बाजुरामा २५ हजार कर बुझाउन ६० हजार खर्चिनुपर्छ

नेपाल लाइभ

Nepal Live

बाजुरा- कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन्। आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन्। बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन्। 

कर बुझाउन चाहनेले समेत कर तिर्न सकेका छैनन्। 'राजस्व बुझाउने कार्यालय छैन,' स्थानीय व्यापारी बलबहादुर रोकायाले भन्नुभयो, 'वर्षभरिको कर २५ हजारदेखि ३५ हजार हुन्छ। कर तिर्न धनगढी जानुपर्छ।' बाजुराका व्यापारीले रु २५ हजार कर तिर्न रु ५० हजार देखि ६० हजार खर्च गरी धनगढी जानुपर्ने बाध्यता भएको उनले सुनाए।

जिल्लामा अनुमति प्राप्त मदिरा व्यवसायीबाहेक अन्य कुनै ठाउँबाट कर उठ्ने गरेको छैन। जिल्लामा भ्याट बिल र दर्ता भए नभएको अनुगमन कार्य प्रभावकारी नभएकाले पनि कर असुली हुन नसकेको हो। जिल्लाका अधिकांश निजी स्कुलले कर नतिरेको पाइएको छ। जिल्लामा कर कार्यालयको व्यवस्था गरी कर असुली गर्न व्यवसायीको सुझाव रहेको छ। व्यवसायी मात्र हैन गैरसरकारी संस्थासमेत कर तिर्न कहाँ जाने समस्यामा छन्। 

आर्थिक वर्षको अन्त्यमा कर बुझाइ सक्नुपर्ने प्रावधान छ। बाजुराका संघसंस्थाले असोज र कात्तिकतिर कर तिर्ने गरेका छन्। वर्षमा रु ५० हजारको कारोबार गर्दै आएको असल शासन क्लब संस्थाका अध्यक्ष प्रदीपराज जोशीले धनगढी पुगेर आन्तरिक राजश्व कार्यालयमा संस्था नवीकरण गर्न रु २० हजार खर्च हुने बताए। 'जिल्लामै कर कार्यालय भएको भए रु तीन हजारदेखि चार हजारमा नवीकरण गर्न सकिन्थ्यो,' उनले भने।

नेपाल उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया व्यसायीले कर तिर्न चाहे पनि सरकारी नीति कार्यान्वयन नहुँदा कर छल्न बाध्य पारिएको बताउँछन्। रोकायाका अनुसार पटक–पटक अण्डरबिलिङदेखि राजस्व कर्मचारीको व्यवहारले पनि समस्या पर्ने गरेको छ। 

जिल्लामा एक हजार ६४२ व्यवसाय दर्ता छन् जबकि वर्षमा ७ सय देखि ८ सय व्यवसायीले मात्र कर तिर्ने गरेको बताइएको छ।रासस 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने