ad

लेखनाथ साहित्य पुरस्कार संस्कृतिविद् डा गुरुङलाई

SHARES
Nepal Live

पोखरा- यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिविद् एवं साहित्यकार डा जगमान गुरुङ सम्मानित भएका छन्। 

कविशिरोमणि लेखनाथ पौड्यालको १३४औं जन्मजयन्तीको त्रिदिवसीय कार्यक्रमअन्तर्गत शनिबार कविशिरोमणिको जन्मस्थल लेखनाथको अर्घौं अर्चलेमा भएको समारोहमा संस्कृतिविद् गुरुङलाई ५० हजार राशिको पुरस्कार अर्पण गरियो।

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारबाट स्थापित पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ। नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत डा गुरुङलाई सो पुरस्कारबाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले बताए। 

कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका ६ वटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन्। उक्त पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद्, प्रा डा वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डा मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र प्रा. बालकृष्ण पोखरेल सम्मानित भइसकेका छन्। 

सो समारोहमा विभिन्न शैक्षिक पुरस्कार र छात्रवृत्ति पनि वितरण गरिएको थियो।

लेखनाथ साहित्य पुरस्कार, कुन्तीदेवी छात्रवृत्ति तथा शिक्षा पुरस्कारका लागि कविशिरोमणि पौडेलको परिवारजनले १२ लाख एक हजार र पदमराज ढकालले एक लाख ७७७ गरी १३ लाख एक हजार ७७७ रुपैयाँको अक्षयकोष खडा गरेका छन्। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार