्ने कुरा उहाँहरुलाई पनि थाहा छ। त्यसैले दुइटालाई राखिरहेर पार्टी एकता त हुँदैन होला नि! तर, दुइटैका आ–आफ्ना यी पक्षहरुमा पनि केही सकारात्मक कुरा छन् भनेर त्यसलाई आधारित मानेर हामी विकास गर्दै जान्छौं। नयाँ सैद्धान्तिक आधार त हामी तयार गर्छौं। तर, सुरुमै त तयार हुँदैन नि! सुरुमा त साझा कुरालाई लिएर जाने, गम्भीर मतभेदका कुरालाई छलफलमा लैजाने अनि सामूहिक छलफल गर्दै गएर हाम्रो सैद्धान्तिक आधार अझ विकसित गर्ने, त्यो दिशातिर हामी जान्छौं।

सांगठनिक रुपमा पनि दुई पार्टीको अभ्यास फरक छ। तपाईंहरु झन्डै ४ हजार केन्द्रीय समितिको अभ्यास गरिराख्नुभएको छ। एमाले चुस्त छ। यसको व्यवस्थापन गर्नु पनि जटिल छैन?

केही पनि जटिलता छैन। हाम्रो ४ हजार राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरु हुन्। एउटा सन्दर्भमा बनाइएका हुन्। पार्टी एकताको प्रक्रियामा आउनुभन्दा पहिले नै हाम्रो पार्टीले निर्णय गरिसकेको छ, यसरी कुनै पनि पार्टी चल्दैन। एउटा सन्दर्भमा यो बनिहाल्यो, गल्ती भएको छ। यसलाई सानो बनाउने भनेर हाम्रो पार्टीले निर्णय गरिसकेको छ। त्यसकारणले त्यसमा कुनै समस्या हुँदैन।

वाम गठबन्धन फुटाउने बाह्य प्रयास भएको छ भनेर खबरहरु पनि आइरहेका छन्। कस्ता प्रयासहरु भइरहेका छन्?

वाम गठबन्धन बनाउन पनि चुनौतीपूर्ण थियो। यसलाई सफल पार्न पनि त्यत्तिकै चुनौतीपूर्ण छ र दुइटा पार्टीलाई एकताको बिन्दुमा पुग्न नदिन विभिन्न चलखेल र प्रयास हुन्छन् भन्ने हामीलाई थाहा छ। तर, हामी चाहिँ त्यो कुरा हुन्छ भनेर बुझेर नै यो प्रक्रियामा गएकाले त्यसलाई छिचोल्छौं, चिर्छौं र यो पार्टी एकतालाई सफल पार्छौं।

तपाईं पार्टीको महत्त्वपूर्ण पदमा हुनुहुन्छ। पार्टी एकता संयोजन समितिमा पनि हुनुहुन्छ र यो प्रक्रियाको एकजना सूत्रधार पनि हुनुहुन्छ। भनिदिनुस् न, दुई पार्टीले असोजमा गठबन्धन र एकताको मार्ग पहिल्याउनुअघि केही भद्र सहमति पनि भएका छन्?

भद्र सहमति भएको भए दुई जना मुख्य नेताको बीचमा हुने कुरा हो। उहाँहरुको पनि भद्र सहमति भएको हो भने बाहिर भन्ने कुरा भएन। त्यसैले यो भद्र सहमतिको चर्चा नगरौं। मुख्य कुरा त अब हामी ठूलो जिम्मेवारीबोधसहित वामपन्थीहरुको सरकार बनाउने र देशलाई चाहिँ समृद्धिको दिशामा गुणात्मक फड्को मार्ने भन्ने संकल्प गरिसकेका छौं। त्यो जिम्मेवारी हाम्रो छ। र, त्यसलाई नेतृत्व गर्न एकीकृत कम्युनिस्ट पार्टी बनाउने भन्ने पनि हामीले निष्कर्ष निकालेर सार्वजनिक पनि गरिसकेका छौं। त्यसैले कुनै भद्र सहमतिको आधारमा भन्दा पनि देशको आवश्यकताले माग गरेअनुसार अगाडि बढ्छौं।

देशको आवश्यकताले माग गर्ने त छँदैछ। तर, दुई पार्टीका अध्यक्षहरुको व्यवस्थापन पनि सोचनीय कुरा हो नि त!

अध्यक्षहरुको पनि व्यवस्थापन गर्नुपर्छ। त्यसो त सबैको व्यवस्थापन गर्नुपर्छ। तर, त्यसलाई हामीले समाधान गर्न सक्छौं। लिडरसिपको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यो कुरा निश्चित हो। हामी सबैले मिहिनेत गरौं, तर यो वामपन्थी गठबन्धन र पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउन हाम्रा अध्यक्ष कमरेड प्रचण्ड र कमरेड केपी ओलीले अन्ततः निर्णायक भूमिका खेल्नुभएको हो। त्यसमा त कुनै शंका छैन। त्यसकारणले यो प्रक्रियालाई अगाडि बढाउन र देशलाई समृद्धिको दिशातिर लैजान उहाँहरुको भूमिका फेरि पनि महत्त्वपूर्ण रहन्छ भन्ने प्रस्ट नै छ। त्यसैले त्यो कुरा पनि हामी मिलाउँछौं। तर, सिंगो पार्टीको संगठन, सिंगो पार्टीको आम नेता र कार्यकर्ताहरुको पनि त सम्बोधन गर्नु छ। त्यो कुरालाई हामीले गर्छौं।

अध्यक्ष प्रचण्डले भरतपुर नै पुगेर भन्नुपर्ने स्थिति आयो कि आलोपालोको सहमति भएको छ। यो एउटा जटिलता वा भुसको आगो होइन?

अहिले पार्टी एकताको र दुई नेताबीच उच्चस्तरमा छलफल भइरहेको स्थितिमा सार्वजनिक रुपमा के भएको हो भनेर भन्नुको कुनै औचित्य म देख्दिनँ। आवश्यकता पनि देख्दिनँ। यो बारेमा हामी छलफल गरेर मजाले सहमति गर्छौं। सहज समाधान हुन्छ।

समाधानको उपाय चाहिँ के हुन्छ?

समाधान चाहिँ हाम्रो नेतृत्वहरुको भूमिकासहित सिंगो दुई पार्टी संगठनको सम्मानजनक एकीकरणद्वारा हल हुन्छ।

त्यसमा ओली प्रधानमन्त्री हुने र प्रचण्ड पार्टी अध्यक्ष हुने कुरा पर्छ कि पर्दैन?

त्यो हामी सल्लाह गरेर निर्णय गर्छौं। त्यो भयो भने त राम्रै कुरा भयो नि! तर, यो अहिले सार्वजनिक बहस गरेर टुंगिने कुरा होइन। त्यसरी बहस गर्ने विषय पनि होइन। दुइटा पार्टीको नेतृत्व टिमले छलफल गरेर निष्कर्ष निकाल्ने कुरा हो। निष्कर्ष सकारात्मक हुन्छ भन्ने हामीलाई लाग्छ। ताकि, दुइटा पार्टी उत्साहित ढंगले एकीकरण गरेर काम गर्ने वातावरण बनोस् भन्ने कुरा हो। तर, बाहिर चर्चा गरे अनुसार नराम्रो हुने कुरा हुँदैन। झनै राम्रो हुन्छ।

तपाईंहरुलाई राम्रो हुन्छ। तर, एमालेले स्वीकार गर्छ त? उसले स्वीकार गरेन भने सबै कुरा छाडेर तपाईंहरु एकता मात्रै भनेर जानुहुन्छ कि जानुहुन्न?

एमालेले स्वीकार नगर्ने, हामीले सर्त राख्ने कुरा होइन। त्यस्तै, एमालेले सर्त राख्ने र हामीले स्वीकार नगर्ने भन्ने कुरा पनि होइन। त्यसरी एकतालाई सोच्न मिल्दैन। हामी दुइटा पार्टी एकताप्रति अत्यन्त गम्भीर छौं। हामी जिम्मेवारीबोधका साथ एकतामा जाँदै छौं। त्यसैले जिम्मेवारीबोधका साथ समाधान गर्छौं भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं। एकले अर्कालाई आशंका गर्नुपर्ने कुनै कारण बाँकी छैन।

यो आदर्श उद्देश्यबाट प्रेरित छ। किनभने हामी सरकार बनाउने कुरामा मात्रै केन्द्रित छैनौं। सरकारले यो देश फेर्ने कुरा चाहिँ पहिलो कुरा हो। दोस्रो कुरा, कम्युनिस्ट आन्दोलनलाई पनि नयाँ उचाइमा पुर्याकउने हाम्रो उद्देश्य छ। २००६ सालमा कम्युनिस्ट पार्टी बनेदेखि अगाडि बढ्दै गएर सामन्तवादको अन्त्य गर्ने कुरामा, लोकतान्त्रिक क्रान्तिलाई पछिल्लो अवस्थामा निर्णायक भूमिका खेल्ने ठाउँमा आफूलाई पुर्‍यायो। त्यो सफल भयो। अब क्रान्तिको कार्यदिशा पनि नयाँ छ। अझ त्यसलाई पनि राम्ररी विकसित गर्नुपर्नेछ। त्यसलाई विकसित गर्ने, कार्यान्वयन गर्ने र नेतृत्व गर्नेगरी पार्टी पुनर्गठनको अभियान इतिहासको अर्को चरणमा अघि बढाउनुपर्छ भनेर हामीले पार्टी एकीकरणको अभियान अघि बढाएका हौं। त्यसकारण हामी अत्यन्तै माथिबाट सोचिरहेका छौं। प्राविधिक कुराले पार्टी एकतामा कुनै समस्या आउँदैन। विचारको कुरामा पनि अहिले हामीसँग जो सहमति छ, त्यसको आधारमा अगाडि बढ्छौं। जे मतभेद छ, त्यसलाई ठूलो ठान्दैनौं। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त हामीले सामूहिक रुपमा छलफल गरेर, अध्ययन गरेर विचारको विकास गर्नुपर्ने कुरालाई हामी ठान्छौं। 

एकताको आदर्श उद्देश्यमा प्रतिबद्ध भएका कारण सबै चिज छाडेर जान पनि तपाईंहरु तयार हुनुहुन्छ?

छाडेर भन्ने प्रश्नै आउँदैन। छाड्नुपर्छ भनेर कसैले भनेको छ र? एमालेले भनेको कुरा हामीले नमान्ने र उनीहरुले छाड्नुपर्ने वा हामीले भनेका कुरा एमालेले नमानेर छाड्नुपर्ने भनेर कसैले भनेको छ र? त्यसैले छाड्नपर्‍यो भने पनि भन्ने कुरै आउँदैन। हामी छलफल गरिरहेका छौं। सम्मानजनक ढंगले हल निकाल्छौं, निकाल्छौं। त्यसमा कुनै शंकै छैन।

प्रधानमन्त्री, एकीकृत पार्टीको अध्यक्ष र संसदीय दलको नेता एकै जना हुनुपर्छ भनेर एमालेका केही नेताहरु भनिरहनुभएको छ नि!

एमालेले भनेको छैन। कोही–कोही साथीहरुले पहिला यसो भन्न खोज्नुभएको थियो होला भन्ने मैले सुनेँ। तर, पछाडि उहाँहरुले पनि सच्याउनुभयो रे भन्ने पनि मैले सुनेँ। त्यसकारण तिललाई पहाड बनाउनुहुन्न। एमालेले त्यस्तो प्रस्ताव राखेको छैन।

त्यसो भए आलोपालो प्रधानमन्त्री, अध्यक्ष लगायतका विषयमा बाहिर आइरहेका कुरा हल्ला मात्रै हुन्?

अहिले त्यस्तो कुरामा जानुहुन्न। जबकि, हामी आमनेसामने छलफल गरिरहेका छौं भने बाहिरको चर्चा र हल्लामा किन जाने?

पाँच वर्ष स्थिर सरकार चलाउने कुरा नि?

नेपाली जनतालाई दृढतापूर्वक र स्पष्टताका साथ भन्छौं– हामी, पाँच वर्ष स्थिर सरकार बनाउँछौं। हामीले घोषणापत्रमा जे प्रतिबद्धता व्यक्त गरेका छौं, त्यो कुरा लागू गरेर छाड्छौं। नेपाललाई नयाँ नेपाल बनाउने सहिदहरुको सपना थियो, नेपाली जनताको आशा र आशंका थियो, त्यो हामी पूरा गर्छौं।

त्यो पाँचवर्षे स्थिर सरकार एउटै व्यक्तिको नेतृत्वमा हुन्छ कि फरक–फरक व्यक्तिको नेतृत्वमा?

त्यो त हामी सल्लाह गरेर मिलाइहाल्छौं नि! कुन ठूलो कुरा भयो र?

सल्लाह गरेर आलोपालो गर्नुभयो भने त स्थिर सरकार भएन नि!

स्थिर सरकार नै हुन्छ। आलोपालोको कुरातिर अहिले नजाऔं। तर, जे भए पनि स्थिर सरकार नै हुन्छ। कार्यक्रम एउटै हुन्छ। क्याबिनेट उही प्रकृतिको हुन्छ। वामपन्थी सरकार नै हुन्छ।

बीचमा एमाले र तपाईंहरुबीच असमझदारी र आशंका बढेर एमालेले फोरमसँग सहकार्य गर्न आँटेको भन्ने पनि चर्चामा छ नि!

त्यो कुरा सत्य भन्ने लाग्दैन। मतलब, एमाले अध्यक्ष कमरेड केपी ओलीले फोरमको अध्यक्षसँग कुराकानी गरेर असाध्यै राम्रो गर्नुभयो भन्ने हाम्रो कुरा छ। किनभने वामपन्थी गठबन्धनको यो मोर्चामा संघीय समाजवादी फोरमलाई पनि ल्याउने प्रयत्न गर्नु, कुराकानी गर्नु अत्यन्तै सही जिम्मेवारी हो। उहाँलाई भेट्दैमा माओवादी केन्द्र बाहेकको सरकार बनाउन खोजियो भनेर अर्थ लगाउन त मिल्दैन नि! उहाँलाई भेटेर सरकारमा आउनुपर्‍यो, यो मोर्चामा आउनुपर्‍यो भनेर अपिल गर्नु अत्यन्तै सही छ। अहिले सरकारलाई अझ बढी सुदृढ बनाउने भन्ने कोणबाट मात्रै होइन। हामी करिब दुई तिहाइको बहुमत नजिक छँदैछौं नि! तर, रणनीतिक ढंगले संघीय समाजवादी फोरमलाई यो मोर्चामा सामेल गर्नु, सरकारमा सामेल गर्नु, नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउनु र नेपाललाई अत्यन्तै सुदृढ बनाएर अघि बढ्नको निम्ति रणनीतिक महत्त्वको कदम र प्रयत्न हो। त्यसलाई हामी स्वागत गर्छौं। आशंका गर्नुपर्ने कुरा छैन।

फोरमलाई गठबन्धनसम्म ल्याउने प्रयास गर्नुहुन्छ कि एकतासम्मै तान्नुहुन्छ?

आउनुभयो भने एकतामै ल्याउँछौं नि! उपेन्द्रजी कम्युनिस्ट नै हुनुहुन्थ्यो। राजेन्द्रजी, अशोकजी कम्युनिस्ट नै हुनुुहुन्थ्यो। धेरै राम्रो त उहाँहरु एकीकरण प्रक्रियामा आइदिए हुन्थ्यो।

तर, नवलपरासीबाट अध्यक्ष प्रचण्डले फोरमलाई ल्याएर सरकार बनाउने प्रयास भयो समेत भन्नुभयो!

उहाँले भनेको के भने, यस्तो प्रयत्न पनि गर्न खोज्दै छन् कतिपयले। त्यसरी एमालेको नेतृत्वलाई भनिएको होइन। पार्टी एकताको पक्षमा सबै सय प्रतिसत छन् भनेर पनि बुझ्नुभएन नि! कोहीकोही त होलान् नि त्यस्तो, हाम्रो लागि त्यो ठाउँ पनि छ नि बार्गेनिङका लागि वा अरुअरु कसैले उकास्दिन पनि सक्छ। तिमीहरु माओवादी केन्द्रसँगै जानुपर्ने भन्ने के छ र, एमाले र माओवादीबीच दूरी बढाइदिने भन्ने प्रयास पनि भइरहेको हुनसक्छ। यो सन्दर्भमा भनिएको हो। तर, एमाले अध्यक्ष कमरेड ओलीले संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गर्नु अत्यन्तै सही कदम हो।

संघीय समाजवादीले एक किसिमका मागहरु राखेर आन्दोलन गर्दै आएको छ। उसलाई सरकारमा ल्याउने प्रयत्न हुँदै गर्दा, वार्ताहरु गरिरहँदा त्यसबारेमा पनि केही छलफल भइरहेको छ कि? सरकार बनाउने प्रयत्नमा उनीहरुको मागमाथि केही सम्बोधन पनि हुन्छ?

संविधान संशोधनको एक चरणमा छलफल भयो। प्रयत्न भयो। त्यसले एउटा कोर्स पार्यो । तर, यो संविधान एउटा गतिशील दस्तावेज हो। त्यसकारण भोलि पनि संविधानमा आवश्यकता अनुसार संशोधन हुनसक्छ। अब के गर्नुपर्छ भनेर ठोसरुपमा हामी छलफल गर्छौं। नेपालको सबै वर्ग, जाति, क्षेत्र र लिंगको हक–अधिकारको रक्षा गर्ने प्रश्नमा यो संविधान आएको हो। यो परिवर्तन ल्याइएको हो। त्यसमा अझै पनि अपूर्णता छन्, अपर्याप्तता छन् भने त्यसलाई सच्याउँदै जाने कुरामा हामी सहमत छौं। त्यसैले हामी यो विषयमा छलफल गर्न खुला रहन्छौं।

तपाईंहरु खुला हुनुहुन्छ। एक किसिमले विगतमा पनि प्रयत्न नै गर्नुभएको थियो। तर, अर्को दल एमाले मधेसकेन्द्रित दलको मागमा ठीक विपरीत धारणा राख्दै आएको छ। अब तपाईंहरु मिल्दै गर्दा मधेसको मुद्दामा एउटै धारणा कस्तो बन्ला? कतै मधेसको माग चेपिने पो हो कि!

एकीकृत पार्टी भएपछि हामी छलफल गर्छौं नि! चेपिने भन्ने हुँदैन। हामी जिम्मेवारी ढंगले नै जान्छौं। झन् जिम्मेवारी बढेको पनि छ। सबैलाई सहमतिमा ल्याउनु र सिंगो राष्ट्रलाई एकताबद्ध गराउने र नेतृत्व गर्ने जिम्मेवारी त हाम्रो भयो नि त! त्यसकारण हामी अझ बढी लचक, अझ बढी जिम्मेवार भएर जाँदा समस्याहरु समाधान गर्न सफल हुन्छौं।

वाम गठबन्धनको सरकार बनिसकेपछि अबको पाँच/सात वर्षमा जनताले के पाउँछन्?

अहिलेसम्म हामीले जे परिवर्तन गर्‍यौं, त्यो मुख्यतः राजनीतिक प्रकृतिको भयो। धेरै राजनीतिक अधिकार जनतालाई दियौं। उत्पीडित, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक समुदायलाई पनि दियौं। अब आफ्नै पोल्टामा आफ्नै जीवन परिवर्तन गर्नेगरी विकास दिन्छौं हामी। जनताले कम्युनिस्टहरुले यत्रो ठूलो लडाइँ किन लड्या, यत्रो संघर्ष किन गर्‍या, यत्रो परिवर्तन हामीले किन गर्या  भनेको त यसको लागि पो रहेछ भनेर बुझ्न सक्नेगरी नेपाल फेर्छौं हामी। मैले भनेँ नि, यसको उद्देश्य चाहिँ छोटो समयमा ४० लाख श्रमजीवी युवा, जो खाडी मुलुकमा अदक्ष मजदुरमा पसिना चुहाइरहेका छन्, तिनलाई आमाबाबुको साथमा, बालबच्चा र परिवारको साथमा नेपालभित्रै काम गर्ने अवसर दिनेगरी नयाँ नेपाल बनाउँछौं।

तर वामपन्थीहरुले नै शिक्षा, स्वास्थ्य जस्ता विषयमा समेत निजीकरणलाई फस्टाउन मौका दिनेगरी वकालत गरिरहेको पाइन्छ। कतिपय बेलामा पार्टी नै यसका लागि वकालत गर्ने र प्रतिष्ठाको विषय बनाउने गरेको देखिन्छ। यस्तो यथार्थबीच जनमुखी काम होला र तपाईंले भनेजस्तो अवस्था आउला भनेर कसरी पत्याउने?

अहिलेको हाम्रो घोषणापत्रमा हामीले स्पष्टरुपमा दलाल पुँजीवाद र नवउदारवादको विरोध गरेर आएका छौं। हिजो ककसले केके गरेका थिए, छाड्नुस्। प्रस्ट रुपमा दलाल पुँजीवादको विरुद्ध संघर्ष गर्नुपर्छ, राष्ट्रिय पुँजीको विकासका निम्ति, उत्पादक शक्तिको विकासको निम्ति र उत्पादनको वृद्धिको निम्ति। त्यसको अतिरिक्त अर्थतन्त्रको क्षेत्रमा नवउदारवादको अन्ध पक्षपोषण र चरम भ्रष्टाचार पनि छ भन्ने हाम्रो ठहर छ। त्यो कुरा हामीले घोषणापत्रमा राखेका छौं। यसले के दिशानिर्देश गर्छ भने, जनमुखी विकास र श्रमजीवीमुखी विकासतिर लैजान्छ। दोस्रो कुरा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुभता र आवासलाई नागरिकको मौलिक अधिकारको रुपमा संविधानमै राखिएको छ। यसले पनि हामीलाई दिशानिर्देश गर्छ, अब कतातिर जाने भन्ने कुरा। म फेरि के स्पष्ट पार्न चाहन्छु भने, हामी समाजवादको चरणमा छैनौं अब। अहिले नै समाजवादी कार्यक्रम लागू हुन्छ भनेर त्यसको आधारमा हामी वामपन्थी र कम्युनिस्टहरुलाई आलोचना गर्न मिल्दैन। अहिले संविधानले दिशानिर्देश गरेअनुसार समाजवाद उन्मुख कार्यक्रम मात्रै हुन्छ। त्यसैले त्यहाँ चाहिँ मिश्रित अर्थतन्त्र नै हुन्छ। यो कुरा हामी अहिले बढाइँचढाइँ गर्न चाहँदैनौं। अहिले नै समाजवादको अभ्यास हुँदैन। त्यसकारण हाम्रो संविधानले निर्देशित गरेअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुभता र आवासलाई नागरिकको मौलिक अधिकारको रुपमा सुनिश्चित गर्नेगरी अगाडि बढ्छौं। दलाल पुँजीवाद र नवपुँजीवादको अन्ध पक्षपोषण गर्ने अहिलेसम्मको नीतिलाई हामी तोड्छौं। हामी सामाजिक न्यायसहितको समृद्धि दिन्छौं। समाजवाद उन्मुख समाज निर्माण गर्छौं।

राजनीतिज्ञप्रति रहेको सबैभन्दा ठूलो अविश्वास नै यही हो कि तपाईंहरु समाजवादको कुरा गर्नुहुन्छ, वामपन्थी हौं भन्नुहुन्छ, तर खासमा वामपन्थी नै हुनुभएन!

तपाईंको यो कुरामा म एक हदसम्म सहमत छु। त्यसैकारणले नै कम्युनिस्ट आन्दोलनको वैचारिक स्खलनको र चारित्रिक भ्रष्टीकरण धेरै भयो। त्यसैले कम्युनिस्ट आन्दोलनकै रुपान्तरण र पुनर्गठनको आवश्यकता छ भनेर कराइराखेका छौं। तर, कम्युनिस्ट आन्दोलन दलाल पुँजीवादको पक्षमा लाग्ने, नवउदारवादको पक्षमा लाग्ने, पूरै निजीकरणको पक्षमा लाग्ने ठाउँमा पुगिसकेको छैन। तर, भ्रष्टीकरण जबर्जस्त छ। त्यो पनि दुईतिर, एउटा वैचारिक राजनीतिक क्षेत्रमा पूरै व्यवहारवादको दिशातिर जान खोजेको हो कि जस्तो देखिने, सिद्धान्तको महत्त्वलाई न्यून गर्ने। अर्को, समग्रमा चारित्रिक भ्रष्टीकरण, आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्ने। यो खालको प्रवृत्ति पनि बढेर गएको छ। तर, यो बढेर जाँदाजाँदै पनि हामी सम्हालिन नसक्ने ठाउँमा छैनौं। त्यसैले कम्युनिस्ट आन्दोलनमा रुपान्तर र पुनर्गठनको ठूलो आन्दोलनको आवश्यकता छ। हामी यो वामपन्थी सरकार बनाएर जुन जिम्मेवारी पूरा गर्ने दिशातिर जाँदैछौं, यसका लागि हामीले आफूलाई रुपान्तरण र पुनर्गठन गरेर जानुपर्छ।

त्यसैले मैले के भनेको छु भने, तीन वटा कुरा अहिले हामीले गर्नुपर्छ। अब व्यवहारबाटै हामीले राष्ट्रिय स्वाधीनताको रक्षा यसरी गर्छौं भनेर साबित गर्न सक्नुपर्छ। नेपालको बारेमा नेपाली जनताले नै फैसला गर्छन्। नेपालको राजनीतिक पार्टी र सरकारले नै फैसला गर्छ भनेर व्यवहारमै हामीले साबित गर्नुपर्छ। तर, त्यसो गर्दा नेपालको भूराजनीतिक परिवेशलाई हाम्रो राष्ट्रको स्वतन्त्रता र विकासको पक्षमा कसरी सदुपयोग गर्न सकिन्छ भनेर कुशल कूटनीतिक श्रेष्ठता पनि प्रदर्शन गर्न सक्नुपर्छ। दोस्रो, हामीले भ्रष्टाचार, अनियमितता र कुशासनको विरुद्ध ठूलो अभियान चलाउनुपर्छ। यो नगर्ने हो भने हामीले भनेको लक्ष्य पूरा हुँदैहुँदैन। तेस्रो, हाम्रो समृद्धिको कार्ययोजना चाहिँ हाम्रो नेपालको आफ्नै मौलिकताको विकास हुनुपर्‍यो। आम जनताले विकासको प्रतिफल पाउनेगरी विकासको नयाँ मोडल तयार गर्नुपर्छ। ठोस–ठोस रुपमा लक्ष्य निर्धारण गर्नुपर्छ, कुन क्षेत्रमा के गर्ने भनेर। यसरी वस्तुवादी र नयाँ नेपाल बनाउन उन्मुख विकासको कार्ययोजना बनाउनुपर्छ र त्यसलाई क्रियान्वयन गर्नुपर्छ। यति तीन वटा काम गरेर हामीने नेपाल फेर्छौं र नेपाल फेर्न कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्छौं। एकीकृत मात्रै गर्दैनौं। रुपान्तरण र पुनर्गठनको आन्दोलन कम्युनिस्ट पार्टीभित्र पनि चलाउँछौं।

त्यसोभए, समाजवादको मन्त्र जपेर नाफावादलाई केन्द्रमा राखेर गरिने गतिविधि पनि अन्त्य हुन्छ?

अहिले नै अन्त्य हुन्छ भनेर मैले भनेँ भने अलि बढी गफ हुन्छ। तर, अन्त्यको दिशातिर हामीले प्रभावकारी आन्दोलन चलाउनुपर्छ, कम्युनिस्ट आन्दोलन र पार्टीभित्र।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने