ad

नयाँ सहकारी ऐन ल्याउने तयारी

Nepal Live

काठमाडौं- सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थालाई सक्षम र उत्तरदायी बनाउन सहकारी सम्बन्धी नयाँ ऐन ल्याउने तयारी गरेको छ। 

केही सहकारीका गल्तीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको र त्यसको शुद्धीकरण गर्ने उद्देश्यसहित नयाँ ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार, एक करोड रुपैयाँभन्दा बढी कारोबार तथा ऋण परिचालन गर्ने पाँच हजारभन्दा बढी सहकारी छन्। तर कुल सञ्चालित ३४ हजार सहकारीमध्ये १३० सहकारीले मात्रै आफ्ना सदस्यको रकम हिनामिना गरेका छन्। 

मुलुकको समृद्धिका लागि महत्वपूर्ण औजार सहकारी भएकाले त्यसको दिगोपना कायम गर्न र आफ्ना सदस्यप्रति उनीहरुलाई जिम्मेवार बनाउन नयाँ ऐन आवश्यक परेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए। 

'स्वपरिचालन, स्वउत्तरदायी र स्वलक्ष्यित सहकारीको आधारभूत शर्त भए पनि केहीले गलत काम गरेका छन्', उनले भने, 'अब बन्ने ऐनले गलत कार्यलाई नियन्त्रण गर्नेछ।'

नयाँ ऐनमा ब्याजको स्प्रेड दर, कार्यक्षेत्रको निर्धारण, सदस्यको निर्धारण, सहुलियत, विशिष्टीकरण, जोखिम न्यूनीकरणका लागि जगेडा तथा परिपूरक कोष जस्ता नयाँ व्यवस्था गरिएको सचिव मैनालीले जानकारी दिए। 

सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार देशभर ३४ हजार सहकारीका ६१ लाख सदस्य छन्। सहकारीको वित्तीय क्षेत्रमा १९ र कूल गार्हस्थ उत्पादनमा चार प्रतिशतको योगदान छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार